गाउँका मानिस शहर पस्ने होड बढ्दो छ । तर शहरको स्वादले गाउँलाई जित्दो छ । चिउराको ठाउँ चाउचाउले लिएको छ । मूलको पानीको सट्टा बोतलको पानीले तिर्खा मेट्ने चलन बढेको छ । अधिकांश स्कुले बच्चा जंकफुडमा रमाउन थालेका छन् । अभिभावकको व्यस्तता र बालबालिकाको रोजाइ दुवै कारण जंकफुडको प्रयोग दिनप्रतिदिन बढिरहेको छ ।
जिब्रोको स्वादका पछि लाग्दा पछिल्लो समय हृष्टपुष्ट हुनुपर्ने गाउँका बालबालिका खिनौरा देखिन थालेका छन् । मःम, थुक्पा, चाउमिन, पानीपुरी, पिजा, बर्गरदेखि जंकफुडको सर्वत्र उपलब्धताले खानपानकै रुटिन बद्लिएको छ । बालबालिकाको स्वाद फेरिने, अभिभावकले सजिलो खोज्ने स्वार्थ मिल्दा केही अपवादका सरकारी स्कुलबाहेक अन्यत्र अस्वस्थकर खानपानको प्रभाव बढिरहेको छ ।
बालक देखि वृद्ध सम्म खानपान जीवनशैली पहिलाको तुलनामा निकै भिन्न भएको छ । हिजोआज धेरैजसो बालबालिकाको खाने बानीमा विकृति आएको पाइन्छ । बोली फुट्न नपाउँदै चाउचाउ र चकलेटका लागि झगडा गर्ने बालबालिकालाई घरमा पाकेको दाल, भात र तरकारी जाउलो वा घरायसी खाना खुवाउन अभिभावकलाई निकै संघर्ष गर्नु परेको दृश्य घरलौरी देखिन्छ । आम मानिसको दैनिकी कुनै न कुनै खानाबाटै सुरु भएको हुन्छ । व्यस्तताका कारण सहरमा बसोबास गर्ने मानिस तयारी खानामा बढी नै भर पर्न थालेका छन् । नेपाललगायत एसियाली मुलुकमा जंकफुडको प्रयोग बढ्दो छ ।
स्कुल त परै राखौँ अहिले मन्दिरमा चढाउने प्रसादमा समेत जंकफुडको प्रयोग गर्न थालिएको छ । जिब्रोको प्रिय, सर्वत्र पहुँच र तयारीमा कम समय खर्चिँदा हुने भएकाले यसको लोकप्रियता चुलिएको हो ।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा जंकफुड सम्बन्धी अध्ययन प्रकाशित भएका छन्। फुड रिभोलुसन डट ओआरजीअनुसार नियमित जंकफुड खाने मान्छेको दिमागको गम्भीर असर पर्छ । यसकारण उसको सोचाइदेखि दैनिक क्रियाकलापसम्ममा समेत नकारात्मक असर पर्दछ ।
जंकफुड मन्द विष मात्र नभएर एक प्रकारको कुलत पनि हो । यसको बानी परेपछि बिर्सेर अर्को खानामा बानी लगाउन गाह्रो हुने हुन्छ । एक पटक स्वाद लिएपछि लामो समयसम्म त्यसको प्रभाव दिमागमा रहिरहन्छ । चिकित्सकका अनुसार पछिल्लो समय सानो उमेरका बालबालिका पनि चाँडै रिसाउने, तनावमा हुने, एकान्त मन पराउने, अभिभावकसँग भन्दा जंकफुडमा बढी रमाउने गर्न थालेका छन् । जंकफुडको सम्मोहनले स्तनपानमा समेत बच्चाको रुचि घट्दै गएको देखाएको छ ।
घरघरमा बालबालिकालाई घरमा पाकेको खानेकुराले आकर्षित नगर्ने गुनासो धेरै अभिभावकको पछिल्लो समयको गुनासो हुन्छ । विद्यालय जाँदा टिफिनको रूपमा होस् या त विद्यालयबाट फर्केर घर आएपछि अथवा टिभी हेर्दा या त कुनै घुम्न गएको समयमा चाउचाउ, बिस्कुट, चिप्स र चकलेटमा रमाउने बालबालिकाको संख्या अधिक पाइन्छ ।
शहरमा मात्र हैन यस्ता खानेकुराले गाउँघरमा पनि निकै प्रभाव पारिसकेका छन् । गाउँबाट बजारमा तर्फ परिवारका सदस्यहरू जाँदा पनि बच्चालाई बजारमा राखेका दुनोट, पाउरोटी, केक, लामो समय देखि बनाएर राखेका तितौरा किनेर अमृत जस्तो खुसी हुँदै ल्याएर दिने गर्छन् । बालबालिकालाई सकेसम्म चिनीले बनेका पदार्थ नखुवाउन चिकित्सकहरूको सल्लाह हुने गरे पनि अभिभावकहरू बच्चा खुशी पार्न चकलेट, क्याटवरीको विकल्प देख्दैनन् ।
गाउँ घरका सरकारी स्कुलहरूमा सरकारले खाजाको व्यवस्था मिलाएको छ । तर शिक्षकहरूले सजिलोका लागि दुनोट, चाउचाउ दिने गर्छन् । त्यस्तो खानेकुरा पाउँदा बच्चाहरू पनि दंग देखिन्छन् । अहिले गाउँका बच्चाले फर्सी, चिउरा, भुटेको मकै चिन्दैनन् तर पम्पकिन केक, पम्पकिन सुप र पपकर्न त मेरो फेबरेट हो भन्दै गफ लगाउन व्यस्त देखिन्छन् ।
‘स्कुल जाने बेलामा पनि मेरो छोरोलाई चकलेट चाहिन्छ, घरको टिफिन बनाएर स्कुलमा पठाउँदा बरु भोकै बस्छ तर घरको टिफिन नै खाँदैन त्यसैले बाध्य भएर स्कुलको क्यान्टिनमा नै खाजा भनिदिने गर्छु ।’ दोलखाकी कमला बस्नेत भन्छिन् ।
उनी भन्छिन् ‘एउटै खाना घरमा बनाएर खुवाएको भन्दा बाहिरको छोराले बढी खाने गर्छ, हामीलाई नाम नै थाहा नभएको र कहिल्यै नदेखेका खाने कुराहरू मेरो ९ वर्षको छोरालाई थाहा हुन्छ ।’घरको बिहान बेलुकाको खाना चाहिँ बच्चाले मजाले खन्छन् तर स्कुलमा अरु बच्चाले क्यान्टिनमा खाएको र बाहिरका खानेकुरा खाएको देख्दा घरमा आएर भोलिपल्ट त्यही खान कर गर्ने र स्कुल जान पनि नमान्ने अर्की अभिभावक अस्मिता खड्का बताउँछिन् । घरमा दाल भात र तरकारीमा थोरै घिउ हालिदियो भने खुसी भएर खान खाने गर्छन् बच्चाहरू त्यसैले दिउँसोको टिफिन उनीहरूकै इच्छामा खाने भनेर क्यान्टिनमा नै अडर गरी दिने उनले बताइन् ।
पछिल्लो समयको खानपानले असाध्यै नकारात्मक असर पारेको बताउँदै जनस्वाथ्यविद् अरुणा उप्रेती बच्चाले नजन्मिँदै भ्रूणमै अस्वस्थकर खाना खान सुरु गर्ने बताइन् । उनी भन्छिन् ’आमाहरूले बच्चा पेटमा हुँदा देखि नै पहिला जस्तो दाल भात तरकारी घरमा बनाएका हलुवा बदामहरूको सट्टामा चाउचाउ खाने ठूला सहरमा बेबी सावरको नाममा केकहरू काटेर खाने गर्छन् भने भ्रुणबाट नै अस्वस्थकर खाना खान सुरु गर्छ’ ।
‘यस्तो खानपानले आमाको स्वास्थ्यमा असर गरेर आमालाई रगतको कमी हुने, सुगरको समस्या हुने हुँदा पछि भ्रुणलाई पनि सुगर हुन सक्छ’। डा। अरुणाको निष्कर्ष छ । बच्चा जन्मी सकेपछि पनि आमालाई पहिलाको जस्तो घरैमा बनाएको खाने कुरा खाना दिने, सुत्केरी मसला दिने चलन हराएको र घरैमा पाइने स्वस्थकर पोषण तत्त्व पाइने खाना जुन कोदो मकै फापर छोडेर अखाद्य रसायन मिलाइएका हर्लिक्स, बर्नभिटाले बजार लिएको उनी बताउँछिन् ।
बच्चालाई महिना वा खाना खाने कुरा केही खाना थालेपछि पास्नीका नाममा केकहरू खुवाउने सानै देखि चिनी खाँदा त्यसले बच्चाहरूको कलेजोमा असर पार्ने बताउँछिन् । घरकी मुर्गी दाल बराबर भने जस्तो घरको खानालाई हेला गर्दा स्वास्थ्यमा धेरै नकारात्मक असर गरेको उनको विश्लेषण छ ।
अहिले खाजा भन्ने बित्तिकै दिमागमा चाउचाउ आउने बताउँदै प्राकृतिक खाना हराएर बच्चालाई जन्म दिनमा केक काटेर खान दिने भएको पिजा, पुरी मैदा खान दिने कारणले सानै देखि बच्चामा कुपोषणको समस्या बढेको चिकित्सकहरू बताउँछन् ।
स्वाद फेरिँदाको परिणाम कोदो मकै फापर भएको ठाउँका बालबालिकाहरू पनि कुपोषण देखिएको छ । जंकफुडको मोह त्याग्न नसक्दा टीनएजका किशोरीहरूमा हर्मोनल समस्या भएर प्रजननमा समेत असर परेको छ । अझ आमसञ्चार र सामाजिक सञ्जालमा देखिने छपक्कै विज्ञापनले बालबालिकाको ध्यान यसतर्फ तानिने गरेको छ ।
अभिभावकहरू स्वयं व्यस्त हुने भएकाले बच्चाले समयमा के खायो र के खाँदैछ भनेर ध्यान नदिँदा बच्चाले घर भन्दा पनि बाहिरी खानेकुरामा बढी आकर्षित हुने गर्छन् । र त्यसको लागि अभिभावकले दैनिक एउटा रुटिन बनाएर खाना ख्वाउने समय निकाली उक्त समयमा खानाको नाम, रङ, पकाउँदा र काँचोको स्वादमा पाइने भिन्नता बारे कुराकानी गर्नुपर्छ । जसले गर्दा बालबालिकामा खानाप्रतिको खोज, अनुसन्धान गर्ने जिज्ञासा अभिवृद्धि हुने युनिसेफ फर एभ्रि चाइल्डमा उल्लेख गरिएको छ । यसो गर्दा अभिभावकले गरेका खाना प्रतिको आदर सत्कार, संस्कार, संस्कृति बालबालिकामा स्थानान्तरण हुन्छ ।
त्यसै गरी बालबालिकालाई खाना खाने बेलामा मोबाइल फोनबाट टाढै राख्नु पर्छ । प्राकृतिक स्वाद जस्तै स् घिउ, मह, दूध तथा स्थानीय क्षेत्रमा पाइने खाना दैनिक खानामा समावेश गरी बानी बसाउनु पर्छ । खानामा बाहिरी मर मसला र अजिनोमोटोको प्रयोग निषेध गर्नुपर्छ ।
( पुष्पाञ्जली बस्नेत