एरियल भ्यूबाट काठमाडौँलाइ नियाल्ने हो भने, प्रकृतिप्रेमीका लागि जताततै आँसु आउने दृष्य देखापर्छ । यद्यपि यही दृष्यलाइ तथाकथित विकास भनेर व्याख्या गर्ने ठूलै जमात काठमाडौँमा बस्छ । प्लेनबाट वा ड्रोनबाट हेर्ने हो भने उपत्यकाका डाँडाहरू पुरै तासिएका छन्, भासिएका छन्, नासिएका छन् । डाँडाहरू तासेर, खोलाहरू मासेर, रूखहरू काटेर जताततै प्लटिङ भएको दृष्यलाइ नेपालको सरकार तथा राजनीतिक दलहरूले विकास भन्न थालेको वर्षौँ भैसक्यो । फलतः जग्गा, जग्गाको भाउ र मतदाताका रूपमा मात्र जमिनको नाता रूपान्तरित भयो । माटोमा माया, प्रकृतिको माया, स्थानीयपनको सुगन्ध, सांस्कृतिक सौन्दर्यताहरू यही तासिनु, मासिनु र नासिनुको चपेटमा सर्वनाश भैसकेको छ ।
काठमाडौं उपत्यकाको डाँडा क्षेत्र नै काँठ क्षेत्र हो । यो काँठ क्षेत्र अहिले भत्किएको, नासिएको तथा मासिएको मात्र देख्न सकिन्छ। बढ्दो शहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई सबैभन्दा धेरै परेको छ । राष्ट्रिय निकुन्जदेखि दर्जनौँ मध्यवर्ती जङ्गल र सयौँ सामुदायिक वनसँग जोडिएको काँठ क्षेत्रको सामाजिक पहिचानदेखि सांस्कृतिक महत्व यतिखेर डाँडा तास्ने र मास्ने तथा यसलाइ संरक्षण गर्नेहरूले बन्धकी राखिसकेका छन् । जग्गाको बेचेर पैसा कमाउने र सहर पसेर घर बनाउने नाममा उपत्यकाको सौन्दर्य कुरूप बनिसकेको छ ।
उपत्यकाका डाँडामा प्लटिङको व्यवसाय चलेसँगै डाँडासँग जोडिएका वनहरू असुरक्षित भएका छन् । वनभित्रका मुल तथा जरूवा असुरक्षित भएका छन् । डाँडाका बस्तीमा रहेका तामाङ संस्कृतिहरू असुरक्षित भएका छन् । वनसँगै रहेको नदी किनारका पुराना नेवारी बस्तीको सामाजिक सुगन्ध तोडमोड भएको छ । डाँडाबीचको पहाडे बाहुन,क्षेत्री तथा दमै(कामी(सार्कीबस्तीभित्रको सुमधुर रहनसहनयूक्त काँठे जीवन लोप भएको छ । अब यहाँ सुरक्षित र संरक्षित भएका छन् त बस् ४ आना, ५ आना वा एक रोपनी जमिनको रकमी नाता । अर्बौँ रूपैँयाका जग्गाको बिजनेस काँठ क्षेत्रमा चलिरहेको छ । यो बिजनेसको लिंक स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म पुगेको छ । सरकारले नीतिगतरूपमा जग्गाको खण्डिकरण रोकेको छ तर सबै जमिन दिनदिनै खण्डिकृत भैरहेको छ । यसरी जग्गा प्लटिङको कमिसनको हिस्सा वडाध्यक्षदेखि मन्त्रीसम्मलाइ पुगेको छ ।
काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र हो। यहीँ पानीले अहिले पनि काठमाडौँ बासीको तिर्खा मेट्ने गरेको छ तर यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरु सुक्न थालेका छन्। बस्तीको विकाससँगै जंगलमा अनधिकृतरूपमा आफूआफैले पानीको पाइप लगाउँदा पानीको श्रोत बिग्रिरहेको छ । अस्तव्यस्त बस्तीसँगै जंगलका चराचुरूङ्गी, वन्यजन्तुदेखि रैथाने वनस्पतिसम्म लोपन्मुख भएका छन् ।