कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा रहेको धाममा, शिवलिंग मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छन् । यस धाममा शिवलिंगसँगै कागको पूजा गरिन्छ। कागेश्वरी महादेव कागले पत्ता लगाएको जनविश्वास छ। किंवदन्तीअनुसार उहिल्यै गागल गाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे। त्यहाँ गोठालाहरू गाइको दूध उमालेर राख्थे। तर, सधैं दूधको तर हराउँथ्यो।
एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले सोरेर लाँदै गरेको देखेछन्। त्यो कागलाई गोठालाले पच्छाएछन्। पच्छ्याउँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको देखियो। त्यही बेलादेखि कागेश्वरी महादेव भन्न थालियो।
त्यस्तै, श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतिदेवी बोकेर हिँड्दा उनको मुटु यही ठाउँमा पतन भएको थियो। सतिदेवीको अंग पतन भएकाले कागेश्वर नभनी ‘कागेश्वरी’ भन्न थालियो। कागेश्वरीधाममा राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालादेखि हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्दै आएको छ।
कागेश्वरीमा कागको सुनौलो मूर्ति बनाइएको छ भने सहिद पार्कमा कागको विशाल कालो प्रतिमा र नेपालको राष्ट्रिय झण्डा पनि राखिएको छ। कागेश्वरी क्षेत्रमा सुविधायुक्त होटल तथा रिसोर्ट खुलेका छन्।