सिनेमा, साहित्य र संगीतमा बंगाली समुदायको ठूलो नाम छ। सत्यजीत रे, विमल राय, ऋतिक घटक, ऋतुपार्नो घोष, अपर्णा सेन आदि केही प्रतिनिधि नाम हुन्। तर वर्तमान बंगलादेशी नागरिकका लागि ती नाम राजनीतिक हिसाबले पराइ देशको नामसरह भएको छ।
बंगलादेश, भारत विभाजनपछि पूर्वी पाकिस्तान नाम दिइएको भूगोलका मान्छेहरूले विद्रोह गरेर बनाएको नयाँ देश हो। बंगाल सभ्यताको इतिहास केही शताब्दी परसम्मै तन्किए पनि सन् १९७१ मा जन्मेको बंगलादेशले धेरै कुरा फेरि नयाँ शिराबाट सुरू गर्नुपर्यो।
गरिबी, अनिकाल, राजनीतिक अस्थिरता र हिंसात्मक घटनाक्रमका बीच अन्य क्षेत्रजस्तै यहाँको सिनेमा क्षेत्र पनि पिल्सिएको छ। बंगलादेशको सिनेमा क्षेत्रको मूल्यांकन यही सन्दर्भमा गर्दा धेरै उत्साहजनक नदेखिनु पनि अस्वाभाविक लाग्दैन। यद्यपि मसालेदार सिनेमासँगै यहाँ स्वतन्त्र सिनेमा निर्माणका केही सार्थक प्रयासहरू भएका छन्।
आज हामीले यहाँ युट्युबमा उपलब्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउन सफल बंगलादेशी फिल्म सिफारिस गरेका छौं। फिल्म हो सन् २०१० मा रिलिज भएको ‘रनवे‘।
बंगलादेशी समाज र त्यहाँका मान्छेको वास्तविक जीवनसँग नजिकको विषय बोकेको ‘रनवे‘ निर्देशक तारेक मसुदको महत्वपूर्ण र चर्चित फिल्ममध्ये एक हो। यो फिल्म जीवनमा लक्ष्य खोज्दाखोज्दै भड्किएको युवक राहुलको कथा केन्द्रमा छ।
निम्न वर्गीय परिवारका राहुलको घर अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै छ। मध्यपूर्वी देशमा काम गर्न गएका उनका बुबाको खबर नआएको लामो समय भइसक्यो। उनकी आमा घर खर्च ऋण लिएर गाई किनेर दूध बेच्छिन्। उनकी बहिनी फतिमा गार्मेन्टमा काम गर्छिन्।
तर बेरोजगार राहुल जागिर खोजेर थाकिसकेका छन्। नियमित रूपमा साइबर क्याफेमा आउने–जाने क्रममा राहुलको भेट आफ्नै समकालीन अरिफसँग हुन्छ। हिंसात्मक धार्मिक अतिवादी समूहका सदस्य अरिफसँगको भेट निकटतामा बदलिएसँगै राहुलको जीवनमा पनि परिवर्तन आउन थाल्छ। राहुल र उनको परिवारमा त्यो परिवर्तनको असर कतिसम्म र कस्तो पर्ला? ‘रनवे‘ को मुख्य कथा यही हो।
यो कथा भन्न निर्देशकले कुनै ठूलो नाटकीय घटना बुनेका छैनन्। सरल र स्वाभाविक रूपमा भनिएको यो कथाले बंगलादेशी राजनीति, धार्मिक हिंसा र युवा पुस्ताको भविष्यबारे सोच्न बाध्य बनाउँछ। फिल्म बंगलादेशमा भएको सन् २००५ आसपासको यथार्थपरक घटनाहरूको नजिक छ।
फिल्ममा राहुलका हजुरबुबा हरेक दिन आफ्नै छानामाथि उड्ने हवाइजहाजको आवाजसँगै छोरालाई सम्झेझैं गर्छन्। राहुलकी आमा श्रीमानको बाटो त हेर्छिन् तर आफ्नो काम रोक्दिनन्। बहिनी पनि आफ्नो तर्फबाट योगदान दिन्छिन्। यी पात्रका गतिविधिले बंगलादेशको घेरा नाघेर दक्षिण एसियाली मानिसहरूको कथा भनेको हो कि झैं बनाउँछ।