मैले पहिले पनि यो शब्दको अर्थलाई व्याख्यासहित प्रस्तुत गरेको थिए । यसको अर्थ संस्कृत बौद्धधर्मका ग्रन्थमा यसरी उल्लेख गरिएको छ । तथागत शब्दको तीन फरक अर्थहरू छन् जुन बुद्ध शब्दले त्यति समेट्दैन। त्यसैले ‘बुद्ध’ भने पनि तथागत भनेर पनि उल्लेख बौद्ध सुत्र अनि शास्त्रमा हामी गरेको पाउँछौं ।
१) यथागन्तव्यं गत: = जसरी गन्तव्यमा जानुपर्ने त्यस्मा पुगेको वा गएको। (अर्थात् बोधी वा निर्वाणसम्म पुगिसकेको)
२) सुष्ठु गत:, अपुनरावृत्ति-अर्थेन, सुनष्टज्वरवत् = कहिल्यै यो संसारमा फर्केर नआउने हिसाबले राम्रोसँग गएको, सम्पूर्ण ज्वरो निभाएको जसरी ।
३) नि:शेषं वा गत:, नि:शेषज्ञेयगमनार्थेन, सुपुर्णघटवत् = वा केही पनि बाँकी नरहने गरेर जान्नुपर्ने सबै बुझेको/जानेको, जस्तो कि पूर्ण भरिएको कलशजस्तो ।
यो पनि स्मरण रहोस् तीन किसिमका बुद्धहरू हुन्छन् – श्रावकबुद्ध, प्रत्येकबुद्ध र संयकसंबुद्ध । तिनैलाई बुद्ध भन्न मिल्दछ सम्पूर्ण क्लेशहरू हटाएको हिसाबले, तर प्रत्येकको गुणहरु फरक हुन्छन् । तर शाक्यमुनिजस्तो संम्यकसंबुद्धलाई बाहेक अरू कसैलाई पनि ‘तथागत’ भनेर संबोधन गर्न मिल्दैन किनकि अर्हत र प्रत्येकबुद्धमा संम्यक सम्बुद्ध जस्तो गुण हुँदैनन् ।
अबौद्धहरूको त यहाँ प्रसङ्ग नै उठ्दैन किनकि बौद्ध व्याख्या प्रणालीअनुसार यी तीनबाहेक कसैले पनि असली ज्ञान प्राप्त गरेर संसारको भवसागर तरेका हुन्नन्। यो सुन्दा अलि आजको दिन्मा असजिलो धेरैलाई महसुस होला, यो मेरो व्यक्तिगत विचार होइन, २५०० वर्षदेखिको बौद्ध धारणा हो ।