काठमाडौं खबर मंसिर २३, २०८०
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बैंकलाई मिटरब्याजीको संज्ञा दिँदै यसलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार कोइरालाले आर्थिक संकटमा पर्दा बैंकहरू मात्रै फाइदामा पुगेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।
‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि,’ कार्यक्रममा उनले भने, ‘तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?’
सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए । ‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ उनले भने, ‘१०/२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले । तर एउटा अरबपतिले म कृषिमा लगानी गर्छु भनेर गयो भने तुरुन्तै दिन्छ ।’