काठमाडौं । काठमाडौं महानगरपालिकाले कानुनविपरीत सञ्चालित औषधिपसलहरु ठाउँको ठाउँ बन्द गर्ने चेतावनी दिएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले गैरकानुनीरुपमा सञ्चालित एवम् चिकित्सकको प्रस्क्रिप्सनविना नै औषधि दिने औषधि पसलहरुलाई सच्चिनको लागि १० दिनको समय दिएका हुन् ।
‘काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनविना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ’, मेयर शाहले सूचना जारी गर्दै भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भएअनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुनबमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ।’
प्रमुख शाहले भनेका छन् ‘माथि उल्लेख भएअनुसारको समयभित्र काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधी पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) तथा काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधी पसल बन्द गर्नेसम्मको कारबाही गरिने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ।’
अनधिकृत रूपमा औषधि बिक्री वितरण भइरहेको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्रि नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी सूचना दिन मेयर शाहले महानगरवासीलाई अनुरोध पनि गरेका छन्।