काठमाडौं । मिठाराम अधिकारी भन्नेबित्तिकै उनीसँग जोडिएको एउटा बहुप्रचारित मिथ छ ’कपनलाई जापान बनाएका व्यक्ति’ । कपनमा जब जब बाढ़ी आउँछ तब तब मिठाराम अधिकारीले ’कपनलाई मैले जापान बनाएँ’ भन्ने उक्ति सबैलाई सम्झना आउँछ ।
अव्यवस्थित बस्तीमा परिणत भएको कपन हरेकवर्ष वर्षामा डुब्ने गरेको दृष्य सामान्य हो । तत्कालिन कपन गाविसका अध्यक्ष मिठाराम अधिकारीको निणर्यले कपनका दर्जनौँ खहरेहरूमा ढल हालेर सडकमा परिणत गराइएका थिए । खोला पुरेर बनेका साना साना सडक अनि अव्यवस्थित घरहरूले गन्जागोल भएको कपनलाई विकासको उत्कृष्ट नमुना भन्दै करिब ७ वर्षअघि एक कार्यक्रममा मिठाराम अधिकारीले धाक दिँदै भनेका थिए, आजको यो कपन विकसित कस्ले गर्यो ?, मैले गरेको हैन ? कपनलाई जापान बनाएको यहि मिठाराम अधिकारीले हैन ?
कपनलाई जापान बनाएँ भने पनि मिठाराम अधिकारीले जापान भने देखेका थिएनन् । इन्टरनेटको उपयोग गर्न नजान्ने भएकाले उनले जापान कहिँकतै फोटोमा देखे पनि अरू हिसाबले बुझ्न पनि पाएका थिएनन् । विकास भन्ने बित्तिकै जापान भनिने तथा कपनसँग भाषिक मेल खाने भएकाले उनले कपनलाई जापानसँग जोडेकामात्र थिए ।
उनै मिठाराम अधिकारी यतिखेर जापान पाएका छन् । ’बलियो भाग्य’का कारण बुढानिलकण्ठको मेयर बनेका अधिकारी जाइकाको सहयोगमा टोखा नगरपालिकाका मेयरसँगै जापानको लामै यात्रामा गएका छन् । यो यात्राबाट अधिकारीले के सिक्लान् वा के बुझ्लान् त्यो पछि थाहा पाइने भए पनि आफूले ’कपनलाई जापान बनाएको’ भनेको प्रति यो भ्रमणले उनलाई केही फिडब्याक भने दिने आशा गर्न सकिन्छ ।
१२ फुटे सडकलाई ढलान गर्नु नै विकास मान्ने मानकका बनाएका अधिकारी अझै पनि बुढानीलकण्ठका खोला खोल्साहरू पुर्नमै व्यस्त छन् । सडक बनाउन भन्दै खोला खहरे पुर्दापुर्दै जाइकाको लगानीमा जापान जान पाएका उनी कति ज्ञानी भएर आउलान् ? त्यो पुर्ववर्ती मेयर उद्धव खरेलले नै प्रमाणित गरिसकेका छन् ।
अधिकारी मेयर भएपछि पहिलो विदेश भ्रमण गर्दा संयोगले जापाननै पर्नुले स्वयम् कपनवासीसमेत रहेका उनले खोला पुरेर सडक बनाउनु गलत भएको भन्ने सोच विकास गरेर आउलान् ? सम्भवतः त्यो सम्भावना कमै छ । त्यसमाथि उनको आफ्नो निवासको केही भाग खहरेमा परेको भन्ने आरोप पनि ज्यूँदै नै छ ।
- आकाश सर्मा