अहिले पूर्व प्राथमिक शिक्षा अर्थात् मण्टेश्वरी शिक्षा चर्चित रहेको छ । अहिले बच्चाहरूलाई शिक्षा दिनको लागि खुलेको यो मण्टेश्वरी २०१६ सालमा नाम परिवर्तन भएको थियो । २००५ सालमा अमेरिकी सहयोगमा जमलमा मन्टेसरी स्थापना गरिएको थियो जुन ०१६ सालसम्म सञ्चालन भएको थियो । कलेज अफ एजुकेसन सञ्चालन हुन थालेपछि मन्टेसरीलाई लाजिम्पाटमा सारियो उक्त मन्टेसरीलाई अमेरिकी अपरेसन मिसन युएसओएमले तीनवटा स्कुल बस उपलब्ध गरायो ।
स्कुलमा बसको व्यवस्था नेपालमै पहिलोपटक भयो, ती बस सुन्तला रङ्गका थिए । भाडाबापत मासिक १० रूपियाँ र खाजाबापत पाँच रूपैयाँ उठाइन्थ्यो । बसले ललितपुर र भक्तपुरबाट पनि विद्यार्थी ओसार्ने गर्थ्यो । त्यसो त नेपालमा आधुनिक विद्यालय स्थापनाको इतिहास नै राणा शासनमा भएको थियो । विसं १९०३ असोज ३ मा जंगबहादुर राणाले शासनसत्ता हातमा लिएपछि अंग्रेजी शिक्षाबाट प्रभावित भई विसं १९१० असोज २७ मा अंग्रेजी प्रारम्भिक स्कुलको स्थापना गरेका थिए ।
सो विद्यालयको पहिलो प्रअ मिस्टर क्यानिङ थिए भने सुपरीवेक्षकमा रोसलाई नियुक्त गरिएको थियो । १९३२ देखि भाइ भारदारका छोराहरुले प्रवेश पाउन थालेका, १९४२ देखि सर्वसाधारण जनताका छोराले प्रवेश पाउन सक्ने व्यवस्था गरियो । शुरुमा हाइस्कुलको सम्बन्धन कलकत्ता विश्वविद्यालयसँग रहेकोले कक्षा १० को अन्तिम परीक्षा दिन कलकत्ता जानुपर्ने अवस्था थियो, पहिलो नेपाली हेडमास्टर सरदार रुद्रराज पाण्डे थिए ।