अहिले विश्वमा टु स्टारदेखि सेभेन स्टारसम्मका थरीथरीका होटलहरु खुलेका छन् । कतिपय नाम चलेका होटलहरुले विश्वका विभिन्न सहरमा शाखा पनि विस्तार गरेका छन् । यस्ता होटलहरूमा बस्ने नेपालमै पनि अहिले एकै रातको १० औं हजार तिर्नुपर्छ । तर पनि अहिले होटलको दररेटको बारेमा धेरैलाई चासो हुँदैन । तर इतिहासमा होटलको दररेट कति थियो होला भन्ने कुरा भने धेरैलाई चासोको विषय हुन सक्छ ।
एउटा विक्रम संवत् २०१३ सालमा खुलेका काठमाडौंका केही होटलहरू र तिनीहरूको सूची हेर्दा त्यतिबेला सबैभन्दा महँगो होटलमा बस्नको लागि एकै रातको ७२ रुपैयाँ तिर्नुपर्ने गरेको थियो । करिब सात दशक अघिको यो दर साँच्चिकै महँगो थियो । त्यतिबेलाको सबैभन्दा महँगो होटल थियो होटल रोयल जुन दरबारमार्गमा रहेको थियो । जसमा दुईजना बस्नको लागि १३६ रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो । त्यस्तै, त्यतिबेला सबैभन्दा सस्तो भनेको बागबजारको गोल्डन भ्याली होटल थियो । जहाँ बस्नको लागि एक जनालाई २५ रुवैयाँ र दुई जनाको लागि ४८ रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो ।
यसबाहेक पनि लाजिम्पाटको स्नो भ्यु होटल, बागबजारको कोरोनेसन होटल, रानीपोखरीको इम्पेरियल होटल र नयाँ सडकको पारस होटल पनि त्यतिबेलाको चर्चित होटलहरू हुन् । यी होटलहरूमध्ये जुद्ध शमशेरको पारस होटल कवि भूपि शेरचनले चर्चित बनाएको होटल हो । सो होटलमा बसेर उनका कयौं युगविहीन कविताहरू लेखिएका थिए । त्यसैले यो होटललाई कतिपयले कवि होटल भन्दै चिनाउने समेत गरेका थिए । यो होटल हालको नेपाल बैंकको केन्द्रीय कार्यालय रहेको घरसँग रहेको थियो ।