हुन त अचेल नौलखा हारको अर्थ नौ लाख मुल्य पर्ने हार नै हुन्छ तसर्थ अचेल जो कोहीले पनि बनाउन सक्दछन् । तर जुन बेला यो नौलखा हारको नाम रहन गयो त्यो बेला भने यो बहुमुल्य थियो । जो कोहीको लागि किन्न वा बनाउन सम्भव थिएन । करिव २०० वर्ष अगाडि नौ लाख मुल्यको यो हार जङ्गबहादुरको समयमा नै करिव ९० लाखको थियो । तसर्थ अहिलेको तुलना गर्ने हो भने अनुमान नै गर्न सक्दैनौ । यो अरबौं रुपैया पर्न सक्छ ।
१७औं शताव्दीमा मराठा राज्यमा पेशवाहरु खानदानी प्रधानमन्त्री थिए । त्यतिबेला प्रधानमन्त्रीलाई पेशवा भनिन्थ्यो । र खानदानी रुपमा प्रधानमन्त्री हुँदै आए पछि पेशवा नै थरका रुपमा नै राख्न थाले । बालाजी विश्वनाथ मराठा राज्यमा सन १७२० मा पेशवा बनेका थिए । यस पछि उनकै सन्तती पेशवाका रुपमा रहन थाले । उनकै सन्तती बाजीराव द्वितीय बाल्यकालमा नै पेशवा बनाइएका थिए । बाजीराव द्वितीय निसन्तान थिए ।
बाजीरावको समयमा अंग्रेजले उनको जागीर मात्र होइन मराठा राज्यको अस्तित्व नै समाप्त पारिदियो । तर पनि बाजीरावलाई मृत्युसम्म मासिक ८० हजार पेन्सन दिइरहे । तर अंग्रेजले धर्मपुत्रका हकमा यो नियम लागु गर्न चाहेन । नानासाहेवलाई भने बाजीरावले मराठा राज्यबाट निष्काशन भइसकेपछि मात्र पालेको धर्मपुत्र हुँदा उनलाई पेशवा मानेन । तर नानासाहेव आफै तथा रानी लक्ष्मीबाई तथा तात्या टोपेले पेशवाको रुपमा नायक बनाएर १८५७ मा कानपुरमा अंग्रेज बिरुद्ध युद्ध लडे । यसमा अंग्रेजसंग हार भएपछि सबै भागाभाग भए ।
नानासाहेवको बाल्यकालको नाम भने धोन्दु पन्त थियो । अंग्रेजहरुले भारतमा आफ्नो बिस्तार गर्न थालिसकेका थिए । साना साना राज्यहरु माथि आक्रमण गर्दै अंग्रेजले आफ्नो प्रभुत्व कायम गर्दै थिए । यसै क्रममा बाजीराव द्वितिय पेशवा हुने समयमा नै मराठा राज्यमा अंग्रेजले आक्रमण गरे पछि बाजीराव द्वितिय भागेर अर्कै राज्यमा शरण लिन पुगेका थिए । यहिँ नै नानासाहेवलाई धर्मपुत्रका रुपमा आफूसंग राखेका थिए । राज्य नभए पनि अंग्रेजले बाजीराव द्वितियलाई पेन्सन उपलब्ध गराउँदै आएका थिए । सन १८५१ मा बाजीरावको निधन भयो । यिनै बाजीरावको नाममा उनकै जीवनमा आधारित एउटा फिल्मले निकै चर्चा पायो, बाजीराव मस्तानी । बाजीरावको निधन पछि उनका धर्मपुत्र नानासाहेवले आफैलाई बिना राज्यको पेशवा घोषणा गरे । अंग्रेजले उनलाई पेशवाले पाउने पेन्सन दिन अस्विकार गरे । किनकी नानासाहेव पुश्तैनी पेशवा परिवारमा जन्म लिएका थिएनन् । यहिँ कारणले नानासाहेव अंग्रेज विरुद्ध युद्धको तैयारीमा लागे ।
अंग्रेजबाट पेन्सन नपाए पछि नानासाहेव अंग्रेज बिरुद्ध हतियार उठाउन थाले । सन १८५७ मा भएको अंग्रेज बिरुद्धको कानपुर बिद्रोहमा तात्या टोपेको साथ लिएर नानाले नेतृत्व लिएका थिए । अंग्रेजले यो आन्दोलनलाई नराम्रोसंग दवाए पछि भागेका नानासाहेव लामो समय सम्म हराए । अंग्रेज सरकारले उनको खोजि निकै गर्यो । उनको शिरको मुल्य अंग्रेजले त्यो समय नै एक लाख राखेको थियो । उसलाई जिउँदो वा मृत शरिर लिएर आउनेका लागि एक लाखको पुरस्कार तोकिएको थियो । तसर्थ फकिर भएर गुमनाम लुकिछिपि हिड्न थालेको थियो । सन १८५९ (बिसं १९१५ फागुन २१) को शिवरात्रीमा पशुपति दर्शका लागि हिडेका योगीहरुको भिडमा छद्म भेषमा नानाका परिवार तथा सयौ सिपाही नेपाल सिमामा प्रवेश गरे ।
यसरी नेपाल सिमा प्रवेश गरेका नानासाहेवले अचानक तत्कालिन श्री ३ जङ्गबहादुरलाई शरणका लागि अनुरोध गरे । जङ्गबहादुरले नाना तथा उनको साथ आउने सबैका लागि पहिरन तथा नेपाल प्रवेश गर्ने समय पनि तोकिदिएका थिए । सबैलाई सन्यासीको पहिरनमा आउन तथा शिवरात्रीको लागि नेपाल प्रवेश गर्ने हजारौ सन्यासी योगीहरुको भिडमा नेपाल प्रवेश गर्न सुझाएका थिए । जस अनुसार सन्यासीको रुपमा त्रिवेणी पुगेका उनले परिवार र परिचारिका सहित नेपाल सरकार समक्ष शरण मागे ।
सन १८५७ को लखनउ विद्रोह दवाउन जङ्गबहादुर स्वयं अंग्रेजलाई सहयोग गर्न पुगेका हुनाले पनि १८५७ कै कानपुर विद्रोहका नायकलाई शरण दिन निकै अप्ठेरो परेको थियो । शुरुमा शरण दिन अस्विकार गरे । तर नानाको साथमा आएको त्यो भिडमा अवधका बेगम हजरत महल तथा उनका छोरा र केही सहयोगीहरु पनि थिए । जङ्गले नानाका साथ आएका महिलाहरुलाई मात्र शरण दिन सक्ने जानकारी पठाए । जङ्गले चाहेको भए नानासाहेवलाई अंग्रेजलाई बुझाएर लाख पुरस्कार र अंग्रेजबाट अन्य सहयोग पनि पाउन सक्थे । तर उनले अंग्रेजलाई त्यो सहयोग नगरेर ढाँटे । यसको बदलामा नानासाहेवबाट लाखौ मुल्यका जवाहरातहरु लिए । यसरी शरणको स्विकार गर्नु अगाडि बेगम हजरत महल तथा नानाका रानीहरुले धेरै जवाहरात जङ्गलाई उपहारमा दिएका थिए ।
कसैले दिएको उपहार स्वीकार गरि ती उपहार दिनेको चाहना पुरा गर्नुलाई आजको भाषामा घुस लिने भनिन्छ । तसर्थ जङ्गले त्यतिबेला घुस स्विकार गरेका थिए । यसको साथै नानाका दाजुभाइलाई सुरक्षित राख्न पनि श्री ३ ले थुप्रै जवाहरात स्वीकार गरेका थिए । सक्कली नक्कली तथा मुल्य थाहा पाइ बिक्री समेत गर्नका लागि जङ्गले दिल्लीबाट जवाहरात ब्यापारीलाई समेत नेपाल बोलाएका थिए । त्यसबेला नानाको परिवार तथा हजरत महलबाट पाएको जवाहरात ति ब्यापारीलाई बिक्री गरेका थिए । त्यसबेला जङ्गले बहुमुल्य नौलखा हार, पन्नाको ३ इन्च लामो नानासाहेवको सिल तथा अंगुरको झुप्पा भन्दा ठूलो पन्नाको झुप्पा भने बिक्री गरेनन् । जुन आफैसंग राखे । जङ्गले नानाको परिवारका खर्चका लागि सालाना ६-७ हजार कर उठ्ने दुइ गाउँ पनि दिएका थिए ।
पेशवा खानदानको खानदानी गहना थियो नौलखा हार । शुरुमा बाजीराव प्रथमले हीरा मोती तथा पन्ना जडित बहुमुल्य हार बनाउन लगाएका थिए । पेशवाका रुपमा यो हार गलामा लगाएर दरवार पुग्दथे । उनको मृत्युपछि जो जो पेशवा बने । उनले यो नौलखा हार पनि जागीरसंगै पाउँदै गए । हरेक नयाँ पेशवाले यस हारमा जवाहरात थप्दै गएका थिए । जसले गर्दा यसको मुल्य अझै बढ्दै गयो । नानासाहेवको समयमा आइपुग्दा यो हारको मुल्य करिव ९० लाख पुगिसकेको थियो ।
सन १८५७ को विद्रोहमा रानी लक्ष्मीबाई तथा भारतीय प्रथम स्वतन्त्रता सेनानी तात्या टोपेलाई आफ्नो साथ लिएर अंग्रेज बिरुद्ध लडेका नानासाहेव भने कानपुरमा अंग्रेजको बिजयसंगै हराए । उनका साथ लडेका तात्या टोपे अंग्रेज द्वारा समाइएपछि फाँसीको सजायँ भयो । यसरी अंग्रेजले समाएमा मृत्यु दण्ड पाउन सक्ने हुँदा नानासाहेव पेशवा गोप्य रुपमा कानपुरबाट भागेर नेपाल पुगेका थिए । यता नानासाहेव कानपुरबाट भागेर नेपालको त्रिवेणी हुँदै आउँदै गरेको खबर जङ्गबहादुरले पाए पछि आफ्ना कान्छो भाइ कृष्णबहादुर राणा तथा बिशेष दूतका रुपमा केदार नरसिंह राणालाई लिन पठाएका थिए ।
अंग्रेजको सहयोगमा सन १८५७ को लखनउ विद्रोह दवाउन स्वयं ८००० गोर्खाली सैनिक लिएर गएका जङ्गबहादुरलाई त्यहि १८५७ को कानपुर विद्रोहका नायकलाई स्वागत गर्न तथा शरण दिन जङ्गबहादुरले कान्छो भाइ कृष्णबहादुर राणालाई पठाए । नानासाहेव जब नेपाल प्रवेश गरे, उनको साथ उनकी बिधवा धर्म आमा सरस्वती बाई, नानाको रानी कृष्णा बाई र काशी बाई, काम गर्ने सेविका सुन्द्रा बाई (उनलाई काकु बाई पनि भनिन्थ्यो), भाइ बाला राव, तात्या टोपे, सेक्रेटरी अजिमुल्ला खान, बाबा गोडबोले, झन्नु सिंह, परशुराम जगमल तथा अन्य केही नौकर आएका थिए । तर अंग्रेजहरु बिच एउटा हल्ला फैलिएको थियो, यिनिहरुका साथ केही अंग्रेजहरु पनि थिए । तर पछि त्यहा रहेका सरकारी कर्मचारी नरसिंह पाध्याले सैनिक अफिसर सिद्दिमान सिंह राजभण्डारीलाई अंग्रेज महिलाहरुको भने हत्या भइसकेको समाचार पठाएका थिए ।
शरण माग्न ठूलै समुह आए पनि जङ्गबहादुरले अन्तत महिला तथा परिचारिकाहरुलाई मात्र शरण दिन सक्ने जानकारी दिए । उनले सिद्धिमान सिंहलाई खबर पठाए, “नानासाहेव र बालासाहेवलाई भनिदिनु, म उनिहरुलाई शरण दिएर अंग्रेजसंगको सम्बन्ध बिगार्न चाहन्न” । यसरी खुला रुपले नानासाहेव र बालासाहेवलाई शरण नदिने भनिए पछि उनलाई छोड्न आएका अन्य सबै फर्किए तर सेक्रेटरी अजिमुल्ला खानका साथ नानासाहेव र बालासाहेव भने गएनन् नेपालमा नै रहे ।
नानासाहेवले आफू ठूलो समुहका साथ आएको हुँदा खर्चको अभाव रहेको जानकारी दिदै आफूसंग रहेको नौलखा हार बेच्ने मनसाय सिद्धिमान सिंह मार्फत गरेका थिए । पछि जङ्गबहादुरले नगद ९३ हजार रुपैया मात्र दिन चाहेको जानकारी पाए पछि केही समय दोधारमा परेका थिए । तर आफ्नो खाँचो ठूलो भएको र त्यति धेरै रकम अरुले दिन नसक्ने सम्झि उनले सो नब्बे लाख भन्दा बढी पर्ने नौलखा हार जङ्गबहादुरलाई केवल ९३ हजार रुपैयामा नै दिएका थिए । नानासाहेवले आफ्नो लाहा छापको लागि बनाएको ३ इन्च लामो पन्ना पनि जङ्गबहादुरलाई नै दिए । यस बहुमुल्य हारलाई शिरोमणी हार भनिन्थ्यो । जसमा एकातर्फ नानासाहेवको छापको रुपमा नानाको घोडा चढेको आकृति कुँडिएको थियो । यसको साथै श्री ३ को श्रीपेचमा अंगुरका झुप्पा झै झुन्ड्याइएको पन्नाहरु पनि नानासाहेवले नै दिएका थिए ।
नानासाहेवले नेपालमा ल्याएका जवाहरातको सूची जुन सिद्धिमान सिंहले जङ्गबहादुरलाई पठाएका थिए । त्यसमा ४८ वटा मोती र २४ वटा पन्ना भएको नेकलेस तथा २ इन्च चौडा र ३ इन्च लामो हिरा पनि थियो । नेकलेसको बिचमा करिव आधा इन्चको चौकोर हिरा जडेको थियो जसको चारैतिर ३४ वटा साना साना हिरा जडित थियो । साथै साढे ३ इन्च लामो र २ इन्च चौडा अर्को एक हिरा जसको चारैतिर ३१ साना हिरा जडित थियो त्यो पनि दिइएको थियो । अर्को एक इन्च चतुराकारको हिरा पनि थियो । यि सबै हिरा जवाहरातहरु नानासाहेवले नेपालमा शरण पाउनका लागि जङ्गबहादुरलाई घुसका रुपमा दिएका थिए ।
भारतमा रहेको अंग्रेज सरकारको बिरोधका कारण जङ्गबहादुरले बाहिर देखिने गरि नानासाहेवको बिधवा धर्म आमा, दुइ रानी तथा तथा अन्य परिचारिका महिलाहरुलाई काठमाडौमा आउन अनुमति दिए तर नानासाहेवलाई भने काठमाडौ आउन दिएनन् । तर भित्र भित्र गोप्य रुपमा नानासाहेव नेपाल भित्र नै रहन छुट दिए । थापाथली दरवार नजिकै एक घर भाडामा लिएर शरणागत महिलाहरुलाई बस्ने प्रबन्ध मिलाए । साथै सो घरको भाडा बापत मासिक ४०० रुपैया पनि जङ्गबहादुरले नै ब्यबस्था गरिदिएका थिए । लखनउ विद्रोहमा पकडाउ परेका बेगम हजरत महल, नवाव बिरजिस कद्रका साथ नानासाहेवसंग आएका उनका आमा, दुइ रानी तथा परिचारिकालाई जङ्गबहादुरले शरण दिए ।
नानासाहेवको परिवार तथा बेगम हजरत महललाई पनि थापाथली नजिकै बस्ने ब्यबस्था मिलाइदिएका थिए । नानासाहेव र बालारावलाई अंग्रेजले सुम्पन जङ्गबहादुर समक्ष आग्रह गरे । तर जङ्गले यी दुइलाई अंग्रेज सरकार सामु सुम्पनु भन्दा सुरक्षित लुकाउन मद्दत गरे ।
नानासाहेव, बालासाहेव तथा अजिमुल्ला खान भने गोप्य रुपमा योगीको भेषमा नेपालमा नै रहे । समय समयमा थापाथली आएर धर्म आमा तथा रानीहरुलाई भेट्दथे तर जङ्गले थाहा नपाए झै गरिरहन्थे । नानाको कान्छी रानी काशी बाई भर्खर कि थिइन् । २४ वर्षकी काशी बाईका कारण पनि जङ्गले आफ्नो दरवार नजिकै नानासाहेवको परिवारका लागि घर खोजिदिएका थिए । नानासाहेवको मृत्यु भइसकेको भए पनि काशी बाईले बिधवा स्वरुपमा बसेनन् । कतै कतै काशी बाईलाई नानाको भाइ बाला रावको रानी पनि भन्ने लेखिएको छ ।
नानासाहेवबाट बिभिन्न जवाहरातहरु घुस बापत पाएको हुँदा जङ्गबहादुरले नानासाहेवलाई सुरक्षित राख्ने ब्यबस्था गोप्य रुपमा मिलाइ दिएका थिए । शुरुमा अंग्रेजबाट उपहारमा पाएको चार जिल्लाको नयाँ नेपालमा नै लुकाइ राखेका थिए । पछि अंग्रेजका दूतहरु समय समयमा बाँके आइरहने तथा जङ्गले बाँकेमा नयाँ शहरका रुपमा नेपालगञ्ज बनाउन लागेका हुँदा पनि त्यहाँ लुकाएर राख्न उचित नठानी दाङमा पठाउने सोच बनाएका थिए । त्यसको लागि आफ्नो विश्वासपात्र सिद्धिमानसिंह राजभण्डारीलाई दाङको बडाहाकिम बनाइ पठाए । त्यहि नानासाहेवलाई पनि गोप्य रुपमा बस्ने सिद्धिमानसिंहले नै ब्यबस्था मिलाइदिएका थिए । नानासाहेवले गोप्य रुपमा ३०० सिपाहीहरुलाई सुरक्षाका लागि पनि राखेका थिए ।
नाना तथा ती सबै सिपाहीहरु सन्यासीका रुपमा बसेका थिए । नानासाहेवका साथै उनका भाइ बाला राव पनि नेपालमा रहेको जानकारी गोप्य रुपमा अंग्रेजलाई थियो । तर जङ्गबहादुरले दाङको भित्री क्षेत्रमा गोप्य रुपमा सुरक्षित बस्न दिएका थिए । बि.सं. १९१६ को जेठ (सन १८५९ जुन) मा दाङबाट सरदार सिद्धिमान सिंहले जङ्गबहादुरलाई पत्र लेखेर नानासाहेवको भाइ बाला रावले आफ्नो परिवारलाई जङ्गबहादुरको शरणमा छोडेर जाने चाहेको कुरा लेखे । तर जङ्गले अस्वीकार गरे । यसको केही समय पछि बाला रावको पश्चिम नेपालमा रहेको समय देहान्त भयो ।
त्यति बेला नै जङ्गबहादुरले नानासाहेवको जङ्गलमा शिकारको क्रममा बाघको आक्रमणबाट मृत्यु भएको समाचार फैलाइयो । तर वास्तविकता कसैलाई पनि ज्ञात रहेन । बिधवा आमाले कृयाकर्म गर्न खर्च नभएको भन्दै केही गहना १० हजार रुपैयामा बेचे । बि.सं. १९१६ कार्तिक २१ गते जङ्गबहादुरको सहयोगमा निधारको एक हड्डी जो नानासाहेवको हो भनिएको थियो, लाई चितामा राखेर अत्येष्टी गरियो ।
उता नानासाहेवको मृत्यु भएको भनि अन्त्येष्टी समेत गरियो । तर काशी बाईले रातो साडी र निधार भरि टीका लगाउन तथा रातो चुरा लगाउन छोडेनन् । अर्को तर्फ यो पनि हल्ला थियो कि जङ्गले काशी बाईलाई गोप्य रुपमा पत्नी बनाएकी थिइन् । उनको घरमा जङ्ग बाहेक कसैलाई जाने अनुमति नै थिएन । काशी बाईको घर, बेगम हजरत महलको घर तथा पञ्जावकेशरी महाराजा रञ्जित सिंहकी बिधवा जिंद कौर बस्ने घर नजिक नजिक नै थियो । इ.सं. १८६० मे ७ मा थापाथली दरवार नजिकै बसिरहेका बेगम हजरत महल, काशी बाई तथा कृष्णा बाईले जङ्गबहादुरलाई किस्तीहरु भरि भरि सुन, हिरा, मोती तथा पन्ना इत्यादी जवाहरातहरु नजराना चढाएका थिए ।
सन १८६१ फेब्रुवरीमा जिंद कौर कलकत्तामा आफ्नो छोरालाई भेट्न फर्के पछि जिंद कौर बस्ने थापाथलीको घर काशी बाईलाई जङ्गबहादुरले दिएका थिए । बेगम हजरत महललाई पनि थापाथली दरवार नजिकै नै बस्ने घर बनाइदिएका थिए । जुन घरलाई बरफ बाग भनिएको थियो । सन १८७३ मा हजरत महलको निधन भए पछि घन्टाघर नजिकै रहेको जामा मस्जिदमा कब्र बनाएर गाडियो । उनको महल बरफ बाग भने जङ्गको थापाथली दरवार भित्र नै समाहित भयो । छोरा नवाव बिरजिस कद्रलाई रानी भिक्टोरियाले क्षमा दिए पछि फर्केर कलकत्ता गए जहाँ उनको आफन्तबाट नै हत्या भयो ।
यता जङ्गबहादुर, नानासाहेवको मृत्युको झुठो समाचार प्रमाणित गर्न बिस्तारै सक्षम हुदै गए । नेपालमा रहेको बेलायती रेसिडेन्ट ले.क. जर्ज रामसेले बेलायत सरकारलाई पत्र लेखेर नानासाहेवको मृत्यु भएको समाचार पठाए । यसरी सरकारी रुपमा नानासाहेवको मृत्युको झुठो समाचार फैलाएर जङ्गबहादुरले नानासाहेवलाई नेपालमा नै रहने ब्यबस्था मिलाइ रहे । त्यस्तै उनका सेक्रेटरी अजिमुल्ला खानको पनि बि.सं. १९१६ को मंसिरमा नै बुटवलमा देहान्त भएको खबर अंग्रेजलाई पठाइसकेका थिए ।
यसरी नानाको मृत्यु भइसकेको समाचार ब्यापक गरि अन्त्येष्टी समेत गरेको ६-७ वर्ष पछि काशी बाईको बाबु नेपाल आएका थिए । छोरीलाई भेटेपछि छोरीको पहिरन देखेर आश्चर्यित भएका थिए । उनमा बिधवाको स्वरुप कति पनि थिएन । निधारमा सिन्दुर, हातमा चुरा, आँखामा चमक उस्तै देखे । बाबुलाई काशी बाईले आफ्नो पतिको निधन नभएको जानकारी दिएका थिए । काशी बाईलाई भेट्न नाना हरेक साल शिवरात्रीको समय थापाथली पुग्दथे । केही समय उनको साथ बसेर फेरी गुप्तवास तर्फ लाग्दथे ।
४२ साल पर्व पछि बि.सं. १९४२ को कार्तिकमा जनरल केदारनरसिंह राणा काठमाडौबाट लखेटिए । नानासाहेवका साथ केदारनरसिंहको राम्रो सम्बन्ध थियो । तसर्थ उनले लेखापढी गरि कागजपत्र मिलाइ फर्जी नाम राखेर फकिरका रुपमा बि.सं. १९४४ मा इलाहावाद लिएर गए । इलाहावादमा केदारनरसिंहका साथ नानासाहेव करिव ७ वर्ष फकिरका रुपमा रहे । धेरै पछि उनको निधन भएको समाचार केदारनरसिंह राणाले वीरशम्शेरलाई दिएका थिए । सन १९७० मा केही डायरी तथा चिट्ठीहरु भेटियो, जसका अनुसार नानासाहेवले आफ्नो छद्म नाम योगिन्द्र दयानन्द महाराजका रुपमा भारतकै बिभिन्न शहरमा लुकिछिपि बसिरहेका थिए । यसरी लुक्दै छिप्दै बसेका नानासाहेवको बि.सं. १९६० तिर गुजरातमा निधन भएको थियो ।