काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेबीचको नयाँ गठबन्धन बनेपछि बदलिएको समीकरणमा बागमती प्रदेशको मन्त्रालयको विषयमा दुई पार्टीबीच सहमति जुटेको छ । प्रदेशको १३ मन्त्रालयमध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेसँगै आइतबार रोकिएको मुख्यमन्त्रीको दाबी गर्ने कार्यक्रम मंगलबार अघि बढ्ने सम्भावना रहेको छ ।
एमाले कांग्रेस सहमतिअनुसार आइतबार कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले सरकारको नेतृत्व गर्नेगरी मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम रहेको थियो । बिहान १० बजे तय गरिएको कार्यक्रम अन्तिम समयमा रोकिएको थियो । अब भागबण्डा मिलेपछि आज दाबी गर्ने सम्भावना रहेको हो ।
दुई दलबीच मन्त्रालयको भागबन्डाको विषय नमिल्दा मुख्यमन्त्रीमा लामाको दाबी समेत रोकिएको थियो । एमाले र कांग्रेसबिच मुख्यमन्त्री बाहेक ६/६ वा ५/७ मन्त्रालयको नेतृत्व लिने भन्ने विवाद भएको थियो । प्रदेशमा कुरा मिल्न नसकेपछि एमालेका सांसदहरु केन्द्र गुहार्न पुगेका थिए । आइतबार राति केन्द्रबाट मुख्यमन्त्रीबाहेक ६/६ वटा मन्त्रालय लिने गरी सहमति गरेपछि एमालेका सांसदहरूलाई हेटौँडा फर्किएका थिए ।