

काठमाडौ । बसन्तपुर दरबार क्षेत्रमा रहेको श्री कालभैरवलाई विशेष गरि आइतबार दर्शन तथा पूजा गर्ने गरिन्छ। त्रिकालदर्शी भएको तथा काल पनि उहाँकै अधिनमा रहने भएकोले कालभैरव आजुलाई ठूलो महत्व दिइन्छ।
महादेवको भैरव अवतारहरूमध्ये पहिलो अवतार मानिने कालभैरवको दर्शन मात्र गरेमा पनि रोगकष्ट तथा दुस्ख अनि महादशाहरू निवारण हुने विश्वास गरिन्छ। यही सम्बन्धमा आज हनुमान ढोका दरबार क्षेत्रमा रहेको कालभैरवको मन्दिरमा पञ्चबली चढाइएको छ । आज भैरवाष्टमीको अवसरमा यो बली दिइएको हो ।
भैरवाष्टमी शिवको क्रोध अग्निबाट आजकै तिथिमा पहिलो पटक भैरव रूप उत्पन्न भएको मानिन्छ । आजको दिन नेवास् समुदायमा अष्टभैरव दर्शन गर्न जाने परम्परा पनि रहेको पाइन्छ । विभिन्न स्थान अनुसार आ(आफ्नै रीत अनुसार अष्टभैरव पूज्ने चलन रहेको पाइन्छ।