- सार्बजनिक जग्गा विशेष ३
(काठमाडौँ खबरमा सार्वजनिक जमिन बारेमा लेख्ने क्रम सुरू गरेका छौँ । यो क्रम जारी रहनेछ । लेख्ने तथा सोधखोज गर्ने क्रममा हामीले नगरपालिकाले नै लाखौँ लगानी गरेर निकालेको एक प्रतिवदेन पनि हात परेको छ । यो प्रतिवेदन आफैले पनि बुढानीलकण्ठ नगरपालिकाले कति अनुत्पादक काममा लगानी गरेर पेश्की फर्स्यौट गर्छ भन्ने कुराको गतिलो प्रमाण हो ।)
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा सयौँ रोपनी सार्वजनिक जमिन मिचिएका छन् । सार्वनजिक जमिनदेखि खोला तथा राजकुलोमै मानिसले घर ठड्याएका छन् । त्योभन्दा महत्वपूर्ण कुरा यी सबै काममा जनप्रतिनिधिकै मिलेमतो भएको देखिन्छ । जनप्रतिनिधिहरू सिमित लोभ तथा लालचमा फस्दा बुढानीलकण्ठले सरकारी, पर्ति तथा सार्वजनिक जमिन गुमाउन पुगेको हो । मुहानपोखरीदेखि साततलेसम्म पुग्दा पूर्व जनप्रतिनिधि तथा हालका जनप्रतिनिधिको मिलोमतोमा यस्ता जमिनहरू रीतपूर्वक मिच्न दिइएको पाइएको छ ।
नगरपालिकामा सार्वजनिक जमिन संरक्षणका बारेमा ०७३ सालमै गरिएको एउटा कमजोर अध्ययन प्रतिवेदनले सयौँ रोपनी जमिन संरक्षण गर्न नसकेको देखाएको छ । पूर्व मेयर उद्धव खरेल संयोजक रहेको समितिले कोठामा बसेर लेखेको सो प्रतिवदेनका आधारमै हेर्ने हो भने पनि मुहानपोखरीदेखि साततलेसम्म सयौँ रोपनी जमिन व्यक्ति तथा संस्थाको अतिक्रमणमा पुगेको छ । सो प्रतिवदेनमा मालपोतको स्रेस्तामा उल्लेखित केही कित्ताहरू हाल फिल्डमासमेत नदेखिने गरि हराएको छ । तर प्रतिवदेन बनाएका उद्धव खरेल ५ वर्ष मेयर बन्दा उनले नै बनाएको प्रतिवदेन एकपल्ट हेर्ने प्रयत्न नगरेकोमात्र हैन सो प्रतिवेदन कसैले देख्ला भनेर लुकाउनमै व्यस्त रहे । खरेल आफैले उनको घर कम्पाउण्डपछाडि ठूलै सार्वजनिक जमिन आफ्नो बनाएको गम्भीर आरोप लाग्ने गरेको छ ।
सो प्रतिवेदनले कपन, चुनिखेल, महांकाल क्षेत्रमा व्यापकरूपमा सार्वजनिक जमिन मिचिएको कैफियत राखिएको छ । यद्यपि प्रतिवेदनमा कतिपय तथ्यांकहरू गलत भए पनि नगरपालिकाले चाहेको भए सार्वजनिक जमिन बचाउन ठूलै भूमिका खेल्न सक्थ्यो भनेर भन्न सकिन्छ । खरेल संयोजक भएको समितिले सार्वजनिक जमिन संरक्षण गर्ने केही उपाए पनि सुझाव दिइएको छ तर उनी आफै पाँचवर्ष मेयर हुँदा ती कुनै कुरा उनले अवलम्बन भने गरेनन् ।
खरेलकै पालामा उनकै स्वीकृतिमा बुढानीलकण्ठ रुद्रेश्वरमा एक राजकुलो हराएको थियो । जहाँ हाल पवेरा होटेल छ त्यहाँ एक ठूलै आकारको राजकुलो थियो । सो राजकुलोलाई सडक पेटीको ढलमा हाल्ने गरी पवेरा होटेल बनाउन खरेलले नै स्वीकृति दिएका थिए । राजकुलोका यस्ता कथा बुढानीलकण्ठमा २ दर्जन घटी छैन ।
यता हाल बुढानीलकण्ठका मेयर रहेको मिठाराम अधिकारीले कपन गाविस अध्यक्ष हुँदा सार्वजनिक जमिनहरू सामाजिक संस्थाको नाममा दिएरै सकेका थिए । उनको आफ्नै निवाससमेत खोलाको सार्वजनिक जमिनमा रहेको छ । कपनमा खोलाको सार्वजनिक जमिन व्यापकरूपमा हिनामिना भएको छ । खरेलको सो प्रतिवदेन पनि यो कुरा अमूर्तरूपमा व्यक्त भएको छ ।
कपन सिद्धेश्वर मन्दिर क्षेत्रमा रहेको ठूलो जमिन हालसम्म आइपुग्दा आधा पनि देखिदैन । त्यसैगरी बालउद्धार स्कुलदेखि कपन ह्याण्डबल मैदानसम्मको लामो भुपरिधिमा धेरै क्षेत्रफल हराएको छ । यो जग्गा हराउनुमा पनि पूर्व जनप्रतिनिधि, कर्मचारीको बेलाको सर्वदलीय प्रतिनिधि एवम् नगरपालिका बनिसकेपछिका जनप्रतिनिधिको मिलोमतो प्रमुख रहेको छ । जनप्रतिनिधि नै सार्वजनिक जमिन मिच्न वा मिचाउन भूमिका खेल्ने भएकाले यो विषय कहिल्यै प्राथमिकतामा परेको छैन ।
बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक जमिन संरक्षण गर्न आजका दिनसम्म डोजर चलाएको छैन । उल्टो व्यक्तिको प्लटिङलाई सार्बजनिक जमिनबाट सडक हाल्न स्वीकृति दिएका कयौँ घटना भेटिन्छन् । विशेषगरी नगरपालिकाको वडा नं १ मा जनप्रतिनिधिद्वारा सार्वजनिक जमिनबाट प्लटिङलाई सडक दिने काम आज पनि भैरहेको छ ।