काठमाडौं खबर पुस ३, २०८०
नेवारी पेय पदार्थमा अजि थ्व मध्यकाल देखि नै लोक प्रिय रहेको मान्न सकिन्छ । धार्मिक अनुष्ठान गर्दा यसलाई महत्वपूर्ण तत्वको रूपमा लिने गर्दछन् । यस्तै प्रकृतिको शिलालेख पाटन येवहाल टोल चिवहालको शिलालेखमा उल्लेख परेको छ जसमा चैत्य प्रतिस्था गर्दा ६ पाथी भुटेको चिउरा, जाँड ३ पाथी, अजिथ्व ६ कुरुवा, मासु २ कुरुवा, र १२ कहतारा दही दिनु भनी उल्लेख गरेका छन् । थ्वँ बनाउने चामललाई आधा घण्टासम्म चिसो पानीमा भिजाइन्छ ।
त्यसपछि पोटासी (पिधमा प्वाल भएको माटोको भाँडो) (चित्र संख्या नं. १५) मा थोरै पराल विछ्याएर भिजेको चामललाई खन्याइन्छ । फोसी (तामाको ठूलो भाग) मा पानी हालेर उमालिन्छ र त्यसको माथि चामल भएको पोटासी हालिन्छ । यसरी पोटासी हालेपछि माथि छोपेर बफाइन्छ र चामल आधा पाकेपछि खन्याएर एक पटक पानीले पखाल्ने गरिन्छ र फेरी त्यस्तैगरी पोटासीमा राखेर बफाइन्छ र पूरा पाकेपछि बोरा या प्लास्टिक ओछ्याई खन्याइन्छ ।
यस्तो प्रकारको पकाएको चामललाई ‘हाःजाः’ भनिन्छ । हाःजा चिसो भएपछि त्यसमा मनाःपु (चामल अथवा गहुँलाई पिसेर धुसी पारेर राखिएको एक प्रकारको मर्चा) लाई धुलो पारेर दुवै हातले मिसाइन्छ । यहि समयमा जाँड तयार पार्ने क्वंः (माटोको घ्याम्पो) लाई पनि मुख तल पारेर भित्र वाफ भर्ने गरी बफाइन्छ र निकालेर मोलेको हाःजा क्वंः (घ्याम्पो) मा भरेर हल्का माथिबाट थिचेर थोरै पानी पनि माथिबाट छर्कने गरिन्छ । अन्त्यमा थोरै पराललाई सुलीजस्तै बनाएर घ्याम्पो भित्र हालेर एउटा न्यानोकोठा भित्र राखेर मुख छोपिराख्ने गरिन्छ । गर्मी मौसम भएको खण्डमा ५ दिनमै घ्याम्पोमा पानीराख्न सकिन्छ भने जाडो मौसमा १२ दिन जतिमा पानी राखिन्छ ।
यदि १ पाथी चामलको जाँड बनाउन लागिएको हो भने १ गाग्री जति पानी चाहिने हुन्छ भने पानी राखेको २४ घण्टा पछि मात्र जाँड निकाल्न सकिन्छ । एक चोटी रस निकालिसकेपछि पुनः पानी हालेर २४ घण्टा राखिन्छ र दोस्रो पटक हाल्दा अलि पानीको मात्र कम गरिन्छ र यसलाई निकाल्दा ‘बःता’ भनिन्छ र यहि क्रमबाट बढीमा ३ पटकसम्म वःता निकालिन्छ ।