गोरखा जिल्लाका श्रीपाली बस्नेतहरू नेपाल एकीकरणका मुख्य सहयोगी हुन् । सेनापति बडावीर शिवराम सिंह बस्न्यातको परिवारले राजा पृथ्वीनारायण शाहलाई महत्वपूर्ण योगदान दिएका थिए । उनका चार छोराहरू (काजी नाहरसिंह बस्न्यात, सेनापति केहरसिंह बस्न्यात, मूलकाजी अभिमान सिंह बस्नेत र बडाहाकिम धोकलसिंह बस्न्यात)ले उक्त अभियानमा भाग लिएका थिए । पृथ्वीनारायण शाहको चर्चित भनाइसङ्ग्रह दिव्योपदेशमा उक्त भनाइ उल्लेखित छः पाण्डेको ढाल र बस्नेतको तरवारले मैले नेपाल उपत्यका आक्रमण गर्दैछु । केहरसिंह बस्न्यातका २ छोराहरू कीर्तिमान् सिँह बस्न्यात र बख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए । उनीहरू काजी कालु पाण्डेका नाति हुन् ।
सरदार बख्तावर सिंह बस्नेतलाई ५० रोपनी जग्गा १८६७ सालमा बख्श भएको राजा गीर्वाणयुद्धको १८६९ सालको ताम्रपत्रमा उल्लेख छ । दाजु मूलकाजी (प्रधानमन्त्री) कीर्तिमान सिंहको हत्यापछि सरदार बख्तावर सिंह बस्नेत मूलकाजी भएका थिए ।
उनका दाजु काजी कीर्तिमान् सिँह बस्न्यातको सन १७९९ मा मूलकाजीकै पदमा मृत्यु हुँदा उनी मूलकाजी भएका थिए । उनीपछि मामा दामोदर पाण्डेले मूलकाजी पदभार ग्रहण गरेका थिए । उनी सन् १८१० मा गढवालमा खटिएका थिए । उनले निश्पक्ष इतिहास लेखक मौलारामलाई पुरस्कृत गरेका थिए । उनको सम्मानमा मौलारामले बख्तावर यश चन्द्रिका लेखेका थिए ।
विसं १९०३ सालको कोतपर्व र भण्डारखाल पर्वको घटनापश्चात श्रीपाली बस्न्यातहरुको शाख शतप्रतिशतबाट जिरोमा पुगेको थियो । कोत पर्वले शाह परिवारकै चौतारियाहरुको सातोपुत्लो लिएको थियो भने भण्डारखाल पर्वले तिलङ्गाघरे श्रीपाली बस्न्यातहरुको हुर्मतै लिएको थियो । असनटोले बस्न्यातहरुमा ठूलो झड्का नलागे पनि इन्द्रचोके बस्न्यातहरुको बचेखुचेको शाख समाप्त हुन पुगेको थियो । इन्द्रचोके बस्न्यातहरु ज्यान जोगाउन यत्र तत्र लागे । केशर सिंह बस्न्यात आफ्ना आमा संगै तनहुँको गल्बुको रोकुम थुम आइ पुगे भने ढोकाटोले जगतजित सिंह बस्न्यातका सन्तान फर्पिङ्ग तिर लागे , देवीमान सिंह बस्न्यात श्रीपाली बस्न्यात नभनेर खुलाल बस्न्यात भनेर पोखरा तिर लागे बखान सिंह बस्न्यात र बजिर सिंह बस्न्यातका सन्तान सिन्धुपाल्चोक पुगेको पाइन्छ ।