नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ छाडेर सर्लाहीबाट राजनीति गर्ने निर्णय आफूका लागि अत्यन्तै भावुक र कठिन रहेको बताएका छन्। शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मूल समिति गठन तथा घोषणा समारोहमा सम्बोधन गर्दै उनले उक्त निर्णयका क्रममा आँसु लुकाउन नसकेको अनुभव सुनाए।
“निर्णय लिँदा साथीहरू रोइरहनुभएको थियो, म आफैँ पनि रोएको थिएँ,” सभापति थापाले भने, “सिंगो देशको नेतृत्व गर्न मधेशलाई अंगालो हाल्नुपर्छ। मधेशलाई काठमाडौंसँग जोड्न चाहन्छु। म फुटाउने होइन, जोड्ने राजनीति गर्छु।”
काठमाडौं–४ छाडेर गएको भनेर नबोलिदिन उनले विशेष आग्रहसमेत गरे। “छोडेर गएको भन्ने शब्दले मलाई दुख्छ,” भन्दै उनले स्पष्ट पारे, “म काठमाडौंमै छु। नयाँ जिम्मेवारीका साथ मधेश बदल्न मात्रै गएको हुँ।”
आफूले जीवनको ठूलो हिस्सा काठमाडौं–४ का जनतासँग बिताएको स्मरण गर्दै सभापति थापाले मधेशका मुद्दा परिवर्तन गर्ने दृढ संकल्प दोहोर्याए। “मैले धेरै जीवन तपाईंहरूसँगै बिताएँ। अब मधेशका मुद्दा बदल्न चाहन्छु,” उनले भने।
तीन पटक निर्वाचन जित्दा काठमाडौं–४ ले दिएको माया र भरोसाप्रति कृतज्ञता व्यक्त गर्दै उनले २०७९ सालको निर्वाचन पनि आफूका लागि चुनौतीपूर्ण रहेको बताए। “त्यतिबेला पनि डर थियो, तर तपाईंहरूले मलाई डरबाट बाहिर निकाल्नुभयो,” उनले सम्झिए।



