

काठमाडौँ । २०८४ सालको चुनावसम्मका लागि भनेर भनेको कांग्रेस एमालेको संयुक्त सरकारमा खटपट सुरु भएको छ। कांग्रेसको भागमा परिसकेको गवर्नर नियुक्तिमा एमाले अध्यक्ष ओलीले चाहे दाउ थाप्न थालेपछि गठबन्धनमा खटपट सुरु भएको हो।
अहिले ओली निकट रहेकी कायममुकायम गवर्नर निलम ढुङ्गानाले कांग्रेसले गभर्नर बनाउन चाहेका डा गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि करिब दुई महिना अगाडि नियुक्त गर्नुपर्ने गभर्नरको नियुक्ति अझै पेचिलो बनिरहेको छ। ओली भट्टलाई गभर्नर बनाउन चाहिरहेका छैनन् भन्ने कांग्रेस पनि ओलीको व्यवहारप्रति ससंकित बन्न थालेको छ।
सभापति देउवाले शुक्रबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा गठबन्धनबारे ब्रिफिङ गर्दै अहिलेसम्म प्रधानमन्त्री ओली र नेकपा एमालेसँग आफू र नेताहरूको कुनै पनि विषयमा खटपट नभएको बताएको एक पदाधिकारीले बताए । देउवाले कांग्रेसले २०७९ को निर्वाचनपछि प्रचण्डलाई नछोडे पनि आफै छोडेर गएको र अहिले पनि ओलीले त्यस्तै गरी छोडेर गएमा केही नलाग्ने ब्रिफिङ गरेको ती पदाधिकारीले बताए ।
देउगाको यो भनाइले पनि सत्ता गठबन्धनमा खटपट सुरु भइसकेको स्पष्ट देखिन्छ । अझ कांग्रेसको भागमा परेको गभर्नर नियुक्तिमा ओलीले दायाँबायाँ गरेको खण्डमा भने कांग्रेस एमाले बीचको गठबन्धन तोडिने निश्चितजस्तै देखिन्छ ।
गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा छ। गभर्नरको पदावधि सकिनुभन्दा एक महिना अगाडि नै सिफारिस समिति गठन गरी सिफारिस गरिनुपर्नेमा गभर्नरको म्याद सकिएको एक महिनापछिसम्म पनि नयाँ नियुक्तिको सम्भावना अझै देखिएको छैन।