बुढानीलकण्ठ क्षेत्र विकास समिति रिक्त भएको करिब आधा दशक भैसक्यो । क्षेत्र विकास समिति बनाउन किन सकिरहेको छैन भन्ने बारे सबैजना अनविज्ञता जाहेर गर्छन् भने सरोकारवाला बुढानीलकण्ठ नगरपालिका यो बारेमा किंकर्तव्यविमूढरूपमा मौन देखिन्छ ।
नगरपालिकाका वर्तमान मेयरलाई बुढानीलकण्ठ मन्दिर तथा क्षेत्र विकास समितिको महत्वबारे कम ज्ञान हुनुलाई क्षेत्र विकास समिति नबन्नुको कारण मान्न सकिए पनि क्षेत्र विकास समिति बन्न रोक्ने अरू पनि केही महत्वपूर्ण व्यक्ति र विषय रहेको अनुमान गर्न सकिन्छ । स्वाभाविक नै हो, नगरप्रमुखमा यस विषयमा सुन्य ज्ञानका हुनुले यो विषय प्राथमिकतामा परेन । तर के यही कारणमात्र क्षेत्र विकास समिति नबन्न पर्याप्त हो त? पक्कै पनि होइन ।
क्षेत्र विकास समिति नबन्दा मन्दिरको व्यवस्थापन तथा निर्माण-संभारजस्ता विषयमा प्रत्यक्ष असर परिरहेको देखिन्छ । त्यतिमात्र नभै समिति नबन्दा मन्दिरभित्र महन्थको दादागिरि बढेको बताइन्छ । गुठी संस्थानको कर्मचारीका रूपमा आउने महन्थले आफू नै सर्वसर्वाझैँ गरेर मन्दिरमाथि व्यक्ति हावी हुने वातावरण बनाएको देखिन्छ । मन्दिरभित्र रहेका अन्य केहि संस्था पनि क्षेत्र विकास समिति बन्दाभन्दा नबन्दा नै आफ्नो अस्तित्व बढि देखिने अनुभुति गर्ने गरेको देखिन्छ ।
क्षेत्र विकास समिति नबन्नुमा एकातिर नगरपालिका प्रमुखको मुख्य चासोको विषयभित्र बुढानीलकण्ठ मन्दिर नपर्नु हो भने अर्कोतिर महन्थ निगमानन्द जो शक्तिकेन्द्र निकट भनेर चर्चा गरिन्छ उनी आफूलाई बाँध्ने विकास समिति सकभर बन्न नदिनुनै हो । मन्दिर तथा वरपरका सबै विषयमा महन्थ निगमानन्दको एकलौटी चलिरहेको बेला कुनै समितिले आफूलाई बाँध्ने कुरा उनी सोच्न पनि सक्दैनन्। यसैले भ्याएसम्म उनी विकास समिति बन्न नदिने गरी चलखेल गर्ने गरेको स्थानीयवासी बताउने गर्छन् ।
बुढानीलकण्ठ नगरपालिकामा मिठाराम अधिकारी मेयर हुनुपूर्व तत्कालिन नगप्रमुख उद्धव खरेलको पालामा पनि क्षेत्र विकास समिति बनाउनका लागि धेरै कुरा आवाज उठेका थिए । तर उनले पनि यो विषयलाई सोचेजस्तो प्राथमिकतामा नपारेको देखिन्थ्यो । खरेलले एकल निर्णय गरेर क्षेत्र विकास समितिको विषयलाई प्रदेश सरकारतिर पन्छ्याएका थिए ।
यसरी क्षेत्र विकास समितिको विषय खरेलले प्रदेशतिर पन्छ्याउनुतिर धेरैले तत्कालिन प्रदेश सांसद दीपक निरौलाको प्रभावका कारण भएको भनेर मानिन्छ । राजनीतिक फाइदाका लागि जे पनि गर्ने चतुर खेलाडि मानिने निरौलाले क्षेत्र विकासको विषयलाई अगाडि बढाउन चाहेनन् । केही समय बुढानीलकण्ठ क्षेत्रमा ०४५ सालमा गरिएको निणर्यअनुरूपको जग्गा खाली गर्ने भन्दै ‘ल्याण्डपुलिङ’ विषय उठाएर राजनीति गर्न खोजे पनि निरौलाले यो विषयमा लामो यात्रा भने गर्न सकेनन् । क्षेत्र विकास समिति बनाउने, नबनाउने वा कस्तो बनाउने बारे एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको इन्ट्रेस्टले पनि ढिलाई भएको भनेर चर्चा भएको थियो ।
क्षेत्र विकासमा को अध्यक्ष बन्ने बारे स्थानीय राजनीतिक दलका कार्यकर्ताको हानाथाप हुने गरेको छ । द्वापरयुगदेखि वा उपत्यकामा बस्ती विकासको सुरूवाती अबस्थामा भेटिएको मानिने विशाल प्रस्तरको मुर्ति रहेको बुढानीलकण्ठ मन्दिरको विकास समितिमा बस्न ’ठेउके’ राजनीति कार्यकर्ताको हानाथाप निकृष्टरूपमा हुने गरेको छ । ती हानाथाप गर्नेहरू धार्मिक, आध्यात्मिक तथा ज्ञान विज्ञानका विषयमा कतै पोख्त पात्र छैनन् । उनीहरू पार्टीका वफादार तथा मन्दिर आसपासमा घर भएको र कुनै न कुनै भित्री इन्ट्रेस्ट भएका हुने गरेको छ ।
आजसम्म क्षेत्र विकास समितिमा गएका वा परेका व्यक्तिहरू उनीहरूमा रहेको ज्ञान-विज्ञानको आधार वा धार्मिक आध्यात्मिक पक्षको आधारमा रोजिएको देखिदैन । पार्टीका नेता कार्यकर्तादेखि गुण्डागर्दीका नाइकेहरू विकास समितिका पहरेदार भएको इतिहास बोकेको बुढानीलकण्ठ क्षेत्र विकास समितिले चाँडै नै नयाँ समिति पाइहाल्यो भने पनि त्यो त्यस्तै पात्रहरू पुनरावृत्ति हुने कुरामा लगभग दुईमत छैन ।
मेयर र महन्थ ताते भने तत्काल बन्न सक्छ क्षेत्र विकास समिति
“कपन” मात्र जप्ने बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले आफ्नो पहिलो र महत्वपूर्ण काम बुढानीलकण्ठ क्षेत्र विकास समिति बनाउनु हो भनेर लागे भने यो समिति तत्काल बन्न सक्छ । यसका लागि मन्दिर क्षेत्रमा दादागिरि गरेर बसिरहेका महन्थ निगमानन्दले शक्तिकेन्द्रबाट क्षेत्र विकास समिति नबन्ने वातावरणका लागि खेल खेल्न छाड्नु पर्छ ।
नगरपालिकाले आफ्नो दायित्वबोध गर्न सक्यो भने महन्थ निगमानन्दलाई पनि सरूवा गर्न सक्छ । भारतीय दुतावास वा अरू कुनै ‘अदृष्य’ शक्तिका नाममा राज गरिरहेका महन्थलाई हटाउन कि गुठी संस्थानले सक्छ भने कि नगरपालिकाले नै सक्छ । त्यसका लागि ‘कपने मेयर’ले आफूभन्दा जान्नेहरुसँग कसरी काम गर्न सकिएला भनेर छलफल गर्न जरूरी देखिन्छ । क्षेत्र विकास समिति बन्नका लागि स्थानीय राजनीतिक दल तथा संघ संस्थाले पनि ध्यान दिनु तथा सहजीकरण गर्न जरूरी छ ।
कस्ता मान्छेलाई ल्याउने क्षेत्र विकास समितिमा ?
बुढानीलकण्ठ क्षेत्र विकास समितिमा ल्याउने व्यक्ति राजनीतिक दलका ‘ठेउके’ नेता-कार्यकर्तामात्र हुनु नहुने भन्ने आम धारण विकास हुन जरूरी छ । विकास समितिमा यस्तै ठेउके कार्यकर्ताका भर्तीका कारण महन्थहरूका दादागिरिको केन्द्र बन्न पुगेकाे हो । धर्म-आध्यात्म क्षेत्रका ज्ञाता, बुढानीलकण्ठ मन्दिरको सबै अवयवसम्बन्धि ज्ञानी एवम् प्रष्ट योजना र खाका भएका व्यक्ति व्यवस्थापन समितिमा रहुनुपर्छ ।
निश्चित छ, यसका लागि स्थानीय व्यक्ति नै पहिलो प्राथमिकतामा पर्नेछन् । तर स्थानीय व्यक्ति छान्नुका नाममा स्थानीयको दादागिरि चल्ने वातावरण सृजना गर्नु वा स्थानीय स्तरमा हाल देखिएको व्यापक विंसगतिलाई पृष्ठपोषण गर्ने खाले व्यक्तिहरू हुनुहुँदैन । यसका लागि राजनीतिक दल तथा संघसंस्थाले पनि ऐक्यबद्धता जनाउन आवश्यक छ ।