काठमाडौँ । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन-पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो ।
विभागका अनुसार आव २०७९/८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो । चालु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । चालु आवको सुरुदेखि नै सुनको आयातमा कमी हुँदै आएको हो । यो वर्ष मङ्सिर महिनामा सुनको मूल्य बढेर सबैभन्दा धेरै प्रतितोला एक लाख २२ हजार रुपियाँसम्म पुगेको थियो । पछिल्लो समय भने घटेर एक लाख १८ हजार रुपियाँमा झरेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मूल्यवृद्धि, आर्थिक गतिविधि सक्रिय रूपमा चलायमान नहुनु, उपभोक्तासँग प्रयाप्त क्रयशक्ति नहुँदा बजारमा सुनको माग घटेर आयातमा समेत कमी आएको जानकारी दिए ।
बजारमा माग न्यून हुँदा सुनको कारोबारमा ७० प्रतिशतले कमी आएको उहाँले जानकारी दिनुभयो । आर्थिक मन्दीको प्रभावले साना साना सुन व्यापारी अयन्त्र पलायन भएको उहाँको भनाइ छ । कारोबार नहुँदा सटर भाडा तिर्न नसक्ने अवस्थमा पुगेपछि कतिपय व्यापारी विदेश गएको र केहीले अन्य व्यवसाय सुरु गरेको उनको भनाइ छ । छ महिनाको अवधिमा ११ अर्ब ८८ करोड रुपियाँ बराबरको एक हजार ३०१ किलो सुन आयात भएको विभागको तथ्याङ्क छ । सुन आयात घट्दा यसबाट सङ्कलन हुने राजस्वमा समेत कमी आएको छ ।
सुन आयातबाट छ महिनामा एक अर्ब ६२ करोड ७९ लाख रुपियाँ मात्र राजस्व सङ्कलन भएको तथ्याङ्क छ । खुला बजारका कारण चोरी तस्करीबाट आउने सुनसमेत बजारमा जाने गर्दछ । विभिन्न वाणिज्य बैङ्कले दैनिक २० किलोका दरले सुन आयात गर्ने गरेका छन् । विगतका वर्षमा लगनको सिजनमा सुनको अभाव भए पनि यसपालि अभाव नभएको व्यवसायीको भनाइ छ ।