काठमाडौं । राणा शासन कालमा काठमाडौं उपत्यका अन्य जिल्लाभन्दा भिन्न मानिन्थ्यो । सामान्यतया बोलिचालीको भाषामा नेपाल भनेर चिनिने काठमाडौ आउँदा बडा हाकिमको पूर्जी लिनुपर्ने थियो ।
वि.सं. २००९ साल वैशाख ९ गते राजपत्रमा प्रकाशित एक सूचनाअनुसार काठमाडौं आवतजावत गर्नको लागि राहदानीको व्यवस्था गरिएको उल्लेख छ । त्यो राहदानी अहिलेको जस्तो छुट्टै खालको नभएर विभिन्न अधिकारीहरुबाट अनुमति पूर्जी लिनुपर्ने व्यवस्था थियो ।
सो राजपत्रको भाग नौ मा भनिएको छ: अब उप्रान्त भारतबाट भारतीयहरुले काठमाडौं आउँदा जिल्ला या सिटी म्याजिस्ट््रेटबाट पर्मिट अथवा आइडेन्टी कार्ड लिएर आउनुपर्नेछ । सो लिइए आएमा नेपाल सरकारको राहदानी चाहिँदैन । सो पर्मिट अथवा आइडेन्टी कार्ड नेपाल सरकारका पुलिस विभागका मानिसले अनुरोध गरेमा उनीहरुलाई देखाउनुपर्छ भन्ने उल्लेख छ ।
त्यस्तै, सोही राजपत्रमा नेपालीहरुले भारतबाट काठमाडौं आउँदा र यताबाट भारततर्फ जाँदा समेत दोहोरो राहदानी लिई आउनुजानुपर्ने उल्लेख छ । त्यस्तै, नेपालका जिल्लाहरुबाट काठमाडौं आउँदा जिल्लाका बडाहाकिमको पूर्जी लिई आउनुपर्छ भन्ने उल्लेख सो राजपत्रमा उल्लेख छ ।