मन्दिरमा लाग्ने एकादशी मेला भनेको के हो ? कस्तो हुनुपर्छ ? सम्भवतः यसको अर्थ एवम् परिभाषासँग धर्म-आध्यात्म तथा ज्ञान-विज्ञानसँग सम्बन्धित कतिपय पक्षसहित स्थानीय मौलिक जात्रा, भजन, बालनसहित स्थानीय उत्पादनहरूको बजारीकरण जोडिन्छ । त्यसमाथि भगवान् विष्णुको देशकै सबैभन्दा ठूलो मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेलासँग झन् आध्यात्मका जागरण र स्थानीय उत्पादनको बजारीकरण सबैले अपेक्षा गरेका हुनुसक्छ । तर यो वर्ष बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ५ दिन भव्य एकादशी मेलामा त्यस्तो कुनै पक्ष कसैले अनुभूति गरेनन् ।
मन्दिरभित्र राखिएको एकाध फ्लेक्स बोर्ड, राति बल्ने झिलीमिली बत्ती तथा मन्दिर बाहिर बाँसबारीदेखि लगाइएका स्वागतद्वारमा लेखिएको भव्य एकादशी मेलाको स्वरूपमा पुग्दा मानिस पूणर् विस्मित हुनसक्थे । मन्दिर प्राङ्गणमा लगाइएको महापुराण मेलाको कुनै अंश थिएन ।
बुढानीलकण्ठ मन्दिरमा महन्थको काण्डहरू सार्वजनिक भैरहेको बेला वर्षौँदेखि भव्यरूपमा मनाइने बुढानीलकण्ठ एकादशी मेला चलिरहेको थियो । मन्दिरभित्र लगाइएको महापुराणचाहिँ विवादित महन्थको कमाउ धन्दा भनेर आलोचना भैरहेको छ भने नगरपालिकाले आयोजना गरेको भनिएको एकादशी मेला रूपरंग हेर्दा तारिफयोग्य केही थिएन । उपमेयर अनिता लामाले आफ्ना सामाजिक सन्जालबाट सकारात्मक सन्देश दिन खोजे पनि मेलाले भने मेयर मिठाराम अधिकारीलाई प्रतिविम्वित गरिरहेको थियो ।
नगरपालिकाले धर्म आध्यात्म र स्थानीयपनमाथि कुनै तयारी नगरी आयोजना गरेको मेला मन्दिर पछाडिको निजी जमिनमा लागेको थियो । अव्यवस्थित तरिकाले राखिएको चाइनिज लुगा, जुत्ता,कपडादेखि डस्ना सिरकहरूले नगरपालिकाको भव्य भनिएको मेलालाइ कुरीकुरी गरेको झैँ लाग्थ्यो ।
कर्णालीका कुनै दुर्गम पालिकाले आयोजना गरेको मेलामाझैँ सिरक-डस्ना व्यपार गर्न नगरपालिकाले साना व्यपारीहरूलाइ निःशुल्क स्थान दिएको थियो । मेला सुरूहुनु पूर्व भएको एक पत्रकार सम्मेलनमा बिचारहीन भएर मेयर मिठाराम अधिकारीले यसवर्ष मेला भव्य बनाउन निःशुल्क स्टल दिलाउने भनेर घोषणा गरेका थिए ।
जनप्रतिनिधिबीच आपसी बेमेलसँग जुधिरहेको बुढानीलकण्ठ नगरपालिकाले चाहेको भए वा पूर्व तयारी गरेको भए मेला भव्य हुनुसक्थ्यो । तर सम्भवतः मेयर अधिकारीको सोचशैलीमा आयोजना भएकाे हुनसक्ने मेला लोकल चाइनिज पोडक्ट फेस्टिबल मात्र बनेको देखिन्थ्यो ।