(दन्त्यकथा-२)
स्याङ्ग्री बूढीको नाति
अघि नेपाल देश घनाजङ्गलले ढाकिएको थियो । मानिसहरू कम थिए ठाउँ–ठाउँमा दानवहरू बस्दथे । तिनीहरू मानिसको मासु खान्थे । वृन्दावन नामको एक ठाउँका छेउमा स्याङ्ग्री नाम गरेकी एउटी बूढी आइमाई बस्दथी । ऊसँग दश वर्ष पुग्न आँटेको एक नाति थियो ।
उनीहरू दुवै जना एउटा टुँगमा बस्दथे । टुँगमा चढ्न–ओर्लन एउटा डोरीको भर् याङ् राखिएको थियो । डोरीको टुप्पो रूखको टुप्पामा बाँधिएको थियो । उनीहरू टुँगमा चढ्न वा ओर्लनासाथ भर् याङ् उँभो तानेर टुँगमा राख्ने गर्दथे ।
एक दिन उनीहरू बसेको टुँगका फेदमा आई एउटी बूढी दानवीले आगो मागी । स्याङ्ग्री बूढीले आगो दिएँ भने मेरो नातिलाई यस बूढी दानवीले देख्छे र खाइदिन्छे भन्ठानेर “ टुँगमा केको आगो हुन्छ ?” भनी त्यसलाई फर्काइदिई । त्यो दानवी भाङ्ग्राको लुगा बुन्न सिपालु थिई ।
अर्को दिन स्याङ्ग्री बूढीलाई कहीं जाने काम पर्यो । नातिलाई टुँगमा एक्लै छोडेर ऊ भर् याङ् उँभो तान्न लगाई आफ्नो काममा हिँडी । नाति केटो कोइला टोक्दै टुँगमा एक्लै बसिरह्यो । एकै छिनपछि हिजोकी
बूढी दानवी त्यहाँ आएर त्यस केटालाई एउटा राम्रो यूँ देखाउदै भन्न थाली — “ भर् याङ् एकपल्ट झारिदेऊ । म तिमीलाई यो यूँ दिन्छु ।”
यूँ कालोभमा परेर त्यस केटाले तुरुन्तै भर्याङ झारिदियो । बूढी दानवी भर् याङ चढेर माथि उक्ली केटाको हातखुट्टा बाँधेर एउटा बोरामा हाली आफ्नो घरतिर लागी । घरमा लगेर बूढीले केटालाई थुक्न लगाई । केटाले थुकिदियो । थुकमा कालो रङ्ग निस्क्यो । अहिले त केटो दुब्लै रहेछ भन्ने विचार गरी बलियो पारेरमात्रै खानुपर्छ भनी बूढीले केटालाई बोराभित्र हाली धुरीमा झुन्ड्याई । बूढीले यस्तो काम गरेको एउटा कागले देखिरहेको थियो ।
यता स्याङ्ग्री बूढी घर फर्की । साङ्लोको भर्याङ्तुर्लुङ्ङ झुन्डिरहेको देखेर उसका मनमा चिसो पस्यो । हतारहतार टुँगमा चढेर हेर्दा त उसको नाति त्यहाँ रहेनछ । कति खोज्दा पनि उसले आफ्नो नातिलाई भेट्टाउन सकिन । कतिपल्ट डाक्दा पनि कतैबाट कुनै उत्तर आएन । नातिको सुर्ताले बिचरी बूढी एकपल्ट मूच्र्छा पनि परी । पछि बूढीले शंका गरी — मेरो नातिलाई निश्चय पनि बूढी दानवीले खाइछ ।
त्यसै पिरले गर्दा स्याङ्ग्री बूढीले खान पनि छाडिदिई । रात–दिन रुँदै– कराउँदै खरानी छरेर बूढी दानवीलाई सराप्न लागी ।यसरी रात–दिन त्यो स्याङ्ग्री बूढीले विलाप गर्न थालेको चाल पाएर बूढी दानवीले केटामाथि गरेको कुकर्म देख्ने काग त्यहाँ आएर ‘काँ– काँ’ गर्दै कराउन थाल्यो । त्यसले बूढीलाई भन्यो — “शोक गर्नु पर्दैन, तिम्रो नाति मरेको छैन । बूढी दानवीले आफ्ना घरको धुरीमा धोक्रोमा हाली त्यस केटालाई झुन्ड्यइराखेकी छ । म उसलाई बचाउने उपाय गर्नेछु ।” यति भनेर काग भुर्र उडेर गयो ।
एक छिनसम्म त स्याङ्ग्री बूढीले कागले भनेको कुरो हो कि भन्ठानी तर फेरि काग जाबोले भनेको कुरो हो वा होइन भनी फेरि विलाप गर्न लागी । स्याङ्ग्री बूढीको विलाप सुनेर त्यहाँ फेरि एउटा न्याउरी आइपुग्यो । त्यसले भन्यो — “ किन यति बिघ् न शोक गरेकी । तिम्रो नाति मरेको छैन । यो सब कुरा अघि आउने कागलाई पूरा थाहा छ । हामी सल्लाह गरेर तिम्रो नातिलाई बचाउने उपाय गर्नेछौं ।” यस्तो सान्त्वना दिएर न्याउरी फक्र्यो ।
तर केही गरे पनि बूढीले आफ्नो चित्त बुझाउन सकिन । ऊ फेरि विलाप गर्न लागी । त्यो देखेर त्यहाँ एउटा सानो मुसो पनि आइपुग्यो । ऊ बूढीलाई शान्तिपूणर् वचन सुनाएर फक्र्यो । त्यसपछि एउटा कुखुराको पोथी पनि त्यहाँ आई र स्याङ्ग्री बूढीलाई सम्झाउन थाली — “ तिमी मानिस भएर हामी पशुपक्षीहरूले दिएको सल्लाह मान्दैनौ । मानिसहरू हामी पशुपक्षीहरूलाई प्यारो त गर्छन् तर मनमा एउटा स्वार्थ राखेर । अर्थात् बलियो भएपछि हामीलाई मारेर खान्छन्, नभए पनि इच्छा हुनासाथ खतम गरिहाल्छन् । हाम्रो जीवन मानिसहरूका निमित्त एउटा खेलजस्तो छ ।
हामी पशुपक्षीहरू भने मानवजातिलाई मालिकका रूपमा देख्तछौं । उनीहरूले हामीहरूलाई जतिसुकै निष्ठुरव्यवहार गरे पनि हामी उनीहरूमाथि बदला कहिल्यै लिंदैनौं । जुनसुकै मानिसलाई पनि कुनै आपद आइलागेछ भने हामी पशुपक्षीहरू आफ्नो शक्तिले भ्याएसम्म मदत गरेर उसको उपकार गर्दछौं ।”
पोथी भन्दैगई — “ आज तिमीलाई आपद आइलागेको छ । नाति हराएको छ । तिम्रो विलाप हामीहरूले सुन्यौं । अब तिम्रो उपकार गर्नलाई हामी काग, न्याउरी, मुसो र म भई एउटा सभा गर्दछौं । शोक नगर । कुन तरिकाले हुन्छ — तिम्रो नातिलाई बूढी दानवीका पञ्जाबाट मुक्त गराई हामी तिम्रा काखमा सुविस्तासाथ ल्याई राखिदिनेछौं ।”
पोथीको यस्तो आश्वासन पाएर स्याङ्ग्री बूढी खुशी भई। त्यसपछि कागको सभापतित्व मान्याउरी, मुसो र पोथीको सभा बस्यो । पोथीले स्याङ्ग्री बूढीको नातिलाई बूढी दानवीका पञ्जाबाट मुक्त गराउने उपायको प्रस्ताव राखी ।
न्याउरी र मुसो दुवै जनाले एक्कै स्वरले स्याङ्ग्री बूढीको उपकार गर्नैपर्छ भनी पोथीको प्रस्तावलाई जोरसित अनुमोदन गरे । तब कुन युक्तिले उपकार गर्ने भनी पोथीले सोधी । सभापति कागले जुरुक्क उठेर “म एउटा युक्ति निकाल्छु, त्यसमा भलापञ्चहरूको सम्मति मिलेछ भने त्यसैबमोजिम गर्नेछु” भन्ने आशय प्रकट गर् यो । तब भलापञ्चहरूले युक्ति के रहेछ सुनौं र विचार गरौं भने ।
कागले भन्यो – “बूढी दानवी दिनहुँ तान बुनेर बस्ने गर्दछे । म त्यसलाई गीत गाएर अल्मल्याउन जान्छु । अल्मलिएको मौका पारी मुसोले धुरीमा चढेर केटोझुन्ड्याइराखेको धोक्राको डोरी चट्–चट् काटिदिनु । स्याङ्ग्री बूढीले नाति बोकी घरतिर भाग्नु । पोथीले बीच बाटोमा बसी माटो कोट्ट्याएर धुलो फर्फफराउँदो पारी ठिक्क परेर बस्नु । मेरो पछिपछि बूढी दानवी आएका बखतमा पोथीले त्यसका आँखामा धुलो पारिदिनु । ऊ आँखा माड्दै मेरो पछिपछि हिंडेका बेलामा म अघि गीत गाउँदा सर्त राखेबमोजिम ऊसँग आँखा, हात, खुट्टा माग्नेछु । त्यस बेला न्याउरीले फुत्त निस्केर “तिम्रा आँखाको कसिंगर निकालिदिन्छु” भनी बूढी दानवीका दुवै आँखा निकालिदिनु । ऊ अन्धी हुन्छे । म हातखुट्टा माग्न छाड्दिनँ । अनि न्याउरीले अन्धी दानवीका हातखुट्टा आफ्ना दाँतले काटिदिनु र ऊ लड्छे । यसरी स्याङ्ग्री बूढीको उपकार हुन्छ ।”
सभापति कागको युक्ति सबैलाई राम्रो लाग्यो र सबैले सर्वसम्मतिले त्यसलाई स्वीकार गरी त्यसैबमोजिम काम गर्ने भनेर दिन तोकी स्याङ्ग्री बूढीलाई पनि खबर गर्ने राय मिलाए । सभा सकिएपछि काग, न्याउरी, मुसो र पोथी—चारै जना स्याङ्ग्री बूढीका टुँगमा गए ।
उनीहरूले राय मिलाएको सबै कुरो सुनाइदिए । बुढिया खुब खुशी भई र तोकिएको दिन नातिलाई भगाएर ल्याउने काम गर्न तयार परी । तोकिएको दिन आइपुग्यो । बूढी दानवी तान बुन्दै थिई। तानको गुरुसिङ्मा बसेर काग गीत गाउन थाल्यो । तान बुनिरहेका बेलामा कागको गीत सुनेर बूढी खुशी भई । गीत सकिएपछि फेरि एकपल्ट गाऊ भनेर बूढी राक्षसनीले कागलाई अनुरोध गरी । कागले फेरि गीत गाउनलाई कुनै न कुनै सर्त राख्नुपर्छ भन्यो । बूढी दानवीले भनी — “ एउटा मानिसको बच्चो पालेर राखेकी छु । त्यसलाई मारी त्यसका आँखा, हात र खुट्टा दिउँला ।”
कागले हुन्छ भनेर घरिघरि मोटो र घरिघरि पातलो स्वरमा ‘कोक्–कोक्–कोक्, काँ–काँ, काक्–काक्, काआक्–काआक्’ गर्दै किसिम–किसिमका भाका हाल्दै गीत गाइदियो । बूढी दानवी गजब परेर अल्मलिइरही ।
त्यसैबीचमा मुसोले धुरीमा पसेर धोक्राको डोरी काटिदियो। स्याङ्ग्रीले नाति बोकेर घर पुर्याई । बूढी दानवीलाई यस कुराको वाजखामै थिएन । गीत सकिएपछि कागले अघिको सर्तबमोजिम आँखा, हात र खुट्टा देऊ भनी बूढी दानवीसँग माग्यो । बूढी “बस्दै गर, त्यसलाई केटो मारेर ल्याइदिन्छु” भनी जुरुक्क उठी र धुरीमा चढी तर त्यहाँ केटो लुकाएको धोक्रो थिएन । बूढी आत्तिंदै आँगनमा ओर्लेर आई र यताउतिदगुर्न थाली ।
कागले “किन आत्तिएको ?” भनी प्रश्न गर्दा बूढी दानवीले भनी — “लुकाइराखेको केटो त हराएछ । मार्न पाइएन ।” कागले भन्यो — “ त्यसो भए म जताजता उड्छु उतैउतै मेरो पछिपछि लागेर आउनू, हामी त्यसलाई भेट्टाउँला ।”
कागका कुरा पत्याएर बूढी दानवी त्यसैका पछि लागी । बीच बाटोमा पोथी बसिरहेको देखेर काग एकछिन त्यहाँ थामियो । बूढी राक्षसनी पनि पोथीको सामुन्ने उभिई । पोथीले ‘को–को– को–को’ गरेर पखेटाले भ्याएजति माटो र धुलो बूढी दानवीको आँखाभरि हालिदिई र उडेर गई । बूढी दानवी दुवै हातले आँखा माड्दैथिई, कागले अघिको सल्लाहबमोजिम आँखा, हात र खुट्टा कहिले दिने भनेर उसलाई सोध्यो । त्यसै बेला न्याउरीले फुत्त निस्केर तिम्रा “ आँखाबाट कसिंगर निकाल्ने ज्ञान मसँग छ” भन्दै बूढी दानवीका दुवै आँखाका गेडी निकालिदियो । ऊ अन्धी भई । कागले सल्लाहबमोजिमका आँखा भेट्टायो ।
फेरि हात–खुट्टा त पाउनु नै थियो । त्यो पनि तत्कालै चाहिन्छ भन्दा न्याउरीले आफ्ना तिखा दाँतले बूढीको हात–खुट्टा चट्–चट् काटिदियो ।ाबूढी दानवीको प्राण गयो ।
यस्ता प्रकारले ती पशुपक्षीहरूले मद्दत गरेर स्याङ्ग्री बूढीका नातिलाई राक्षसनीका हातबाट फुत्काइदिए ।
-इमानसिंह चेम्जाेङ