“कच्छपाल परवतसँ बिज्याम्ह हे करुणामय…” यही लोकगीत सँगै काठमाडौंको च्वबहा:मा (हाल चोभार) आश्विन शुक्ल पूर्णिमा (कौलाथ्व पुन्ही) देखि कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्ही) सम्म एक महिना लामो मेला लाग्ने गर्छ। च्वबहा: रहेको डाँडालाई कच्छपाल पर्वतको नामले चिनिन्छ र यही डाँडाको सबैभन्दा माथिल्लो भागमा रहेको बहाल भएको कारण त्यस बहाललाई च्वबहा: भनिएको हो।
काठमाडौं उपत्यकामा रहेका ४ प्रमुख करुणामयमध्ये एक मानिने श्री आनन्दादी लोकेश्वर कहाँ एक महिना बिहान सबेरै बाजागाजा सहित दर्शन गर्न जाने र माय् अप्सँ जस्तो कठिन र विशेष व्रत बस्ने प्रचलन रही आएको पाइन्छ । कोज्रागत पूर्णिमालाई दशैं तथा मोहनी नख:को अन्तिम दिन मानिन्छ भने, इन्द्रजात्रा सक्किए लगतै सुरु हुने मालश्री धुनको पनि सोही दिन अन्तिमपल्ट बजाइ विधिवतरूपमा समापन गरिन्छ। भोलिपल्टदेखि अर्को मीठो धनाश्री धुन बजाइन्छ भने यो रागलाई देवजगन रागको नामले पनि चिनिन्छ । कार्तिक महिनाभर शखरखण्ड खाने दिनसम्म बजाइने यो धुन भने मालश्री जस्तो जनमासमा खासै प्रचलित छैन, त्यसैले नेवा: समुदाय भित्र मात्र सीमित रहेको पाइन्छ।
यसैगरी सोही दिनदेखि नेवा: समुदायमा घरको छानामा तथा मन्दिरको अगाडि आलमत: अर्थात् आकाश दीप बाल्ने प्रचलन रहेको छ । काठमाडौं उपत्यकाभर विभिन्न मठ–मन्दिरको अगाडि काठको लामो पोल उठाइ हरेक साँझ बत्ती ननिभ्ने गरी बनाइएको माटोको विशेष पालामा बत्ती बाली डोरीको सहायताले तानेर टुप्पोमा राख्ने गरिन्छ। यसैलाई आलमत अथवा आकाशदीप भन्ने गरिन्छ। घरको छानोमा पनि सानो बाँस वा काठ उठाइ त्यसमा झुन्ड्याएर बत्ती दिने गरिन्छ। आजबाट सुरु हुने आलमत: सकिमना पुन्हिको दिन अन्तिम बत्ती दिई निकालिने गरिन्छ।
कार्तिक महिना श्री नारायणको प्रिय महिना मानिन्छ, त्यसैले यो महिनाभर नै विभिन्न नारायणस्थानहरुमा दर्शन गर्न जाने प्रचलन रहि आएको छ। यही महिनामा चाँगुनारायणमा गरुड भगवानको विशेष पूजा पनि गर्ने गरिन्छ।