भगवान् विष्णुसँग सम्बन्धित संसारकै शक्तिशाली मन्दिरमध्ये एक हो नेपालस्थित बुढानीलकण्ठ मन्दिर । किंबदन्तीलाई आधारमान्ने हो भने उपत्यकामा बस्ती विकासको सुरूवाततिर भेटिएको यो मन्दिर विशाल प्रस्तरमा खोपिएको जलाशयी भगवान नारायणको मुर्ति हो । हिन्दूका साथै बौद्ध धर्मावलम्वीको पनि समान आस्थाको केन्द्रबिन्दु रहेको बुढानीलकण्ठ मन्दिरको स्वरूप काठमाडौँका धेरै देवालयझैँ बस्ती भित्रको मन्दिरका रूपमा रहेको छ ।
काठमाडौँको उत्तर भेक शिवपुरीको फेदीमा रहेको मन्दिरको ऐतिहासिकता, प्राचीनता जति बैभबशाली रहे पनि व्यवस्थापकीय असक्षमताका कारण यस मन्दिरको महत्वबारे चौतर्फि प्रचार हुन सकेको छैन । एकातिर पशुपतिनाथ, बौद्धनाथ मन्दिरको ख्यातीलाई बढि प्राथमिकता दिँदा बुढानीलकण्ठजस्ता कतिपय अति प्राचीन मन्दिर महत्वको विशालताभित्र परेन भने अर्कोतिर व्यवस्थापकीय भूमिकामा रहेका पक्षहरूको अकर्मण्यताले मन्दिरको वातावरण बेलाबेला बिथोलिएको देखिन्छ ।
०४५ सालमा तत्कालिन राजा बिरेन्द्रले बस्तीभित्र साँघुरोरूपमा रहेको मन्दिरलाई फराकिलो बनाउन त्यहाँको बस्ती हटाउन प्रयास गरेको भए पनि त्यसयता मन्दिरको व्यवस्थापनमा खासै महत्वपूणर् काम भएको देखिदैन । यद्यपि पछिल्ला वर्षमा मन्दिर परिसरमा एकाध ठूला घर भने बढेका छन् । यी घरका महत्व र औचित्यको एकातिर प्रश्न छ भने अर्कोतिर ठूला घर बढाउने क्रम जारी छ ।
जलाशयी भगवान् विष्णुको यस मन्दिरमा १४ वर्षमुनीका बटुकहरू पुजारी रहन्छन् भने गुठी संस्थान तथा व्यवस्थापन समितिले यसको हेरचाह गर्ने नियम छ । गुठी संस्थानले पठाउने प्रतिनिधि मन्दिरका मठाधीश कहलाउने गरेका छन् । मठाधीश हुनकै लागि भने केही नियम हुने गरेका छ । यस मन्दिरमा गुठी संस्थानका तर्फबाट मठाधीश भएर आउन थालेको धेरै लामो इतिहास भने छैन । हाल बुढानीलकण्ठ मन्दिरमा ओखलढुंगा निवासी निगमानन्द नामका व्यक्ति मठाधीश छन् ।
मन्दिरभित्र पछिल्ला दिनमा गुठी संस्थानको कर्मचारीका रूपमा रहेका मठाधीशको दादागिरिपूर्ण कार्य बढेको देखिन्छ । मन्दिर तथा आसपासमा उनले जे भन्यो त्यही हुनेमात्र हैन गुठी संस्थानको खरिदार पदका मठाधिशले आफूलाई बाबा वा गुरूकै अवतारका रूपमा व्याख्या गर्दा मन्दिरको महत्व कमजोर हुन गएको छ । गेरूवा बस्त्रधारण गरेर निगमानन्द मानिसहरूलाई आशीर्वाद बाँडिरहेको देख्न पाइन्छ । मन्दिरका मठाधीशका नाममा आफूलाई महाराज भनाउँने उनीसँग् आशीर्वाद लिन जानेहरू पनि बढेको देख्न सकिन्छ ।
बुढानीलकण्ठ मन्दिरलाई हातले प्रणाम गरेर मन्दिरभन्दा भव्य मठाधीश भवनमा विराजमान मठाधीश निगमानन्दकहाँ पुगेर “महाराज” वा “गुरू” भन्दै आशीर्वाद लिने तथा दूध पिएर आउने कर्म पछिल्लो समयमा बढेको छ । मन्दिरको नियममानुसार पूजा वा टीका कर्मसँग मठाधीशको कुनै भूमिका र महत्व हुँदैन । तर निगमानन्द मठाधीश भएपछि यहाँ टीका कर्मसँग आफै जोडिएको देखिन्छ । आजभोलि मानिसहरू बुढानीलकण्ठ मन्दिरमा लामबद्ध भएर दर्शन नगरी एकहातले ढोगेर मठाधीश कहाँ दूईहात जोड्न पुग्ने गरेका छन् । निगमानन्दले पछिल्ला डेढ दशकमा गरेको प्रगतिको विवरण यही हो ।
बुढानीलकण्ठ मन्दिरमा मठाधीश पुजारी हैनन्
पशुपतिनाथजस्ता कतिपय मठ मन्दिरका महन्थ वा मठाधीश भन्नाले त्यहाँको पूजारी नै हुने गर्छन् । तर बुढानीलकण्ठ मन्दिरमा मठाधीश मन्दिरको कर्म गर्न योग्य मानिदैन । यहाँ बटुकहरूले पूजाआजाका कर्म गर्ने गर्छन् । मठाधीश गुठी संस्थानले पठाएको कर्माचारीका रूपमा मात्र रहन्छन् । उनको काम गुठी संस्थानको नीति नियममा रहेर मन्दिरको संरक्षण तथा व्यवस्थापनमा अरू पक्ष एवम् सबैसँग समन्वय गर्नु हो । गुठी संस्थानले उसलाई जतिखेर पनि सरूवा गर्न सक्छ । तर बुढानीलकण्ठ मन्दिरमा हुने बिभिन्न खाले पूजापश्चात पूजाकर्ता वा सर्वसामान्यले मठाधीश निगमानन्दको कक्षमा पुगेर लामबद्ध भएर हात जोडेर टीका प्रसाद लगाउने चलन बनाइएको छ ।
मठाधीशका लागि निजी गाडी
गुठी संस्थानले पठाएको खरदार तहका कर्मचारीका रूपमा मठाधीशले गर्ने कार्यहरूको व्याख्या रहेको छ । गुठी संस्थानले व्याख्या गरे अनुसार उसले मन्दिरको संरक्षणमा गुठी संस्थानको तर्फबाट कर्मचारीका रूपमा काम गर्नेछ । तर बुढानीलकण्ठमा भने निगमानन्दको प्रभावशाली हैकम चलिरहेको देखिन्छ । मन्दिर व्यवस्थापन समितिमार्फत उनले ५० लाख पर्ने गाडी खरिद गरेका छन् । उनलाई घुमफिर गर्नका लागि यो गाडी खरिद गरिएको हो । गाडीको सुरक्षित तथा सुबिधासम्पन्न ग्यारेज पनि बनाइएको छ । मठाधीशको गाडी रहेको ठाउँ बाहिर अरूले गाडी पार्किङ गर्नसमेत पाउँदैनन् ।
मठाधीशको शक्ति केन्द्र कनेक्सन
निगमानन्द शक्तिका पुजारीका रूपमा देखिन्छन् । गेरूवावस्त्रमा उनको प्रहरी, आर्मी तथा राजनीतिक दलका उपल्लो नेताहरूलाई आशीर्वाद दिने वा टीका लगाइदिने गरेको पाइन्छ । उनलाई भारतीय दुतावास निकट भनेर चर्चा गरिन्छ । मठाधीश भवन भनेर बनाइएको भव्य भवन उनको निजी पहुँचमा भारतीय दुतावासमार्फतको पैसाबाट बनेको बताइन्छ भारतीय राजदुतले नै उद्घाटन गरेको यो भवन भारत सरकारको सहयोगमै बनेको हो ।
हालै मन्दिर प्राङ्गणमा अर्को ठूलो भवन बनेको छ । करिब ८ करोड रकमको यो भवन धर्मशाला भनेर बनाइएको हो । यो धर्मशालाको उद्घाटन उपराष्ट्रपतिले गरेका हुन् । मन्दिर परिसरमै होटेल स्वरूपको धर्मशाला नबनाउन केही झिनो आवाज उठे पनि त्यसलाई पन्छ्याएर भारतीय सरकारको बजेटमा नयाँ भवन बनेको हो । यो भवन पनि निगमानन्दको भारतीय दुतावाससँगको उठबसकै परिणाम हो भनिने गरिन्छ । निगमानन्दका अन्धभक्तहरू यो कुराको पुष्टि मन्दिर नजिकैका चियापसलमा चिया पिउँदै बताइरहेको भेटिन्छन् । भारतीय दुतावास निकट तथा शक्तिकेन्द्र परिचालन गर्ने व्यक्ति भनेर स्थानीयवासी निगमानन्दसँग डराउने गरेको देखिन्छ ।
कसैलाई टेर्दैनन् निगमानन्द
निगमानन्दको स्वभाव कसैलाई नटेर्ने तथा अरूलाई मान्छे नगन्ने खालको देखिन्छ। उनलाई चित्त बुझेन भने अश्लील गाली निकालीहाल्ने भुक्तभोगीहरू बताउँछन् । उनको कुरालाई हो मा हो गर्नेबाहेक अरूलाई पर्यो भने हात नै उठाउन पनि उनी पछि नहट्ने कुरा दिनहुँ मन्दिर जानेहरूले सहजै अनुभूति गर्न सक्छन् । मन्दिर व्यवस्थापन समिति भन्ने एक समितिलाई निगमानन्दले आफ्नो कारिन्दा समुहझैँ बनाएको देखिन्छ । निगमानन्दले स्थानीय निकाय बुढानिलकण्ठ नगरपालिका र वडा कार्यालयलाई पनि मान्यता नदिएको देखिन्छ । मन्दिर व्यवस्थापन तथा बिभिन्न विषयमा नगरपालिकाले बोलाएका बैठकमा उनी उपस्थित हुँदैनन् । उनकै मठाधीश भवनको कक्षमा मेयरलगायत सबै आउनु पर्ने उनको अभिमत रहने गरेको देखिन्छ ।
स्थानीय राजनीतिक कार्यकर्तासँग राम्रो सम्बन्ध
निगमानन्दले स्थानीय राजनीतिक दलका कार्यकर्तालाई हात लिएको देखिन्छ । बुढानीलकण्ठ मन्दिर आसपासका सबै राजनीतिक दलका कतिपय कार्यकर्तालाई उनले भक्त बनाएका छन् । जसका कारण चुनाव वा अन्य अवसरमा नेताहरू निगमानन्दकोमा पुग्ने वातावरण बन्ने गर्छ ।
एमाले नेता इश्वर पोखरेलदेखि कांग्रेस नेता गगन थापासम्म बेलाबखत निगमानन्दको समीपमा टीका तथा दूध ग्रहण गरेको तस्वीर सार्वजनिक हुने गरेको छ । स्थानीय राजनीतिक दलका कार्यकर्ताले महाराज भनेर सम्बोधन गर्दै नेताहरूलाई आशीर्वाद् लिनै पर्ने भन्ने गरेको देखिन्छ । नेतादेखि प्रशासनिक तथा अन्य क्षेत्रका अगुवा उनको कार्यकक्षमा आएर टीका ग्रहण गरेका तस्वीर राजनीतिक दलका कार्यकर्तामार्फत सार्वजनिक गराउने गरेका छन् ।
काम, क्रोध, लोभ, मोहग्रस्त निगमानन्द
बुढानीलकण्ठ मन्दिरका मठाधीश निगमानन्दको निजी जीवनतिर विचरण गर्दा उनी विवाहित परिवार तथा सन्तान भएका व्यक्ति हुन् । आफ्नो निजी प्रयोगका लागि गाडीको सुबिधासमेत लिएका उनमा स्वामी आचरण नभएको गुनासो सहजै गर्न सकिन्छ । उनी अत्यन्तै क्रोधित चरित्र भएको सबैले अनुभूति गरिसकेका छन् भने मोहग्रस्त हुन् भनेर निजी गाडी नै राख्नुले सहजै अनुमान गर्न सकिन्छ ।
निगमानन्दालाई आलोचना गर्नेहरूले ‘काम’ पक्ष पनि उठाउने गरेका छन् । उनको चरित्रप्रति आपत्ति जनाउनेहरू पनि भेटिन्छन् । कुनै यथेष्ट प्रमाण नभए पनि मन्दिर प्राङ्गणमा उनका आँखाले बोल्ने भाकाहरूले धेरै कुरा अनुमान गर्न सकिन्छ । युवा उमेरमै रहेका निगमानन्दको सामाजिक सन्जालअन्तर्गत फेशबुक पेज भेट्न सकिन्छ । जसमा उनका कुनै पनि धार्मिक वा आध्यात्मिक पक्ष भेट्न सकिदैन । एउटा पोस्टमा भगवद्गीताको एउटा अंश र पूर्व प्रधानमन्त्री सुशील कोइरालासँगको तस्विरबाहेक उनले फेशबुक पेजमा आफ्नो फोटोहरू मात्र पोष्ट गरेका छन् ।