

काठमाडौँ । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा निर्माणका लागि प्रस्तावित नागमती बाँध अन्यत्र सार्न संरक्षणकर्मीले माग गरेका छन् । संरक्षित क्षेत्रको अस्तित्व मेटिने गरी बनाउन प्रस्ताव गरिएको हाइड्याम मोडलको नागमती बाँध उपत्यकाको मानव जीवन संस्कृतिमाथि पनि खतराको सूचक रहेको भन्दै संरक्षणकर्मी र सरोकारवालाले बाँधप्रति विमति जनाएका हुन् ।
वातावरण पत्रकार समूहले शुक्रबार आयोजना गरेको बृहत् छलफलमा सरकारलाई थोरै पानीको प्रलोभनमा पारेर लगानीकर्ता र परियोजनाले निर्माणको अनुमति लिएको भन्दै विज्ञहरूले आपत्ति व्यक्त गरेका हुन् । हरेक नेपालीको टाउकोमा थपिने गरी एसियाली विकास बैङ्कको ७० अर्ब रुपियाँ ऋण लगानीमा नागमती बाँध निर्माण आयोजनाले निर्माण गर्न लागेको छ ।
प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले नागमती बाँध निर्माणको उद्देश्य नै अस्पष्ट रहेको टिप्पणी गरेका छन् । उनले भने, “पानीको बहाव बढाउनकै लागि त्यत्रो खर्चमा त्यति ठुलो बाँध निकुञ्ज क्षेत्रमा बनाउनु त्यति व्यावहारिक लागेन ।” उनले विद्युत् उत्पादनकै लागि पनि बाँध निर्माणको औचित्य नरहेको बताए। उनले विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायत कतिपय विश्वव्यापी लगानीकर्ताले एकातिर जलवायु परिवर्तन र संरक्षणको मुद्दा उठाइरहँदा नेपालमा संरक्षणविपरीतका परियोजना लाद्न खोजेको आरोप लगाए ।
वातावरणविद् श्रवण शर्माले बाँध आफैँमा जोखिमपूणर् रहेको भन्दै त्यसले प्राकृतिक सिमसार क्षेत्रको विनाश गर्ने तर्क गरे । उनले सम्भाव्यता अध्ययनकै आधारमा भन्दा पनि ठुलो भएकाले पानी नभरिन सक्ने, भूकम्पलगायत विपत्का कारण विस्फोट हुन सक्ने, जैविक विविधताको ठुलो विनाश गर्ने र विस्फोटपछि तल्लो तटीय क्षेत्र र स्थानीयको जीवनलीला समाप्त हुने खतरा रहेको प्रस्ट्याए ।
संरक्षणविद् डा. उदयराज शर्माका अनुसार शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा बन्नै नसक्ने योभन्दा खराब परियोजना कुनै नरहेको दाबी गरे । उनले भने, “बाँध बनाउने हो भने निकुञ्ज त्यहाँबाटै हटाएर गरियोस् अन्यथा मान्य हुँदैन ।”
शिवपुरी राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले बाँध निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कनमै संरक्षणलाई महत्व नदिएको बताए । उनले संरक्षित क्षेत्रमा त्यस्ता पूर्वाधार निर्माण हुँदैन र गर्नै परेमा संरक्षण क्षेत्रको नियमभित्र रहेर गर्नुपर्नेमा त्यसको बेवास्ता गरिएको गुनासो गरे । उनले भने, “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लिखित रूपमा दिएको सुझावलाई गम्भीरतापूर्वक लिइएकै छैन ।”
बाँध निर्माण आयोजनाका इन्जिनियर निश्चल छत्कुली र केशव अधिकारीले बाँध बहुउद्देश्यीय परियोजना रहेको भन्दै बागमतीमा ४५० लिटर प्रतिसेकेन्ड पानी छाड्ने मात्र नभई एकीकृत अवधारणामा बनाइने र अभाव भएका बेला उपत्यकाको खानेपानीको आपूर्ति पूरा गर्न बाँधले सघाउने बताए ।