बुढानीलकण्ठ मन्दिरमा महन्थ निगमानन्दको बेथिति चर्चामा छ । उनको स्वभावदेखि उनका कर्मसम्मका विषय समाचारका छाउँदा पनि सम्बन्धित पक्ष यो बारेमा सक्रिय देखिएको छैन । निगमानन्द कसले के गर्न सक्छ गरे हुन्छ भन्दै आफू भारतीय दुतावासको मान्छे हुँ भन्दै फुर्ति लगाउने गरेका छन् । उनले भारतीय दुतावासको बदनाम गरिरहेको प्रशंग पनि देखिन्छ ।
यसैबीच निगमानन्दसँग जोडिने आर्थिक पाटो मन्दिरमा लगाउने भागवत् पुराणको आर्थिक उपार्जन र त्यसको दुरूपयोगसँग जोडिएको छ । मन्दिरमा रहेको वेद विद्याश्रम र त्यहाँका बटुकहरूलाई व्यवस्थित गराउने भनेर वर्षेनी पुराण लगाउने गरिएको देखिन्छ । तर मन्दिरमै रहेको पुरानो भवनमा वेदविद्याश्रमका बटुकहरूको हालत भने नाजुक अबस्थामा रहेको छ । बटुकहरूको हालत माग्नेजस्तो बनेको छ ।
वेद विद्याश्रमका बटुकहरुको अबस्थामा देखाएर लगाइएका हाइप्रोफाइल पुराणबाट आएको पैसा के भयो ? कहाँ गयो ? भन्ने कुराको जवाफ दिने कोही देखिदैन । आफूलाई महाराज नै भन्न पर्ने अडान राख्ने निगमानन्द यो विषयमा कुरा गर्यो मान्छेलाई तथानाम गाली गर्दै कुट्न तम्सने गरेको भुक्तभोगिहरू बताउँछन् । यसमा बेदविद्याश्रमका शिक्षक प्रमुख पनि व्यापक दोषी तथा निगमानन्दसँग मिलेको देखिन्छ ।
जयबहादुर चन्दलाई भजाएर एकवर्ष अघि लगाइएको पुराणको रकम खै ?
पूर्व वरिष्ठ प्रहरी अधिकृत साथै हाल अख्तियार अनुसन्धान आयोगका सदस्य जयबहादुर चन्द बुढानीलकण्ठमा बस्छन् । धार्मिक प्रकृतिका चन्दलाई निगमानन्दले मजैले भजाएको देखिन्छ । गतवर्ष कार्तिकमा जयबहादुर चन्द दम्पत्तिलाइ यजमान बनाएर लगाइएको थियो । त्यो भव्य पुराणबाट आएको तथा बचेको रकम आजका मितिसम्म वेद विद्याश्रमका बटुकहरुको व्यवस्थापनमा लागेको देखिदैन ।
वेद विद्याश्रमका बटुकहरूलाई एकछाक खान तथा एकसरो लाउन पनि गारो परिरहेको बेला नियमितरूपमा भक्तजनहरूबाट आउने सहयोग कता गयो ? भन्ने प्रश्न एकातिर छ भने वेद विद्याश्रमकै बटुकहरुको व्यवस्थापनका लागि भनेर उठाइएको लाखौँ रकम गुपचुप हजम पारिएको प्रशङ्ग अर्कोतिर छ । एकवर्षअघिको भागवत् पुराणमा उठाइएको पैसामा केही लाख व्यवस्थापन समितिले थपेर निगमानन्दलाइ निजी गाडी खरिद गरिएको भन्ने विषय गाइँगुइँ चलिरहको छ । तर चर्चा परिचर्चा हुँदा पनि सो उठेको रकमको पारदर्शिता र जवाफदेहिता निगमानन्दले दिएका छैनन् ।
यो वर्ष पनि चन्दलाई नै भजाएर वेद विद्याश्रम व्यवस्थित गर्नभन्दै भागवत् महापुराण
यो समाचार तयार पार्दा बुढानीलकण्ठ मन्दिरमा लागिरहेको भागवत् पुराणको छैटौँ दिन चलिरहेको छ। यो वर्ष पनि निगमानन्दले बेदविद्याश्रम व्यवस्थापन गर्न भनेर भव्य पुराण लगाएका छन् । पुराण सुरू गर्नु केही दिन अघि नै संभावित पैसा दिनसक्नेहरुको घरघरमा चन्दाको मेनुसहितको निम्तो पठाइएको थियो भने पुराणका यजमान यसवर्ष पनि जयबहादुर चन्द दम्पत्तिलाई नै बनाइएको छ ।
निगमानन्दको सत्संकल्प र संरक्षणमा आयोजित भनिएको भव्य निम्तोपत्र पैसा दिनसक्नेहरुको घरघरमा पुर्याइएको छ । यस कार्यक्रमका संयोजक बनेका छन् काँग्रेस नेता राजु श्रेष्ठ । जयबहादुर चन्दसहित राजु श्रेष्ठलाई पनि भजाएर रकम उठाउने राम्रै प्रपञ्च रचिएको देखिन्छ । पैसा राम्रै उठिरहेको आयोजक समितिका एकजना काठमाडौँ खबरलाई बताए ।
बटुकहरूलाई दाताहरूले दिने चामल र लुगामासमेत घोटला
एकातिर वेद विद्याश्र्मका बटुकहरूलाई भनेर लगाएको महापुराणका रकम पारदर्शी छैन भने अर्कातिर बटुकहरुको हालत दिनहीन देखिन्छ । उनिहरूले लगाउने लुगा, बस्ने खाट-ओछ्यानसाथै खाना खाने भान्सा हेर्यो भने उनीहरूको अबस्था सहजै अनुमान गर्न सकिन्छ । बटुकहरूलाई दाताहरूले दिन चामल, नुनतेलदेखि लुगासम्ममा घोटला हुने गरेको देखिन्छ ।
मन्दिरसँग सम्बन्धित एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा भने, शिक्षक प्रमुखले नै महाराजसँग मिलेर आएका सामाननै वारपार गरिदिन्छन्, यहाँ बोलिदिने मानिस नै भएन । वेद विद्याश्रमका बालक बटुकहरुको हालत हेर्दा मिलेमतोको पापकर्म भैरहेको सहजै अनुमान गर्न सकिन्छ ।