नेपालमा अनेकथरीका गीतहरु प्रचलनमा रहेको छ । विशेष अवसरमा गाइने गीतलाई विशेष गीत र सँधै गाउँन सकिने गीतलाई सामान्य गीत भनेर लोकगीतलाई मुख्य दुई भागमा विभाजन गरिएको छ । विशेष गीतलाई वर्ष चक्रीय, सँस्कार, धार्मिक र विविध गीतमा विभाजन गरिएको छ । पर्व गीतहरू चाडपर्व, पर्व र जात्रासँग सम्बन्धित गीतहरू हुन् जसमा तीजगीत, दशैँतिहारको गीत, कृष्णाष्टमीका गीत, ठूलो एकादशीका गीत, फागूपूर्णिमाका गीत, रामनवमीका गीत, आदि पर्दछन् । कर्म गीत वर्षभरि विभिन्न कामका अवसरमा थकान मेटाउन गाइने गीत हुन् । यसअन्तर्गत वसन्तगीत, जेठेगीत, असारेगीत, दाइँगीतआदिपर्दछन्।
धार्मिक गीतलाई जीवन संस्कार र पदार्थ संस्कार गरी दुई भागमा विभाजन गर्न सकिन्छ । जीवनका विभिन्न सँस्कारहरूमा गाईने मागल, रत्यौली, आशिका आदि जीवन संस्कार गीत हुन्भने पूजा, व्रत, यज्ञमा गाइनेगीतहरू पदार्थ सँस्कारअन्तर्गत पर्दछन् । विविध गीतमा ख्याली गीत, बाल गीत आदिलाई लिन सकिन्छ । समान्य गीतमा बाह्रमासा र बाह्रमासे गीतहरू पर्छन्। बाह्रमासा बाह्रै महिनाको वर्णन गरी गाइने गीतहरू हुन् भने वर्षभरि नै जुनसुकै समयमा पनि गाउन सकिने गीतहरू बाह्रमासे गीत हुन् । यस्ता गीतहरूमा देउडा, सालैजो, सेलो, टुङ्ना आदि पर्दछन् । कार्तिक शुल्क पक्षमा पर्ने हरिबोधनी एकादशीलाई ठूलो एकादशी पर्व भनिन्छ । यस पर्वमा मेघौलीका कुमाल जातिले भजनस्वरूपका पर्वगीतहरू गाउने गर्दछन् ।
फूलैको सेली बगारीलाई
फूलै टिपी फूलै रूप फूलैको सेली बगारीलाई ।
आक्क् शिवजीको मन्दिरमा फूलैको माला झलमल
ओक्क् शिवजीको मन्दिरमा फूलैको माला झलमल बरै ।
आक्क् ओक्क् फूलमा टेकी फूलैमा जाने फूलको सेलीको गरे ।।
उठ मन्दिर १ उठ मन्दिर ११
उठ उठ मन्दिर १ उठ मन्दिर ११
गादो लातो भिरेर बयेली खेल्न उठ मन्दिर ।।
प्रस्तुत गीत मेघौलीको कुमाल समाजमा कार्तिक शुक्ल पक्षमा पर्ने हरिबोधनी एकादशीका अवसरमा गाइने पर्वगीत हो । भजन स्वरूपको यो गीतमा शिवजीको मन्दिरलाई फूलमालाले सिङ्गार्ने कुराको वर्णन छ । सामूहिक रूपमा गाइने यो गीतमा कुमाल नरनारी दुबै पक्षको संलग्नता रहन्छ । गंगाको किनारमा भगवान शिवजीको मन्दिर स्थापना गर्ने र सोही मन्दिरमा अर्पण गर्न फूलै फूलको डोली बनाएर नाचगान बजान गर्दै रमाइलोसँग लैजाने हिन्दु परम्परालाई गीतले समेटेको छ ।
भक्तजनको निःश्छल भक्तिभावनाबाट मन्दिरमा राखिएको मूर्ति पनि प्रत्यक्ष रूपमा साक्षात्कार हुने र उनैको दर्शनभेटबाट भक्तजनका मनोरथ पूरा हुने विश्वास गीतमा रहेको छ । भगवान् शिवजीलाई मुख्य पात्र बनाइएको यस गीतको कथ्य शिवस्तुति हो । प्रस्तुत गीत दुईवटा पङ्क्तिखण्डमा संरचित छ । क्रमशः चार र तीन पङ्क्ति गरी जम्मा सात पङ्क्तिभित्र गीत पूरा भएको छ । गीतमा अनुप्रास योजनाको सहज प्रयोग भएको छ । पछिल्लो पङ्क्तिखण्डमा भएको ‘उठ मन्दिर’ पदावलिको पुनरावृत्तिले गीतलाई बढी श्रुतिमधुर बनाएको छ । धेरैजसो नेपाली भाषाका शब्द प्रयोगकाबीच छिटपुट कुमाल भाषाका शब्दको पनि प्रयोग भएको छ ।