नेवा समुदायमा प्रयोग हुने विभिन्न सामानहरु मध्य “क्वे सुकु” पनि एक हो । “क्वे सुकु” नेपाल भाषाका दुई शब्दहरु “क्वे” र “सुकु” मिलेर बनेको हो । “क्वे” भन्नाले हडि हो भने “सुकु” भन्नाले सुकुल भन्ने अर्थ लाग्छ । सरसर्ती हेर्दा हड्डीबाट बनेको सुकुल भनेको जस्तो लाग्छ । तर यसको अर्थ भिन्नै रहेको छ । वास्तवमा यो सामान मृत्यु संस्कारसँग सम्बन्धित रहेको छ । मानिसको देहावसानपछि मृतकको पार्थिव शरीरको दाहासंस्कार गरेपछि अन्तमा दागबत्ती दिने ब्यक्तिले मृतकको पार्थिव शरीरको अस्तु गंगामा बिसर्जन गर्नु पर्ने संस्कार नेवाहरूमा रहेको छ ।
यसरी अस्तु बिसर्जन यसै सामानमा राखेर गरिन्छ । अस्तु बिसर्जन गर्ने भएरै यस सामानको नाम क्वे सुकु भनिएको हो । यो सुकुल विशेष गरी काठमाण्डौ उपत्यकाबाट पूर्वी जिल्लाहरु जस्तै काभ्रे (बनेपा, पनौती, धुलिखेल, पाँचखाल) मा प्रयोग गरिन्छ । काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) मा भने यस सामानको सत्ता पुलुको प्रयोग गरिन्छ । यस क्वे सुकु तयार गर्दा मृतकका परिवारहरूको कर्मकाण्ड गर्दा पाँचदिने (ङान्हुमा) वा सातदिने (न्हेन्हुमा) गर्ने त्यसअनुसार परालको मुठा राख्ने गर्छ । यदि ङान्हुमा कर्मकाण्ड गर्ने हो भने पाँच मुठा पराल हुने गर्छ भने न्हेन्हुमा कर्मकाण्ड गर्ने हो भने सात मुठा पराल हुने गर्छ । तल्लो भाग भने बाटेर समाउने भाग बनाउने गर्दछ ।