काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित चोबहाः अर्थात् चाेभारबस्ती अग्लोडॉडामा अवस्थित छ।उपत्यकाका प्राचीन बस्तिहरूमध्ये एक चोभारको अर्को पुरानो नाम सुवर्णगिरि कच्छपाल पर्वत् पनि हाे ।कछुवाको आकारमा देखिने डॉडा भएकोले कच्छपाल पर्वत् भनिएको सहजै बुझ्न सकिन्छ।हरेक नेवाः बस्तिमा जात्रा मनाउने परम्परा अनुसार चोभारबस्तीमा चैत दशैं रामनवमीका बेला प्रख्यात स्थानीय मन्दिरमा विराजमान आनन्दादिलोकेश्वरको जात्रा गरिन्छ।
चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुने जात्रा सुरुको दिन चौलाथ्व पारुमा लोकेश्वरको मूर्तिलाई स्नान गराइन्छ। त्यसपछि अष्टमी तिथिका दिन बिहान बागमती नदीमा नख्खु खोला मिसिने नख्खु दोभानमा बिहानैदेखि मेला लाग्छ। स्थानीय भाषामा नेखुइ ख्वाः सिलेगु भनिने उक्त मेला आनन्दादि लोकेश्वर र नन्द ग्वालाको कथासँग जोडिएको छ। नन्द ग्वाला चोभारकै एक बासिन्दा हुन् । उनको परिवार हालसम्म पनि चोभार बस्तीमा रहेकै छ।
परापूर्वकालमा ललितपुरको पुरानो बस्ती थसि (सानोगाउँ)मा विपत्ति फैलिँदा केही नलागेपछि स्थानीयले देउताकै कारण हो कि भनी मूर्तिलाई खोलामा बगाइदिएछ। मूर्तिलाई पानीले बगाउँदै ल्याएर नख्खु दोभानसम्म पुर्याएपछि त्यहीँ अडेर बसेको रहेछ। बागमती खोला छेऊ जंगलमा गाईवस्तु चराउन जाने नन्द ग्वालाको गाईले दूध दिन छाडेपछि ग्वालालाई किन रहेछ भन्ने मनमा चिसो पसेछ र एकदिन गाई चराउन जाँदा नन्द ग्वालाले गाईको चियो गर्न थालेछ। नभन्दै दूध दिन छोडेको गाई नख्खु दोभानमा गई दूध दिएको देखेछन्। त्यस ठाउँमा के रहेछ भनी पानीमुनि लामो बाँसले हेर्दा एउटा सुन्दर मूर्ति फेला परेछ। त्यसपछि नन्द ग्वाला बस्तीमा गएर सबै कुरा सुनाएपछि बस्तीमा मन्दिर खाली रहेको र बाजागाजाका साथ जात्रा गरी मन्दिरमा स्थापना गरेछ ।
मूर्ति फेला परेको दिन आजकै तिथिमा भएकाले सोही स्मरण र विधिमा चोभारमा हरेक वर्ष जात्रा चलाउने परम्परा चल्दै आएको छ। सुन्दा किंवदन्तीजस्तो लागे पनि चोभारमा आजसम्म पनि नन्द ग्वालाको परिवार रहेको तथ्यले भने आनन्दादि लोकेश्वर जात्राको यो कथा कथामात्र नभई सत्य तथ्यनै भएको पुष्टि गर्छ। आजको परम्परा नन्द ग्वालाका सन्तान पूर्ण गोपालीले धानेका छन्।