काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो अहिले भाइरल भएको छ । संस्कृतिविद् डा.जगमान गुरुङले एउटा समारोहको अग्रपंक्तिमा बसेका अतिथिको माइक खोसिरहेका छन् । भिडियोमा स्पष्ट सुनिन्छ कि उनले ती अतिथिहरुलाई वैदिक संस्कृतिको व्याख्या गर्न आउनेले पोषाकको संवेदनशीलतामा ध्यान दिनुपर्ने बताइरहेका छन् । उनले बाचकी बसेको धार्मिक मञ्च व्यासासनमा फिरङ्गीको पाइन्ट लगाएर वैदिक संस्कृतिको व्याख्या गर्ने अधिकार नभएको भन्दै माइक खोसेको देखिन्छ ।
यो कार्यक्रम पशुपतिमा आयोजिक एक श्रीमद्भागवत कथाको हो । सो कार्यक्रममा डा गुरुङलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । अन्तिममा उनले भाषण गर्दैगर्दा उनले भारतीय भूमिभन्दा बढी पूर्वीय संस्कृतिका लागि नेपाली भूमि पवित्र रहेको भन्दै व्याख्या गर्दै आएका थिए । उनको सो भाषण लगत्तै आयोजकले उनलाई समय सकिएको सूचना पत्र अगाडि राखिदिएका थिए । त्यसपछि उनले नेपाली संस्कृतिको विशिष्टीकरण गर्दैगर्दा प्रमुख अतिथिलाई किन समयको चिट काटियो ? भन्दै आक्रोश व्यक्त गर्दै आफ्नो मन्तव्य त्यहीँ टुंग्याए । उनले सो कार्यक्र्रम सकिएपछि फेसबुमा लेखेका छन्: ‘अहिले नेपालमा हिन्दु अधिराज्य नेपालको लहर चली रहेको छ । तर हिन्दु धर्मका ठूला जात भनिएका बाहुनहरूबाट नै हिन्दु मर्यादा विपरीतको काम भइरहेको छ ।
आफूलाई ठूला विद्वान ठान्ने बाहुनहरू फिरङ्गीको पाइन्ट लगाएर धार्मिक मञ्चमा उभिएर धर्मको व्याख्या गर्छन् । धार्मिक मञ्च भनेको व्यासासन हो । राजाको सिंहासन र ब्राह्मणको व्यासासनको पवित्र महत्त्व छ । त्यसकारण वाचकी पण्डित बसेको धार्मिक मञ्च व्यासासनमा फिरङ्गीको पाइन्ट लगाएका अमर्यादित जुनसुकै व्यक्तिलाई उकाल्न पाईँदैन र फिरङ्गीको पाइन्ट लगाएर शास्त्रको व्याख्या गर्न पाईँदैन ।
अहिले भागवत् वाचन र धार्मिक अनुष्ठानहरू अर्थ उपार्जनको माध्यम बनेको छ । यसो भएर नै अहिले नेपालमा हिन्दु धर्म र हिन्दु अधिराज्य ओरालो लागेको हो । अहिले आफूलाई धार्मिक अभियन्ता भन्नेहरूले नै धर्मको विपरीत काम गरी रहेका छन् । आचारस् परमो धर्म, त्यसकारण शुद्ध आचरणमा रहेर नेपालमा वैदिक सनातन हिन्दु धर्मको संरक्षण र संवर्द्धन गरौँ । तथास्तु !’ अहिले उनको यो अभिव्यक्तिको चर्चा र आलोचना दुवै भइरहेको छ । तर उनले भनेजस्तै शास्त्रको व्याख्या गर्नका लागि एउटा मर्यादित पोषाकको खाँचो पर्नेमा भने धेरै विद्वानहरुको मत देखिन्छ ।