काठमाडौं खबर मंसिर २०, २०८०
काठमाडौं । चीन भ्रमणमा रहँदा हृदयघात भएर उपचारपछि नेपाल फर्किएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि बिरामी परेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा। अरुण मास्के सहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचाररत रहेको उल्लेख छ ।
गत कात्तिक २ गते औपचारिक चीन भ्रमणमा गएको बेला हृदयघात भएको थियो । सो समयमा केही दिन उपचार गरेर उनी नेपाल फर्किएका थिए ।
मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो ।