- अबिरल आचार्य
म अबिरल आचार्य, २२ वर्षको एक युवा । काठमाडौं क्षेत्र नं ४ महांकालको धोविखोला किनारमा बस्छु । स्नातक लेबलको पढाई लगभग सकिनै लागेको छ । भविष्यको अनिश्चितता, देशको राजनीतिक अस्थिरता र युवाहरुको घट्दो संलग्नताले मलाई सधैं चिन्तित बनाउँछ । तर, यो पटकको निर्वाचनले मभित्र एउटा आशाको दियो बालेको छ । त्यो आशा हो, ‘जेनजी मुभमेन्ट’ र यसका एक सशक्त प्रतिनिधि, कांग्रेसका युवा उम्मेदवार सचिन तिमेल्सिना ।
हामी ‘जेनजी’ पुस्ताका युवाहरू हौं, जसले प्रविधिको काखमा हुर्कने अवसर पायौं । सूचनाको महासागरमा डुबुल्की मार्यौं । विश्वभरका परिवर्तन र सम्भावनाहरूको साक्षी बन्न पुग्यौं । हाम्रो आँखाले देखेको संसार पुरानो पुस्ताको भन्दा फरक छ । हामी परम्परालाई सम्मान गर्छौं, तर परिवर्तनलाई अँगाल्न डराउँदैनौं । हामी प्रश्न गर्न जान्दछौं र उत्तर खोज्न पछि पर्दैनौं । हामीलाई थाहा छ, अबको राजनीति पुरानै ढर्राले चल्दैन । अबको नेतृत्वले युवाको आवाज सुन्नुपर्छ, युवाको सपना बुझ्नुपर्छ ।
यसै सन्दर्भमा, मैले काठमाडौं क्षेत्र नं ४ जहाँ म बस्छु यस क्षेत्रबाट चुनावमा उठेका सबै उम्मेदवारहरूलाई राम्ररी नियालीरहेको छु । एमाले राजन भट्टराई, रास्वपाका पुकार बम अनि कांग्रेसका सचिन तिमेल्सिनालाई नियालेको छु । म सचिन तिमेल्सिनाबाट प्रभावित बनेको छु । उनी अरूभन्दा युवा छन्, ऊर्जावान छन् र सबैभन्दा महत्वपूर्ण कुरा, उनी हाम्रो पुस्ताका आवाज बोलेर निरन्तर मुभमेन्ट गर्दै आएका व्यक्ति हुन् ।
सचिन तिमेल्सिनाको चुनावी अभियानमा पनि मैले एउटा नयाँपन, एउटा उत्साह देखेको छु । उनी परम्परागत राजनीतिको घेराबाट बाहिर निस्किएर युवाका मुद्दालाई प्राथमिकता दिइरहेका छन् । शिक्षा, रोजगारी, वातावरण संरक्षण, प्रविधिमैत्री शासन र स्वच्छ राजनीति जस्ता विषयमा उनको स्पष्ट दृष्टिकोण छ ।
सचिनले युवालाई केवल भोट बैंकको रुपमा हेरेका छैनन्, बरु सहयात्रीको रुपमा स्वीकारेका छन् । उनीसँगको अन्तरक्रियामा मैले महसुस गरें कि उनलाई कपन, चुनिखेलदेखि तौलुङ-बँदेलीसम्मका हाम्रो क्षेत्रका वास्तविक समस्याबारे राम्रो जानकारी छ । उनी यी समस्याको समाधानका लागि रचनात्मक र दिगो योजना बोकेर आएका छन् । उनको नेतृत्वले हाम्रो क्षेत्रमा नयाँ विचार र नयाँ ऊर्जा ल्याउन सक्छ भन्नेमा म विश्वस्त छु ।
केही मानिसहरू भन्छन्, “युवाहरू अनुभवहीन हुन्छन्, उनीहरूले राजनीति चलाउन सक्दैनन् ।” तर म यो कुरामा सहमत छैन । अनुभव महत्वपूर्ण हुन्छ, तर अनुभवको अर्थ केवल उमेरको लम्बाइ मात्र होइन । नयाँ सोच, नयाँ ऊर्जा, नयाँ दृष्टिकोण र परिवर्तनप्रतिको दृढ संकल्प पनि अनुभवको एक महत्वपूर्ण पाटो हो । सचिनसँग यी सबै कुराहरू छन् । उनलाई अनुभवी नेताहरूको मार्गदर्शन र हामी युवाहरूको साथले एक सफल नेतृत्वको रुपमा स्थापित गर्न सक्छ ।
हामी जेनजी पुस्ताका लागि यो निर्वाचन एउटा अवसर हो । यो केवल एक उम्मेदवारलाई भोट दिने कुरा मात्र होइन, यो हाम्रो भविष्यलाई दिशा दिने कुरा हो । यो परिवर्तनको पक्षमा उभिने कुरा हो । मलाई लाग्छ, सचिन तिमेल्सिना यो परिवर्तनको प्रतीक हुन् ।
त्यसैले, म दृढतापूर्वक भन्न चाहन्छु, मेरो समर्थन ‘जेनजी मुभमेन्ट’ लाई ! अनि मेरो भोट सचिनलाई । म सबै युवा साथीहरूलाई अपील गर्दछु कि आउनुहोस्, यो अवसरलाई खेर नफालौं । आफ्नो विवेक प्रयोग गरौं र हाम्रो भविष्यका लागि सही नेतृत्व चयन गरौं । सचिन तिमेल्सिना जस्ता युवा, ऊर्जावान र दूरदर्शी उम्मेदवारलाई समर्थन गरेर हामीले केवल एक व्यक्तिलाई होइन, सिंगो युवा पुस्ताको आशा र सपनालाई शक्ति दिनेछौं ।
जय जेनजी ! जय नेपाल !

