

काठमाडौं । कतिपय इतिहासकारहरूले कीर्तिपुर युद्धमा पृथ्वीनारायण शाहले १७ धार्नी नाक काटेको भन्ने बताउने गर्छन् । तर यसरी विश्लेषण गरिएअनुसार नाक काटेको कुरा कतै भेटिँदैन । त्यतिबेलाको अवस्थितिको विश्लेषण गर्दा त्यो बेलाको कीर्तिपुरमा १७ धार्नी नाक पुग्ने सैनिक जनसंख्या नै थिएन । विभिन्न लेखकहरुले त्यो बेला किर्तिपुरको जनसंख्या कसैले ६ हजार त कसैले ५ हजार जति थियो लेखेका छन् । हेमिल्टन (१८०३) लेख्छन्- मेरो अनुमानमा कीर्तिपुरको जनसंख्या छ हजार होला । अर्का लेखक ओल्डफिल्ड (१८५०) लेख्छन्- कीर्तिपुरको जनसंख्या होला पाँच हजार । नेपालको इतिहासको पानाअनुसार चाहिँ १२०० जनसंख्या र ३०० कीर्तिपुरे सेना थिए ।
त्यसमध्ये युवा कति थिए होलान् ? सैनिक बन्न योग्य जनसंख्या कति हुन आउँछ ? ५/६ हजारको जनसंख्या भएको राज्यमा मुस्किलले पाँच सय सैनिक थिए होलान् । तीमध्ये सबैको नाक कटिएको मान्दा पनि… के काटिएको सबै नाक एकैठाउँमा भेला गरेर तौल लिन सम्भव थियो ? फेरि कटिएको नाक तौलिएर के फाईदा? कुनै राज्यले नाक तौलिने काम गर्ने सम्भावना पनि देखिँदैन । यो सबै हल्ला पृथ्वीनारायणले आफूले जितेको राज्यमा विद्रोह गर्न उक्साउने षडयन्त्र बुनिरहेको थाहा पाएर देश निकाला गरेका पर्यटकको भेषमा नेपालको गुप्तचरी गर्न आएका वृटिस पादरीहरुको मनगढन्ते र रिसले भरिएको किताबहरुले फिंजाएको भ्रम र कुटिलता हो भन्ने कतिपय इतिहासकारहरूको मत छ।
पश्चिमबाट आएकाहरूमा विद्वानहरूले विभिन्न कारणले कतिपय तथ्यहरू यथार्थभन्दा धेरै परको समेत लेखेको इतिहास भेटिन्छ । विशेषगरी पृथ्वीनारायण शाहको विषयमा केही अतिरञ्जना र केही मिथकहरू निर्माण गर्ने कार्य पनि भएको देखिन्छ । इन्द्रजात्राको दिन आफ्नो उपत्यका विजयपश्चात् नेवारी शाक्य कन्या ‘कुमारी’ को गोडा ढोग्ने पृथ्वीनारायणले नाक काटेर हिँडे भन्ने तर्कमा त्यति विश्वास गर्ने आधार नरहेको एक थरी विद्वानहरूको मत छ । उनी जहाँ-जहाँ पुगे त्यहाँकै धर्म संस्कृतिलाई आँगाल्दै गए। यसरी उनमा समन्वयात्मक गुण रहेको थाहा हुन्छ, दिव्योउपदेशमा पनि त्यो कुरा देखिन्छ। युद्ध हारेर इज्जत गएकोलाई नाक काटिएको भन्ने चलन यद्यापि छँदैछ । त्यही विषयलाई केहीले यस्तो तर्क गरेको भन्ने पनि कति पय इतिहासविद्हरूको तर्क छ ।
वैज्ञानिक रूपमा पनि एक जना मानिसको नाकको वजन ८ ग्राम हुन्छ भन्ने मान्यता रहेको छ । एक धार्नी भनेको २.५ किलो हो र १७ धार्नी भनेको ४२.५ किलो हुन आउँछ । यो संख्यामा नाक काटिनको लागि कम्तीमा ५३१२ जनाको नाक काटिनु पर्ने देखिन्छ । इतिहासअनुसार युद्धमा काजी कालु पान्डे मर्दा कीर्तिपुरवासीले उनको लास गाड्न दिएनन् त्यसपछि कालु पान्डेको लासलाई तत्कालीन राज्यबस्तीदेखि बाहिर अर्थात् अहिलेको भाजंगल एरियामा लगेर गाडियो आज पनि उक्त स्थानमा कालु पाण्डे स्तम्भ बनाइएको छ । त्यसैको मुनि खोल्सामा अर्थात् पागा दोबाटो र भाजंगलको बीचमा आज पनि लास जलाउने गरिदैँ आइएको छ । अर्थात् त्यो समयमा उक्त एरियामा मानवबस्ती थिएन, त्यसैले त्यहाँ लास जलाइन्थ्यो । कालु पान्डेको सद्गति पनि त्यहाँबाट पर अर्थात् वर्तमान भाजंगल एरियामा लगेर गरिएको थियो । यसले त्यतिबेलाको कीर्तिपुरको क्षेत्रफलबारे जानकारी लिन सकिन्छ ।
त्यस्तै, त्यो समयमा मानव बस्ती कति फैलिएको थियो होला ? भन्ने अर्को प्रश्न पनि आउन सक्छ । भत्केपाटीदेखि पागाबीचको बस्तीको इतिहास पुरानो होइन । भत्केपाटी, सल्यानथान, मच्छेनारायण एरिया र बाघ भैरब उमा महेश्वर मन्दिर रहेको डाडो एरिया आदि एरियामा मात्र मानव बस्ती थियो । तात्कालीन जानसांख्यिक विवरणअनुसार त्यो बेलाको कीर्तिपुरको कुल जनसंख्या १२०० जना अब १२०० जनाको नै नाक काट्दा पनि ४२ किलो नाक हुँदैन । तसर्थ १७ धार्नी नाक काटेको भनिनु सरासर गलत देखिन्छ । हो युद्दमा तलबार चलाउँदा कसैको नाक कसैको ओठ कसैको घाँटी कसैको हात कसैको खुट्टा आदि काटिएका हुन सक्छन् । तर नाक काटेको भन्नेमा भने कुनै सत्यता देखिँदैन ।