तस्वीरमा देखिएको झ्याल कीर्तिपुरको ल्याकु दरबार क्षेत्र नजिकै रहेको सुन्दर आँखी झ्याल हो । कीर्तिपुरमा अवस्थित यो सुन्दर काठको झ्याल दुई घरको बीचमा जोडिएको छ। नेपाली भाषामा यसलाई आँखी झ्या भनिन्छ, जसमा आँखीको अर्थ ‘आँखा’ र झ्याको अर्थ ‘झ्याल’ हुन्छ। यस सुन्दर झ्याललाई नेवार संस्कृतिको प्रतीकका रूपमा वर्णन गरिएको छ र नेवारी भाषामा टिकी झ्याल भनिन्छ । प्राय: बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र साथै भक्तपुर दरबार क्षेत्रमा आँखी झ्यालहरूको अवलोकन गर्न सक्छौँ । यो झ्याल हातले नै विभिन्न डिजाइनमा काठमा कोरिन्छ। यो झ्याल विशेषगरी घर, स्मारकहरू र अन्यमा सजावट उद्देश्यका लागि पनि बनाइएको हो ।
नेपाल खण्डमा बस्ने नेवार जातिको बसोबास क्षेत्रको प्रकृतिमा समान देखिन्छ । सुरक्षालाई प्राथमिकता दिइएको कारणले सबै घरहरू जोडेर बनाउनु, बसोबास क्षेत्रलाई टोलमा वर्गीकृत गर्नु, प्रायः जसो घरको पहिलो तलामा खुला झ्याल नराख्नु, आँखी झ्याल हुनु, खानपान तथा भान्सा चोटामा गर्नु, फोहोर फाल्ने ठाउँ (साःगाः) राख्नु र एउटै घरमा कोठाहरू बाँडेर पनि एउटै घरमा थुप्रैपरिवारले जीविकोपार्जन गर्दै आएको छ । यो नेवार जातिको मौलिक विशेषता हो । जोडिएको घर निर्माण गर्नु, जोडिएको घरभित्र थुप्रै चोक, बहाल, आँगन तथा टोलमा विभाजन गर्नु, साँगुरो स्थानमा पनि सफा ढङ्गले प्रत्येक सामानहरू यथास्थानमा राख्ने र झिक्ने प्रबन्धको व्यवस्था गर्नु, भोज, भतेर, विस्कुन सुकाउने स्थान पालैपालो प्रयोग गर्ने व्यवस्था गर्नु जस्ता थप स्वरूप पनि नेवार जातिको बसोबासको स्वरूपको थप परिचय हुन् ।
तर वर्तमान अवस्थामा नेवार जातिको उल्लेखित बसोबासको स्वरूप क्रमशः भत्कदै गएको छ । काठमाडौं उपत्यकाका पुरानो नेवारी बस्ती क्रमशः जीर्ण हुँदै गएको छ । खानेपानी, ढल तथा सरसफाईलाई सरकारी स्तरबाट बेवास्ता गरिदिनालेनेवारको बसोबास स्थानमा कृत्रिम समस्या सिर्जना गरी विस्थापित गर्न खोजिएको छ । नेवार जातिले बसोबास गर्दै आएको घर, सतल, पाटी, पौवा, इनार, ढुङ्गेधारा र ती घर, मठ मन्दिर, धारामा जोडिएका पुरातात्विक सामग्रीहरू तथा कला लोप हुँदै गएको छ । आधुनिकताको नाममा आज विदेशी प्रभावमा विदेशी सामग्री प्रयोग गरेर घर निर्माण भइरहेको छ । यसले नेवार जातिको मौलिक विशेषतालाई कुण्ठित पारिरहेको छ । घरको आकार, झ्याल, ढोका र घरभित्रका सजावट तथा दैनिक उपभोग गर्ने भाँडा, वर्तन, लवाइखवाईमा पनि नेवार जातिको विशेषता अधिकांश लोप भइसकेको छ ।