चैत्य भन्ने बित्तिकै हामीहरुको दिमागमा शिलाबाट बनेको चैत्य बुझ्ने आउछ । ढुंगाबाट बनेका र ठूलो इँटा जोडेर बनाइएका कैयौं चैत्यहरु ठाउँठाउँमा देख्न सकिन्छ तर छुस्यावहालको गन्धकुटीमा राखिएको काष्ठ चैत्य आफैंमा अनौंठो कला कृति हो।
बहालमा राखिएको काष्ठ चैत्यलाई चोकमा रहेको कुटागार चैत्यको प्रतिकृति मान्ने गरिएको छ । काष्ठ चैत्यलाई स्थावर (हिंडडुल गर्ने जीवित प्राणीलाई जंघम र हिंडडुल गर्न नसक्ने रुख झारपातलाई स्थावर भनिन्छ) चैत्य पनि भनिन्छ । काष्ठ चैत्य बनाउने प्रचलन नेपालमा पनि चलेको पाइन्छ ।
स्थावर चैत्यको चर्चा अरु विद्वानहरुले गरेको पाइएको छैन । “हेमराज शाक्यले “चैत्यया आत्मकथा”मा स्थावर चैत्यको अर्थ “तःग्वःगु चीबहाः” अर्थात् ठूलो आकारको चैत्य भनि उल्लेख गरेका छन् । सहस्र अश्वमेघ यज्ञ गर्नुभन्दा एउटा लक्ष चैत्य (माटोको चैत्य) बनाउँदा धेरै पूण्य हुन्छ भन्ने मान्यता रहेको छ।
हजारवटा लक्ष चैत्यभन्दा एउटा स्थावर चैत्य बनाउँदा पूण्य धेरै हुन्छ । सद्धर्मपुण्डरिक सूत्रमा आधारित स्थावर चैत्यको निर्माण कुन–कुन महाविहारहरुमा छन् खोजको विषय नै हो ।” यस प्रकारका धार्मिक तथा कला अध्ययन अनुसन्धानको विषय बनेको छ । साँखुको गुंविहारमा रहेको प्रसिद्ध धवल चैत्य पनि काठबाट नै बनेको उल्लेख अमृता महर्जनको शोधग्रन्थमा उल्लेख गरिएको छ ।
गुंविहारको विशेषता पनि चैत्य जात्रा हो । जात्रामा प्रयोग गरिने चैत्य काष्ठ चैत्य हो । इतुंबहाल, झ्वावहाल, हेनाकर महाविहार, हेमवर्ण महाविहार, सिकंमुवहाल आदिका वज्राचार्यहरु साँखुबाट नै आएका हुन् भन्ने मान्यता रहेको छ । हेनाकर महाविहार र गुणाकर महाविहारका वज्राचार्यहरुले धवल चैत्यलाई आफ्नो दिगुद्यः (कुलदेवता)को रुपमा मान्दै आएका छन्।
स्थावर चैत्यलाई घामपानीबाट जोगाउन विहारमा गन्धकुटीभित्र स्थापना गरिएको छ । विहारको स्थावर चैत्यको गजुर र गर्भगृह आदि विग्रिसकेको छ । कूटागार शैलीको यस चैत्यमा गजूर र गर्भगृहबाहेक चतुद्र्वार र बोधिसत्वहरुको मूर्ति सुन्दर रहेको छ ।
का.म.न.पा. २७ वडा, घर नं २१५ ज्याठामार्गमा गुणाकार महाविहार रहेको छ । काठमाडौंको स्थानीय बोलिचालीको भाषामा छुस्यावहाः भन्ने गरिन्छ । यहाँ रहेको एक शिलालेखमा गुणाकर महाविहार लेखिएको छ । तर यहाँ महाविहारमा गरिने कार्यहरु गरिंदैन । हेनाकर महाविहार (ध्वका वहाः) को कचावहाःको रुपमा छुस्यावहाः (श्री गुणाकर विहार) र हाकु वहाः (श्री हर्ष चैत्य विहार) रहेको छ । श्री गुणाकर महाविहार मध्यकालको सुवर्ण प्रनादि-प्रणाली महानगर अन्तर्गत रहेको छ । एन आर बनर्जीले नेप्लिज आर्किटेक्चर भन्ने पुस्तकमा छुस्यावहाललाई छुस्या विहार भनेका छन् ।