काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई च्याँखे नथाप्न चेतावनी दिएका छन्। पूर्वराजा ज्ञानेन्द्रले झापामा शक्ति प्रदर्शन गर्दै गर्दा कांग्रेस महामन्त्री थापाले गुल्मी पुगेर यस्तो चेतावनी दिएका हुन्। ‘राजा फर्काउनुपर्छ भनेर कोही आयो भने काँग्रेसले भन्ने हो – च्याँखे थाप्ने हैन, खालमा भिड्न आउने हो,’ गुल्मी कांग्रेसको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने।
राजाकै बदनियतका कारण राजतन्त्र गएको उनको दाबी थियो। उनले मौकामा मूर्ति बेच्नेले हिन्दु धर्म नबचाउनेसमेत दाबी गरे। ‘मौका पाउँदा मन्दिरको मूर्ति बेच्नेले हाम्रो धर्म बचाउँदैन,’ उनले भने। यसैगरी थापाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई नथुनेको भए राजसंस्था संकटमा नआउने दाबीसमेत गरे। उनले राजाको पक्षमा उभिँदा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले समेत ढुंगा खाएको बताए।
देशमा कांग्रेसकै कारण अहिलेको विकास भएको दाबी समेत उनले गरे। माओवादीले १० वर्ष द्वन्द्व नगरेको भए अझै देशले विकासको फड्को मार्ने थापाको तर्क थियो। ‘माओवादीले १० वर्षको अनावश्यक भारी बोकाए। सबैभन्दा बढी माओवादीकालमा को मारियो कांग्रेस,’ उनले भने।
अहिले व्यवस्थामाथि प्रश्न उठाउँदा सरकारले आउटडेटेड फर्मुला अपनाएकोमा खेद प्रकट गरे। ‘सरकारको फर्मुला आउटडेटेड भइसक्यो। आन्दोलनमा हिँडेको मान्छेलाई पक्रेको छ। सामाजिक सञ्जाल बन्द गरेको छ। के विधि डराएको सरकार? गणतन्त्रविरुद्ध बोल्न पाइदैन र?’ उनले प्रश्न गरे।