बाँकेको नरैनापुर गाउँपालिका निवासी प्रसिद्ध सुफी सन्त, धार्मिक सदभावका अगुवा सैयद मुस्ताक अहमद साहको ७८ वर्षको उमेरमा निधन भएको छ ।
केही समयदेखि उपचारको क्रममा भारतको दिल्लीस्थित मेक्स अस्पतालमा भर्ना भएका सुफी सन्त साहको विहीबार राति उपचारकै क्रममा निधन भएको उनका भाइ तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साहले बताए ।
बाँकेमा हिन्दु मुस्लिम एकताको प्रतीकको रुपमा रहेको नरैनापुरको प्रसिद्ध धार्मिक स्थल आस्ताना ए हजरत खलीफा नूर अहमद साहको मजार शरीफको उहाँ उत्तराधिकारी थिए । साहले कुरानका साथै श्रीमद् भगवद गीताको पनि अध्ययन गरेका थिए ।
सुफि साहको निधनबाट नरैनापुर गाउँपालिकाका साथै समग्र बाँकेमा रहेका उनका अनुवाईहरु गहिरो शोकमा छन् । साहको शवलाई भारतको दिल्लीबाट बाँकेको नरैनापुर ल्याईंदैगरेको जनाउँदै पालिका अध्यक्ष साहले शुक्रवार बेलुकीसम्म शव नरैनापुर ल्याइने र शनिवार विहान ११ बजे ईस्लामिक परम्पराअनुसार नरैनापुर २ मा अन्तिम संस्कार गरिने बताए ।