नेपाली शैलीका मन्दिर लगायत विहार, पुराना दरबार, झ्याल आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक वस्तुलाई नै तोरण भनिन्छ । माटो, ढुङ्गा, काठ र धातु सिमेन्टका तोरणहरू नै काठमाडौँ उपत्यकामा निर्माण भएका छन् । कतैकतै काठको तोरणलाई धातुका पाताले मोडेर राख्ने गरेको पनि पाइन्छ । तोरणको कलात्मक पक्ष सँगसँगै धार्मिक महत्व पनि छ । ढोका माथिको तोरणलाई पवित्र मानेर पुज्दछन् ।११० हाम्रा घर मन्दिरहरूमा देखिने कलात्मक तोरणद्वारहरू पनि पूर्णतया प्रतीकात्मक भावनाहरूमा निर्माण भएका छन् । नेपाली वास्तुकलाका अध्ययनकर्ता रोनाल्ड.एम.बर्नियरले नेपालका मन्दिर विहारहरूमा प्रयुक्त तोरणको सौन्दर्यताको मुक्त कण्ठले प्रशंसा गरेका छन् । उनले नेपालमा वास्तुकला र सजावटको वस्तुका रूपमा तोरणको विकास प्रशस्त भएको तथ्य वर्णन गरेका छन् । वर्नियरले पाटन मच्छेन्द्रनाथ मन्दिरको तोरणलाई कलाकृतिले मनमोहक रूपमा सिङ्गारिएको भनेर बयान गरेका छन् ।
तोरणको बीच भागमा सम्बन्धित मन्दिरको गर्भगृहमा स्थापित देवदेवी या परिवारसँग सम्बन्धित मूर्ति नै कुँदिएको हुन्छ । शिवको मन्दिरमा तोरणको केन्द्रमा शिवलिङ्ग वा शिव परिवारको सदस्य गणेश पनि राख्न सकिन्छ । तोरणको माथिल्लो शीर्ष भागमा भने छत्र राख्ने परम्परा छ र प्राय तोरणमा गरुड वा छेपुले नाग नागिनी समातेर मुखमा हालेको देखाइन्छ । गोकणर््ोश्वर मन्दिरमा चाहिँ बाहिरी मूल एउटा ढोकामाथि र मन्दिरको मूलढोका भित्रको अर्को खण्डको चारैतिरका चार ढोकामाथि एक–एक वटा गरी जम्मा पाँच वटा तोरणहरू रहेका छन् । मन्दिर बाहिरका चार ढोकाहरू मध्ये पूर्वी मुख्य ढोका बाहेक अन्य ढोकामाथि भने तोरण राखिएको छैन । मन्दिरको पूर्वपट्टिको बाहिरी मुलद्वारमाथि रहेको तोरण अन्य मन्दिरमा रहने तोरण भन्दा अलिकति भिन्न प्रकृतिको छ ।
काठद्वारा निर्मित यो तोरणलाई पितलको पाताले मोडेर स्वर्ण जलप लगाइएको छ । तोरणको केन्द्रमा चर्तुबाहु शिव र द्धिभुजी पार्वती पद्म माथि सुखासनमा आलिङ्गन मुद्रामा रहेका छन् । शिवलाई परिवारसँगै दर्शाउने यस्तो मूर्तिलाई उमामहेश्वर भनिन्छ । यस क्रममा शिवलाई दायाँ पाउले नन्दी माथि टेकेको र बायाँ पाउ भने खुम्च्याएर बसेको अवस्थामा देखाइएको छ । शिवको बायाँ काखमा लेपासिएर बसेकी पार्वतीले बाँया पाउ सिंहमाथि राखेको देखाइएको छ । जहाँ उक्त देवीदेवताहरूका वाहन नन्दी र सिंह एक आपसमा पीठ फर्काएर दुई विपरित दिशामा फर्किएर बसेका छन् । शिव पार्वतीको दायाँ बायाँ चर्तुबाहु गणेश र कुमार आ–आफ्ना अवस्थामा रहेका छन्। यी तीनै मूर्तिहरू एकै घेराभित्र आबद्ध छन् ।
तोरणको दायाँ बायाँ छेउमा मकरामुखाकृति छन् । यस माथि दुवैतिर दायाँ बायाँ जोडी हातले घडा समातेको पखेटा युक्त गरुड आकृति, नाग नागिनी र सात फणायुक्त वासुकी नाग, सूर्य,चन्द्र, अंकित छन् । यस भन्दा बाहिरपट्टि ज्वालावलीयुक्त प्रभामण्डल घेरो र त्यसमाथि फेरि कलश, छत्रावली एवम् गजुर पनि रहेको छ । तोरणमा गजुर हुनु अत्यन्तै दुर्लभ कुरा हो भने तोरण आफैमा पनि मौलिक नेपाली काष्ठकलाको उत्तम नमुना र पवित्रताको प्रतीक पनि हो ।
गोकर्णेश्वर मन्दिरको बाहिर पूर्व मूल ढोका माथिको साथै मन्दिरको मूल ढोका भित्रको अर्को खण्डको चारैतिरका चार ढोकामाथि पनि एक–एक वटा गरी जम्मा चार वटा तोरण रहेका छन् । यी सम्पूर्ण तोरण मन्दिर प्रवेशद्वारको बाहिरी ढोकामाथि रहेको तोरण जस्तै स्वर्ण नै छन् भने ती तोरणहरूको केन्द्रमा पनि शिव र पार्वती उमामहेश्वरकै अवस्थामा रहेका छन्। यी चार वटै तोरणहरू बाहिरको स्वर्ण तोरणसँग हु–बहु मेल खाने प्रकारका छन् । जसमा मन्दिरको पूर्वतर्फको मूलढोकामा मात्र काष्ठखम्बालाई तामाको पाताले मोडी बाहिरबाट स्वर्ण लेपन (सुन मोलम्बा ढलोटको) गरिएको छ । यो ढोका दुई वटा परिवार मिलेर बनाइएको देखिन्छ ।