काठमाडौं । शाहकालमा राजालाई राजकाजमा राजकुमार, साहेबज्यू, चौतारिया, काजी, देवान, धर्माधिकारी, सरदार, हितहितान, रजबार, विन्त्यारु, नेव, देवान, छापदार, जिम्मुवाल–मुखियाले सघाउँथे। राजाका परामर्शदातामा चौतरियाको भूमिका हुन्थ्यो । मुख्तियार र चौतरियामा राजाका भाइभैयार्द नियुक्त हुन्थे। बझाङ राज्यका मन्त्रीलाई ‘अमात्य’ र सल्लाहकारलाई ‘हितान’ भनिन्थ्यो। दरा–गर्खाहरूको रखबारी भारदारहरूलाई दिइन्थ्यो। काजी (मन्त्री) सरहको अर्को पद ‘देवान’ हुन्थ्यो।
देवानमा राजपरिवार निकटका व्यक्ति नियुक्त हुन्थे। अधिकारी, कार्की, अडै, खड्गा, बुढा, बुढथापा, थापा (क्षेत्री), राना (क्षेत्री), महतारा, रोकाया, भण्डारी विभिन्न पदमा हुन्थे। राजाको सेरा फाँट हेर्नेलाई ‘अडै’ भनिन्थ्यो। ‘अधिकारी’ले दरागर्खाको प्रशासन चलाउँथे। कर–राजस्व ‘कार्की’ले असुल्थे। गाउँस्तरका पदाधिकारी ‘महतारा’ र ‘रोकाया’ हुन्थे। खड्का, राना, थापा, बुढा, बुढथापा सैन्यसेवामा हुन्थे। पछि यी पदहरू थरमा परिणत भएका थिए। दरा गर्खामा मालपोत असुली मुखिया र जिम्मुवालले गर्थे। सूचना आदानप्रदानमा ओखेडा (कटुवाल)लाई खटाइन्थ्यो। बिहे–व्रतबन्ध, दसैं–तिहारजस्ता उत्सवमा नगर्ची, औजी र भेरवालहरूले बढाइँ गर्थे।
बलियालाई आफनो विश्वासमा लिन र देश एकीकरण गर्नु राजा पृथ्वीनारायण शाहको प्रमुख नीति नै थियो । उनले आफ्ना सात पुस्तासम्मका वंशलाई विभिन्न पदमा नियुक्त गर्ने चलन चलाएका थिए । यसैका आधारमा पछि ‘साहेबज्यू तथा चौतारिया नियमावली’ बनको थियो । जसमा सात पुस्ताभित्रका बन्धुलाई राज्यद्वारा भत्तासहित ‘साहेबज्यू’ पद दिइन्थ्यो भने त्यसभन्दा टाढाका बन्धुहरूमध्ये एक जना ‘मुख्य चौतारिया’ तथा अन्य पाँच जना ‘चौतारिया’ पदमा नियुक्त हुन्थे । यसरी आफ्ना आफन्तहरुलाई राजदरबारमा व्यवस्थापन गरिएको थियो ।
यही सन्दर्भमा २० फेब्रुअरी, १९१३ मा राजा त्रिभुवन शाहको राज्याभिषेक समारोहको क्रममा लिइएको नेपालका साहेबज्यूहरूको तस्वीर र त्यसमा रहेका साहेबज्यूहरूको नाम तल उल्लेख गरिएको छ ।
१. “तानसेन” (युवराज त्रैलोक्यका तेश्रो छोरा)की साहिला साहबज्यू राणा विक्रम शाह
२. काहिला साहबज्यू जनरल झरेन्द्रविक्रम शाह “वीरगन्ज” (गलकोटकी वालेट महारानी इन्द्रकुमारी मल्लद्वारा युवराज त्रैलोक्यका छोरा)
३. वसन्तपुरका सेनापति चौतारिया केशरजंग पराक्रम शाह, राणा उदयोता विक्रमका नाति (राजा गीर्वाण युद्ध विक्रमका भाइ)
४. “कमल पोखरी” का साहिबज्यू रतीन्द्र विक्रम शाह “जुनराजा” (“गोरखा” माहिला साहेबज्यू नरेन्द्र विक्रम शाहका जेठा छोरा)
५. साहबज्यू चन्द्रविक्रम शाह “लक्ष्मणराजा” मुख्य चौतारिया (साहेबज्यू भूपतेन्द्र विक्रम शाहका दोस्रा पुत्र)
६. भगवती ढोका दरबारका साहबज्यू रेवेन्द्र विक्रम शाह, नक्सल (“गोरखा” महिला साहेबज्यू नरेन्द्र विक्रम शाहको तेस्रा पुत्र)
७. साहेबज्यू रामविक्रम शाह {धुमिल छवि} “जुनराजा” रतीन्द्र विक्रम शाहको दोस्रो छोरा
८. साहबज्यू बीराविक्रम शाह (युवराज त्रैलोक्य विक्रम शाहका कान्छो छोरा)
९. साहेबज्यू मोहन विक्रम शाह (जुनराजा रतीन्द्रविक्रम शाहका जेठा छोरा जसको सम्पूर्ण परिवार १९९० सालको भूकम्पमा मृत्यु भएको थियो)
१०. साहेबज्यू देवेन्द्र विक्रम शाह (“गोरखा” महिला साहेबज्यु नरेन्द्र विक्रम शाहको दोस्रो छोरा)
११. साहेबज्यू मोहन विक्रम शाह “मोहनराजा वा रामराजा द्वितीय” रामनगरका सातौँ राजा सन् १९१३-१९४७ (साहेबज्यू भूपतेन्द्र विक्रम शाहका जेठा छोरा)
१२. साहेबज्यू जुद्ध विक्रम शाह (साहेबज्यू धीरेन्द्र विक्रम शाहका दोस्रो छोरा र साहबज्यू भूपतेन्द्र विक्रम शाहका भाइ)