काठमाडौं । काठमाडौं उपत्यकामा पहिलोपटक हाँस प्रजातिको नयाँ पंक्षी फेला परेको छ । भक्तपुरको हनुमन्ते खोला आसपासको निश्चित क्षेत्रमा देखिएको स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) उपत्यकावासीको लागि नयाँ भएको पंक्षी संरक्षकहरूले बताएका छन् । पंक्षीविज्ञ सञ्जय था श्रेष्ठका अनुसार सो पंक्षी पहिलोपटक सन् २००४ मार्च २४ मा नेपालमा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षमा २ वटा कलहाँस देखिएका थिए ।
यो कलहाँस पंक्षी साइबेरिया, रूसलगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आइपुगेको हो । हाँस प्रजातिको कलहाँस थाकेर हनुमन्ते खोलामा आएको अनुमान श्रेष्ठले गरे । गतवर्ष पनि नारायणी नदी आसपासमामा पनि ४ वटा कलहाँस देखिएको बताउँदै श्रेष्ठले कहिलेकाहीँ मात्र तराई र भित्री मधेसमा घुम्न आउने यो पंक्षी कसरी हनुमन्तेमा आइपुग्यो भन्ने विषयमा खोजी भइरहेको बताए । हनुमन्ते खोलामा पक्षीविज्ञ केही श्रेष्ठसहित केही अरू पंक्षी विज्ञहरूले क्यामरामा कैद गर्न भ्याएका थिए ।
चिसो मौसममा बस्न नरूचाउने सो पंक्षी किन र कसरी चिसो ठाउ भएको हनुमन्तेमा देखियाे भन्ने विषयमा अनुसन्धान हुनुपर्ने देखिन्छ । । उच्च हिमाली क्षेत्रबाट उडेर आएको हुनसक्ने कलहाँस थकाइ लागेर आहारा खोजीमा खोला किनारामा बसेको हुनसक्ने जिकिर गर्दै पंक्षीविज्ञ श्रेष्ठले भने– ‘यस्ता चरा थाकेपछि केही दिन खोला किनारमा वास बसेर उड्न सक्ने भएपछि गन्तव्यतिर जाने गरेको छ । त्यही भएर लामो समयसम्म उडेर थाकेपछि हनुमन्तेमा आहाराको लागि आएको हुनसक्छ ।’ विगत वर्षको तुलानमा राजधानीमा चिसो नभएका कारण यस्ता प्रजातिका पंक्षीहरू खोला किनारामा आएको हुनसक्ने अनुमान छ ।
तस्वीरः सञ्जय था श्रेष्ठ