मंसिर ७ गते बुढानीलकण्ठ नगरपालिकामा पर्व विदा दिइएको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै बिहीबार मंसिर ७ गते नगरपालिका एवम् अन्तर्गतका कार्यालय र शैक्षिक संस्थाहरूमा पर्व विदा दिइएको बताएको छ । नगरपालिकाले बिदा दिइएकोले नगरपालिकाका सबै सेवा बन्द हुने बताउँदै बिदा हरिबोधनी एकादशी मेला भर्नका लागि दिइएको पनि उल्ल्लेख गरेको छ ।
यसैबीच नगरपालिकाले बुढानीलकण्ठ मन्दिरमा ५ दिन भव्य मेला आयोजना गरिने जनाएको छ । एक पत्रकार सम्मेलन गर्दै नगरपालिकाले बुढानीलकण्ठ मन्दिरको गरिमा एवम् महिमालाइ आत्मसात गर्न मेलाले भूमिका निर्वाह गर्ने बताएको छ । मन्दिर प्राङ्गणमा आयोजित पत्रकार भेलामा मेला आयोजना र यसको उपादयताका बारेमा उपमेयर अनिता लामाले प्रकाशित पारेकी थिइन् । मेला मंसिर ७ देखि ११ गतेसम्म लाग्ने छ । बुढानीलकण्ठमा हरेक वर्ष ५ दिन भव्य मेला लाग्ने गरेको छ ।