वि.सं. १९५४-५५ तिर वीरशम्शेरले वास्तुकलाविद् जोगवीर स्थापितलाई ’फोहरा दरबार’ बनाउन लगाए । उनले सो दरबारमा तयार भएपछि आफ्ना छोरा प्रतापशम्शेरको लागि बकस लेखिदिए । तर, यो कुरा वीरशम्शेरकी कान्छी रानी तोपकुमारीदेवीलाई मन परेको थिएन ।
त्यसपछि वीरशम्शेरले सोही दरबार नजिकै अर्को अझ भव्य फोहरा दरबार कान्छी महारानीका लागि बनाइदिए । सो दरबारमा अत्याधुनिक फोहराहरू बनाइएको थियो । साथै, दरबारको बिचमा चौडा पोखरी र पोखरीको बिचबिचमा पनि लहरै फोहराहरू राखिएको थियो । यही महलको कौसीमा पनि सर्च लाइट जडान गरिएको थियो । यहाँ जडान गरिएका सामग्रीहरू पनि युरोपबाट मगाइएका थिए ।
१९५९ मा वीरशम्शेरको मृत्यु पछि दरबारमा प्रतापशम्शेर बस्न थाले । १९८२ मा प्रतापशम्शेर धपाइएर पाल्पाका बडाहाकिम बनाइए । त्यहाँ पनि पाल्पा दरबारको मर्मत गराइ बसे । १९९० मा त्यहाँबाट पनि लखेटिएपछि दार्जिलिङ पुगे, जहाँ उनको १९९२ मा मृत्यु भयो । सो कान्छी रानीको लागि बनाइएको दरबार पनि प्रतापशम्शेरकै नाममा आयो । मुख्य पहिलो फोहरा दरबार जेठा छोरा माधवशम्शेरको अंशमा आयो । जुन पछि राजा महेन्द्रले बिना मुआब्जा जबर्जस्ती भत्काएर नारायणहिटी भित्र गाभेका थिए ।
रानीको लागि बनाइदिएको दरबार कान्छा छोरा गोविन्दशम्शेरलाई दिए । २००७ सालपछि यही दरबारको भुइँतलामा रहेको ठुलो हलमा ‘प्रभा सिनेमा हल’को नामबाट सिनेमाहरू देखाउने गर्दथ्यो । सिनेमा हल त चलेन, जसले गर्दा घाटा लाग्यो । फोहरा दरबार बिस्तारै ‘फोहर दरबार’ बन्न थाल्यो । यता राजा महेन्द्रले जबर्जस्ती दाजुको फोहरा दरबार भत्काएको हुँदा भाइले पनि सो फोहरा दरबार अमेरिकी राजदूतावासलाई बेचिदिए । हाल यो दरबार अमेरिकी राजदूतावास अन्तर्गत ‘अमेरिकन रिक्रिएशन सेन्टर’को रूपमा रहेको छ । जुन ‘अमेरिकन रिक्रिएशन सेन्टर’ नारायणहिटि दरबारको ठीक अगाडि रहेको छ ।