काठमाडौं। विश्वका अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री पसल संचालनमा छन्। विमानस्थलमा ओहोरदोहोर गर्ने यात्रुले भन्साररहित वस्तु किन्न पाउँछन्।कर छुट हुने भएकाले महँगा सामान किन्न यात्रुको भिड लाग्ने गर्छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने त्यो सेवा १५ वर्षदेखि बन्द छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले १५ वर्षपछि पुनः ड्युटी फ्री पसल सञ्चालनमा ल्याउने भएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फको पहिलो तल्लामा रहेको २६.११ वर्गमिटर र आवागमनतर्फ अध्यागमन नजिकै ७५.८ वर्गमिटर क्षेत्रफलमा ड्युटी फ्री पसल सञ्चालनमा ल्याउन टेण्डर आह्वान गरेको छ।
पर्यटन मन्त्रालयले गत वर्ष साउनमा पर्यटन क्षेत्र पुनरुत्थानका लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री पसल राख्ने बताएको थियो। मन्त्रालयले अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा ड्युटी फ्री पसलको व्यवस्था गर्ने र पसलमा नेपाली हस्तकला तथा नेपाली उत्पादनका लिक्विर (मदिरा) बिक्री गर्ने व्यवस्था मिलाउने भनेको थियो। त्यही आधारमा प्राधिकरणले पसल सञ्चालनमा ल्याउन सोमबार टेण्डर आह्वान गरेको हो।
टेण्डरमा भाग लिन चाहने व्यावसायिक फर्म तथा कम्पनीलाई ३० दिनको समय दिइएको छ। टेण्डरबाट छनोट हुने कम्पनीलाई ५ वर्षका लागि पसल सञ्चालनको ठेक्का दिने प्राधिकरणका अधिकारीहरुले बताएका छन्। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानस्थलमा ड्युटी फ्री पसल आवश्यक रहेको निष्कर्षमा सञ्चालनका लागि टेण्डर आह्वान गरिएको जानकारी दिए। ‘प्राधिकरणको आय बढाउनका लागि ड्युटी फ्री पसल सञ्चालन गर्न लागेका हौं,’ उनले भने, ‘सरकारले अनुमति दिए मदिरा पनि बिक्री गरिनेछ।’
स्रोतका अनुसार टेण्डर आह्वानसँगै मदिरा बिक्रीका विषयमा प्राधिकरणले अब अर्थ मन्त्रालयसँग छलफल गर्नेछ। ‘विदेशी आउँदा सोभेनियरको रुपमा पनि मदिरा लैजान खोज्छ। विदेशी नभए पनि स्वदेशी मदिरा राख्ने हिसाबले छलफल अगाडि बढाउने योजनामा छौं,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यसले हाम्रो उत्पादनको समेत प्रवर्धनमा सहयोग पुग्छ।’
डा. बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा २०६५ सालमा ड्युटी फ्री पसल सञ्चालनमा रोक लगाएका थिए। त्यतिबेला मदिरा र खाद्य वस्तु एकै ठाउँबाट बिक्री गर्न नपाउने व्यवस्था उनले लागू गरेका थिए। ड्युटी फ्री पसल बजेटमा गरिएको व्यवस्थाअनुसार बन्द गरिएको थियो। हाल अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले अधिकतम १ लिटर मदिरा ल्याउँदा भन्सार तिर्नुपर्दैन।
कस्ता सामग्री पाइन्छन् ड्युटी फ्री पसलमा?
ड्युटी फ्री सप अर्थात करमुक्त पसलमा हवाई यात्रुले अन्तर्राष्ट्रियस्तरको प्रिमियम ब्राण्डका सामान खरिद गर्न सक्छन्। यी सामान कर नलाग्ने भएकाले सस्ता हुन्छन्। अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि यो सुविधा विशेष मानिन्छ छ। विश्वका अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलका ड्युटी फ्री पसलमा यात्रुले मदिरा, सुर्तीजन्य पदार्थ, अत्तर, कन्फेक्सनरी, विलाशी श्रृङ्गारिक सामान, विद्युतीय उपकरण लगायत खरिद गर्न पाउने व्यवस्था छ।