- रोशन श्रेष्ठ
थिमिको उकालो – यो उकालो पहिले जति ठाडो थियो, अहिले छैन । तैपनि उपत्यकाभित्रको अति ठाडो उकालोमध्ये यो उकालो अझै प्रख्यात छ । प्राविधिक भाषामा भनिने ग्रेडियन्ट हेर्दा यो उकालोको पुरातन स्वरुप जति माथि चढ्यो उति बढी ग्रेडियन्ट हुँदै जाने किसिमको थियो । यसको टुप्पानिर करिब ६० डिग्रीको ग्रेडियन्ट थियो । यो उकालोले करिब ८० मिटर दुरी पार नगर्दै झन्डै १८०-२०० फिट उकालो सकिएको हुन्छ । त्यसले गर्दा जस्तै मै हुँ भन्ने मानिस पनि स्वाभाविक गतिले उकालो चढी टुप्पामा पुग्दा स्वाँ-स्वाँ गरिरहेकै हुन्छन् ।
यो उकालो पहिला ढुंगाले छापेको सिंढीहरूको लहर थियो, भर्याङ्ग चढेजस्तै खुट्किलो खुट्किलो गरी चढ्नु पर्ने, तर बीचमा आराम गर्नको निमित्त ‘स्टेयर फ्लाइट’ जस्तो समथर फराकिलो तह भने थिएन । थिमिको बस्तिबाट दैनिक भित्रबाहिर गर्नेहरुको निमित्त यो उकालो यात्रा उति कष्टकर हुँदैन, तर अरु बाहिरियाको निमित्त भने यो उकालो काट्नु भनेको एउटा माइलस्टोन पार गर्नु सरह नै थियो । काम नपरी हम्मेसी बाहिरका मानिस यो उकालो चढ्ने कुरै भएन। त्यसैले थिमिको उकालो चढ्नु आफैँ पनि कुनै प्रतिज्ञा वा बाध्यताको प्रतिक थियो बाहिरिया मानिसको निमित्त । अलटेराइन आर्मर्ड भेहिकलबाहेक अरु कुनै गाडी यो उकालो चढ्न सक्दैन थियो। तर अहिले यस उकालोमा धेरै माटो थपेर ग्राडियन्ट घटाइ मोटर, मोटरसाइकल चढ्न सकिने बनाइ सकिएको छ।
‘मरेको बिरालो काखी च्यापी थिमिको उकालो चढ्ने’ उखानमा रहेको पछिल्लो भाग, ‘थिमिको उकालो चढ्ने’ चुनौती माथि बताइयो । अब अघिल्लो भागको बारे हेरौं। मरेको बिरालोलाई घिसारेर लगी वा तुङ्ग्रुङ्ग झून्डाइ लगेर बारीतिर वा बस्ती बाहिर कतै एकान्तमा खाल्डो खनेर गाड्ने चलन थियो । त्यसलाई बोक्न समेत नमान्ने जमानामा, यदि कसैले मरेको बिरालो काखी च्याप्छ भने उसले त्यो बिरालोलाई कति माया गर्दो रहेछ त भन्ने थाहा हुन्छ नै। भलै अरूको निमित्त निरर्थक र महत्वहीन मृत जनावर भए पनि त्यसलाई काखी च्यापेर बोक्ने मानिसको निमित्त त्यो जनावर अनमोल छ । अर्थात्, मरेको बिरालो काखी च्याप्नु उसको बिरालो प्रतिको असीम प्रेम र समर्पणको संकेत हो।
यसरी, उखानको शब्दहरुले इंगित गरेको वास्तविकता बुझेमा, यो उखानको अर्थ दुनियाँले जतिसुकै गिल्ला गरे गरोस, दुनियाँको निमित्त निरर्थक मृत जनावर झै भए पनि होस, तर त्यो ‘मरेको बिरालो’ काखीमा नै च्यापेर, त्यसको भार आफैँ बोकेर, थिमिको उकालो चढ्नु जस्तो कठिन चुनौतL समेत खेप्न तयार हुनु – भन्ने अर्थ लाग्छ । यो उखानमा निहित प्रेम, समर्पण, त्याग, र प्रतिबद्धताको सन्देश एकदमै बलियो छ, सकारात्मक छ, प्रेरणादायी छ।
तर जनबोली तथा साहित्यमा उखानको यो सकारात्मक सन्देश भन्दा फरक नकारात्मक चित्रण पाइन्छ । उकालो चढ्दा लखतरान भई थाकेर पनि मरेको बिरालो जस्तो निकम्मा वस्तु फाल्न नमानेर ढीठ देखाउँदै हिंड्ने लाचार थकित पात्रको चित्रण गर्नको निमित्त यो उखान ‘मरेको बिरालो काखी च्यापेर थिमिको उकालो चढ्नु जस्तो’ भनिन्छ, ताकि, त्यो जस्तो वाहियात काम संसारमा अरु केही छैन । यसरी सकारात्मक अर्थ लाग्न सक्ने उखानलाई नकारात्मक प्रसंगमा मिसाएर प्रस्तूत गर्ने काममा नाम चलेका साहित्यकारहरु नै संलग्न भएको देख्दा प्रश्न गर्न सकिन्छ, उनीहरुले के साँचै साहित्यमा प्रयुक्त शब्दहरुको मर्म त बुझेको छ?
सुनिएअनुसार यो उखानलाई चल्तीमा ल्याउने ताना शर्मा (कसैले सर्जक नै पनि उनी नै हो भन्छन्, तर यकिन छैन) भुँडिवाल भएको हुँदा उनलाई उकालोदेखि एलर्जी थियो, उकालो चढ्न भुँडीवालहरूलाई गाह्रो हुनु स्वाभाविकै पनि हो । उनले रचेका उकालो सम्बद्ध अन्य साहित्यहरुमा पनि त्यसको छनक पाइन्छ। थिमिको उकालोबाट गांत्वा: जाने बाटोतिरको छेउमा बसेर हेर्ने हो भने थिमिको उकालो चढ्नेहरुको संघर्षपूर्ण थकित अनुहारहरु दर्शन गर्न पाइन्छ। त्यो थकानपूर्ण लत्रिएको अनुहारको नकारात्मक विम्ब उतार्न मात्रै पनि यो उखानलाई नकारात्मक कोणबाट प्रस्तुत गरेको हुनसक्छ।
जे होस, थिमि नै मात्र यस्तो ठाउँ हो, जसको नाउँमा थरीथरीका उखान बनेको छ। हेपेर बनाइएको हो वा माया गरेर, त्यता पट्टि ध्यान दिन मन छैन, किन कि तिनै उखानको कारण थिमिका मानिसलाई देश विदेश घुम्दाखेरि आफ्नो ठाउँको परिचय दिन ‘जिल्ला’को नाउँ बताइरहन पर्दैन थियो। तपाईको घर कता? भनी कसैले सोधे ‘थिमि’ भन्ने बित्तिकै त्यो ठाउँको बारे केहि पनि थाहा नहुनेको निमित्त पनि एउटा परिचित ठाउँबाट आएको मानिस झै छाप पार्न सघाउने तिनै उखानहरु हुन जस्तो लाग्छ ।