पाेखरा । नेपाल भारत साहित्य महोत्सव पाँचौँ संस्करण पोखरामा सम्पन्न भएको छ । गत फागुन १०, ११ र १२ गते पृथ्वीनारायण क्याम्पस हाताभित्र महोत्सव गरिएको हो । महोत्सवका कार्यक्रमहरू क्याम्पसको गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा भएको थियो ।
मूल आयोजक संस्थाका अध्यक्ष डा. विजय पण्डित तथा अग्रज साहित्यकार सरुभक्त श्रेष्ठ प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा भारतको तर्फबाट मूल आयोजक क्रान्तिधरा अकादमी, मेरठ, इन्डिया रहेको थियो। दीप प्रज्वलन तथा नेपाली र इन्डियन दुबै राष्ट्र गान वाचन गरेर उद्घाटन गरिएको थियो ।
कार्यक्रममा नेपाल भारत सम्बन्ध र साहित्यमा पर्यटन विषयमा छन्दकवि तथा राष्ट्रिका साहित्यिक संस्थाका अध्यक्ष ऋषभदेव घिमिरे बोलेका थिए । त्यस्तै, नेपालमा नारी हस्ताक्षरका विषयमा वृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले बोलेका थिए ।
भारतका तर्फबाट डा. मनीष शुक्लले भारतीय नारी साहित्यकारका बारेमा चर्चा गर्नुका साथै सो कार्यक्रममा बाल्मीकि रामायणको बारेमा एक शोधपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा भारतका वरिष्ठ साहित्यकार राव शिवराज पालसिंह आएका थिए । कार्यक्रमको तेस्रो दिन नेपाली साहित्यमा प्रतिलिपि अधिकारको बारेमा परिचर्चा प्रतिलिपि अधिकार कार्यालयका पूर्व रजिष्ट्रार तथा नेपाली लेखक सङ्घ काठमाडौंका अध्यक्ष विसुकुमार केसीले बोलेका थिए ।
महोत्सवमा कवि किशोर कोइरालाको “शीतको ताप” गजलसंग्रह र किशन पौडेलको “अन्तर्दृष्टि” लघुकथासङ्ग्रह, संयुक्त चारुसंग्रह कादम्बिनी, किशन श्याम श्रेष्ठद्वारा लिखित लघुकथासङ्ग्रह, प्रा. एसएस डोगराको WOW, डा. नवनीत भनोतको DYKES समेत गरी इन्डियन तथा नेपाली सर्जक पुस्तक लोकार्पण र वितरण गरिएको थियो
।
उत्कृष्ट कार्यक्रम सञ्चालन गरेबापत पौडेल विमुन्स (मीना पौडेल) लाई ‘best anchoring award’ले सम्मान गरिएको थियो । कार्यक्रममा करिब १०० जना भारतीय साहित्यकारहरूको उपस्थिति रहेको थियो । साथै, नेपालभरिबाट साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।