सामाजिक सञ्जाल टिकटक प्रतिबन्धपछि कतै आलोचना र कतै प्रशंसा पाइरहेको सरकारले थप सामाजिक सञ्जाल प्रतिबन्धको तयारी गरिरहेको एकजना अधिकारीले बताएका छन्। टिकटकजस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि पनि निगरानी सुरु गरिएको प्रधानमन्त्री कार्यालयका एकजना अधिकारीले बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी भइरहेको बीबीसीलाई बताए।
“म तीनलाई सोसल होइन एन्टी सोसल मिडिया भन्छु। तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउनेबाहेक केही गरेका छैनन्,” रायमाझीले भने।“हामी यसको प्राविधिक पक्ष र समाजमा पारेका सकारात्मक नकारात्मक प्रभावहरूबारे अध्ययन गरिरहेका छौँ।”उनले प्रधानमन्त्री कार्यालयले विज्ञहरूसहितको एउटा टोली नै बनाएर ती एपहरूको निगरानी गरिरहेको बताए।
टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दर्ता भएका एक दर्जन बढी मुद्दा विचाराधीन छन्। अदालतले उक्त निर्णयको कानुनी आधारबारे सरकारसँग मङ्सिर २१ गतेभित्र जवाफ माग गरेको छ।