काठमाडौं । जगतपाल महाविहार कीर्तिपुर नगरपालिका, वडा नं १० मा अवस्थित छ । विहार स्थानीय जनसमुदायमा चिलंचो बहालको नामबाट बढि प्रसिद्ध छ । चिलंचो चैत्य स्थापना भइरहेको प्राङ्गणभित्र जगतपाल बर्माले निर्माण गर्न लगाएको विहार भएकाले यो विहार जगतपाल महाविहार कहलिएको छ । धार्मिक स्मारकका रूपमा स्थापित प्राचीन चिलंच्व चैत्य, कीर्तिपुर नगरका बौद्ध मार्गीहरूका लागि आस्थाको केन्द्रको रूपमा रहेको छ । यो बौद्ध स्मारक बुद्घ धर्मको महायान तथा वज्रयान धर्मको केन्द्ररूपमा रहेको छ ।
जगतपाल महाविहार प्राङ्गणमा निर्माण भईरहेका चैत्य (विहार)लाई चैत्यरङ्ग, चित्ररङ्ग भट्टारक, धर्मधातु बागीश्वर आदि नाउँबाट संम्बोधन गरिएको पाइन्छ । चैत्यरङ्ग र चित्ररंग अपभ्रंश भएर चिलंच्वु हुन गएको हो भनी शुक्रसागर श्रेष्ठ उल्लेख गर्नुहुन्छ । त्यस्तै, चन्द्रमान बज्रचार्यले चिलंच्व विहारको अर्थ चिरं-चिरञ्जीवी । चो । डाँडा । बहाः बिहार । चिलंद्य । चिरञ्जीवी देवता भनी चिलंचो विहार डाँडामा अवस्थित चिरञ्जीवी चैत्य हो भनी संकेत गरेका छन् । चिल एउटा चोक वा डाँडाको नाम हुन सक्छ । उक्त डाँडाको पनि च्व ‘टाकुरा’मा अवस्थित चैत्य (विहार) भनिएको हुन सक्छ । काठमाडौं उपत्यकाका चार डाँडाहरू जामाच्व, फूलच्वं, सिफूच्वंजस्तै चिलंच्व शब्द बनेको अनुमान लगाउन सकिन्छ । चिल ।डाँडाको च्व। टाकुरामा अवस्थित चैत्य भएर चिलंच्व चैत्य कहलिएको हुन सक्छ ।
महाविहारको अग्रभागमा भएको चिलंच्व चैत्य मूलत चारवटा चैत्यहरूको बीचमा ठूलो चैत्य हो । यहाँ सम्पूर्ण तेलिया ईंटाबाट निर्मित चैत्यहरू अवस्थित रहेबाट नै यसको पौराणिकतालाई प्रतिविम्व गरिराखेको छ । चिभा रहेको स्थानबाट दक्षिण होचो भागमा जगतपाल महाविहार (क्वापाछें( रहेको छ । उत्तर मोहडा भएको तीन तले दुई नाले महाविहारको भूईं तल्लामा तीन वटा ढोका रहेका छन् । बीचको ढोका भित्र महाविहारको मूल देवता (क्वाःपाद्य) अर्थात अक्षोभ्य बुद्ध उत्तराभिमूख गरी विराजमान गराईएको छ ।
बौद्ध समाजलाई धर्मानुकुल जीवनयापन गर्नका लागि बुद्ध धर्म अनुरूपको शिक्षा दिक्षा प्रदान गर्ने, धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्नेदेखि लिएर बौद्धहरू एकीकृत भई मैत्रीपूर्ण सम्बन्ध कायम गराउने आदि कार्यमा बौद्ध संघले महत्वपूर्ण भूमिका खेलेका छन् । जगतपाल महाविहारमा १३७ जना चूडाकर्म एवम् आचार्यभिषेक गरिसकेका संघ सदस्यहरू छन् । यी संघ सदस्यहरूले दैनिक, मासिक र वार्षिकरूपमा गर्नुपर्ने पूजाहरूलगायत विभिन्न गुठी, पर्वहरू आदि विहारद्वारा निर्देशित हुन्छन् । जगतपाल महाविहार कीर्तिपुरमा अवस्थित भएको हुनाले यहाँको भौगलिक तथा ऐतिहासिक पृष्ठभुमि जान्नु पनि आवश्यक छ । त्यसैले यहाँ कीर्तिपुरको छोटकरीमा बयान गरिएको छ ।