

काठमाडौं । करिब १० वर्षसम्म सँगै सशस्त्र युद्धमा होमिएका पूर्वसहकर्मी डा बाबुराम भट्टराईप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गोरखामा चुनाव लड्दा नै मिल्ने भने पनि कम्युनिष्टको नाम नै सुन्न तयार नभएपछि बाबुरामसँग एकता सम्भव नभएको प्रसंगमा उनले आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । उनले त्यस्तो बुद्धि नभएको डाक्टरसँग एकता हुन नसक्ने स्पष्ट पारेका छन् ।
उनले कार्यक्रममा भनेका छन्, ‘बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि ! गोरखामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले लहै अबचाहिँ यो चुनाव मात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर, उहाँले पछि कम्युनिष्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिष्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने ? बाबुरामको लागि ?’
नेपाल समाजपादी पार्टीको अध्यक्षसमेत रहेका डा.भट्टराईसँग एकता सम्भव नभएको उनले स्पष्ट पारेका छन् । उनले थपे, ‘उहाँ त खिइँदै खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ । प्रतिक्रियावादीले नै पत्याउँदैन आजकल । हाँसोको पात्र भएका छन् बाबुराम के देशभरि कस्तो बुद्धि नभएको डाक्टर । सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के गरी एकता गर्ने ?’
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईमाथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गरेको टिप्पणीमाथि भट्टराईको सचिवालयले पनि टिप्पणी गरेको छ।
यसै अभिव्यक्तिलाई लिएर भट्टराईका स्वकीय सचिव रेखी गुरुङले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन्। उनले बाबुरामले आफ्नो क्षेत्र गोरखा-२ नछाडेको भए सांसद बन्ने अवस्था नभएको भन्दै उनले प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाएकी छन्।
‘बाबुरामलाई बुद्धि नभएको भन्नु र प्रचण्डलाई कम्युनिष्ट ठान्नु’ आफैँमा दुई ठूला राजनीतिक जोक हुन्,’ उनले भने, ‘बाबुरामले आफ्नो क्षेत्र (गोरखा) नछोडेका भए राजनीतिक ठगी गर्न सिपालु प्रचण्ड सायद सांसद पनि बन्ने थिएनन्। यो मानेमा बाबुरामलाइ सोझो र बुद्धि नभएको ठान्ने धेरै गोरखालीहरू मैले पनि भेटेको छु, सुनेको छु।’