नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र तयार पारिरहेको छ। पार्टीका नेता तथा कार्यकर्ता, साथै विभिन्न विषयगत क्षेत्रका विज्ञहरूबाट सुझाव संकलन गरी घोषणापत्र लेखन कार्य अघि बढाइएको हो। कांग्रेसले माघ महिनाको अन्तिम साता घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले घोषणा पत्र लेखन समिति र केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार माघ १ गते सम्पन्न केन्द्रीय समिति बैठकले दुवै समिति गठन गरेको हो, जसले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्।
कांग्रेसले सभापति गगन थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति र उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेले घोषणा पत्र लेखनको काम तीव्र रूपमा भइरहेको जानकारी दिए। उनले सेतोपाटीसँग भने, “केन्द्रीय समितिले सभापतिज्यूकै नेतृत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको छ। विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिएको छ र ‘भिजन १०’ मा केन्द्रित रहेर घोषणा पत्र तयार पारिँदैछ।”

उनका अनुसार यसपटकको घोषणा पत्रमा सुशासन र विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ। देशको यथार्थ अवस्थालाई समेट्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाएर घोषणा पत्र तयार गरिने उनले बताए।
विगतमा घोषणापत्र लेखनमा योगदान पुर्याएका विभिन्न क्षेत्रका विज्ञहरूको सुझावसमेत समेटेर लेखन कार्य भइरहेको छ। यसपटकको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने र त्यसको कार्यान्वयनका लागि आवश्यक स्रोत र उपायहरू पनि स्पष्ट रूपमा उल्लेख गरिने प्रवक्ता चालिसेले बताए । घोषणापत्र निर्माणका क्रममा कांग्रेसले देशभरका जिल्ला–जिल्लाबाट समेत सुझाव संकलन गरेको छ।


